दशैं

-गौरी मल्ल

 

दशैँ !
सुन्छु तिमी आयौ रे ,
मिठो खाने राम्रो लाउने
मौशम बनि आयौ रे ,
खुशियाली हो कि खै के हो ?
सर्बत्र छायो रे ….
दशैँ !
सुन्छु तिमी आयौ रे …

मेरा घरका भित्ताहरु अझै
मेरी आमाको मजेत्रोले ढाकिएका छन्
मेरी बहिनीको फरकको प्वालबाट
उनका कलिला मसिना
खुट्टाहरु सांधिरीएका छन्
आमाको उदास आँखाबाट
अविरल निराशा अझै खसिरहेको छ
उदाङ्गो छानातिर मेरो भाइको आँखा
अझै चंगा चुडिने आशामा पर्खिरहेको छ
दशैँ !
सुन्छु तिमी आयौ रे …

मेरो सानो भाइले चप्पलको
फित्ताअझै फेरेको छैन
बर्सातमा चुहिएको छानाले
बाबाको आँशु अझै सुकेको छैन
हरेक दिन हामी अझै
बिबशता को आँशु पिउने गर्छौं
भरपेट नखाई निदाउँदा पनि
सपना अझै देख्ने गर्छौं
दशैँ !
सुन्छु तिमी आयौ रे …

बाबाकै पाखुरालाई अझै
सिरानी सम्झी निदाउँछौ हामी
कपासको ओढ्ने त देखेको छैन
थांगना मै सर्बत्र फैलिन्छौं हामी
यहाँ सबै हामीले खुशी अझै
भविष्यकै हातमा छाडेका छौं
पाहुना लाग्ने डरले घरमा अझै
एक छाकमै छाकहरु टारेका छौं
दशैँ !
सुन्छु तिमी आयौ रे …

चंगा संगै खेल्छ कावा अझै
मेरो बिबश मन कहिलेकाहीं
साथी संगी न हुनुको कुण्ठा
मनमा बढ्दो छ शनैशनै
बनेनन् मित्र मेरो कोइ अझै
हैशियत मात्र नाप्छन तिनी
मैलो कुचैलो मेरो पहिरनमा अझै
बहाना पाउँछन् हाँस्ने तिनी
दशैँ !
सुन्छु , तिमी आयौ रे ….

झुक्केरै भा पनि एकदिन मात्र
गरिबको झुप्रोमा दशैँ आइदिए हुन्थ्यो
नानाथरिका व्यंजन संगै
फेर्ने लुगा पनि आइदिए हुन्थ्यो
असमान आकाशमा अझै
समान धर्तिको कल्पना गर्छौं
म जस्ता कैयन आत्मा अझै
येस्तै कल्पनामा बाँच्छौं ,अनि मर्छौं ….
दशैँ !
सुन्छु , तिमी आयौ रे ….

प्रकाशित मितिः बिहिबार, अशोज २३, २०७६     7:54:05 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *