पार्टी एकताका मुलभुत कार्य सकियोः इन्चार्ज शाही


२ भाद्र, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला ईन्चार्ज महेन्द्रवहादुर शाहीले समाजवादी व्यवस्था स्थापनाको वस्तुगत आवश्यकता पुरा गर्न २ ठुला कम्युनिष्ट पार्टी विच एकता भएको बताउनुभएको छ ।

आज (सोमवार) कालिकोट जिल्लाको सदरमुकाम मान्ममा भएको नेकपा कालिकोटको दोश्रो वैठकलाई सम्वोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहनुभएका शाहीले केन्द्रमा पार्टी एकताका मुलभुत कार्य सकिएको बताउदै अव स्थानीय स्तरमा पार्टी एकता टुंग्याउन निर्देशन दिनुभएको छ ।

उहाँले एकता प्रक्रियामा जिम्मेवारी विभाजनमा केही समस्या देखिएको भएपनि विशेष परिस्थितिमा विशेष निर्णय लिईएको बताउदै कुनै पनि असन्तुष्टि र गुटगत मानसिकता नराख्न आग्रह गर्नुभयो । नेता शाहीले सवैको क्षमता र भावनाको कदर गर्दै जिम्मेवारी व्यवस्थापन गरिने भन्दै एकता प्रक्रियामा लिईएका निर्णयका कारण पार्टी एकताको स्प्रिटलाई कमजोर बनाउने काम कोही पनि नेता कार्यकर्ताले गर्न नहुने बताउनुभयो ।


पार्टीको जिम्मेवारी लिने र कार्यक्षेत्रमा नजाने प्रवृत्तिले पार्टी नवन्ने भन्दै नेता शाहीले वडा तथा टोलसम्मै पार्टी एकता पुरा गर्न सिंगो जिल्ला कमीटी एकढिक्काका साथ जानुपर्ने बताउनुभयो । कम्युनिष्ट पार्टी विना जनताको विकास र समृद्धिको सपना साकार नहुने बताउदै शाहीले पार्टी निर्माणका लागि जनताले नरुचाएका कामहरु नगर्न निर्देशन गर्नुभयो ।

पार्टीको उही नेता विद्यालयको अध्यक्ष, उही नेता उपभोक्ता समितिको अध्यक्ष उही नेताको डोजर हुने कुरा जनतालाई मन नपरेको बताउँदै उहाँले नेता कार्यकर्ताहरुको कामका आधारमा दण्ड र पुरस्कारको विधि पार्टीमा लागु गर्ने बताउनुभयो ।

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री समेत रहनुभएका शाहीले सरकारले गरेका राम्रा कामहरुको प्रचार गर्न तथा जनता सम्म स्थापित गर्न निर्देशन गर्नुभयो । कम्युनिष्ट पार्टीको नेतृत्वमा भएको सरकारले गर्न नसकेको काम अरु कोही आएर नगर्ने वताउदै शाहीले सरकार जनताको सपना साकार गर्न लागिपरेको वताउनुभयो ।