कर्णालीको साहित्य क्षेत्रमा सबैभन्दा ठूलो राशीको पुरस्कारको स्थापना


१३ मंसीर, सुर्खेत । कर्णाली साहित्य समाजले कर्णाली प्रदेशकै सबै भन्दा ठूलो राशीको साहित्यिक पुरस्कारको स्थापना गरेको छ ।

नगद ५० हजार राशीको कर्णाली साहित्य समाज कृति पुरस्कार कर्णाली कै सबै भन्दा ठूलो पुरस्कार राशीको स्थापना भएको हो । यस वर्ष उक्त पुरस्कार २०७५ सालमा नेपाल भरिबाट प्रकाशित भएका कृतिहरु मध्येबाट महेश थापाले लेख्नुभएको ‘मरीचिका’ लाई प्रदान गर्न लागिएको संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी अमृतद्वारा हस्तारित विज्ञप्तिमा जनाइएको छ ।

यसैगरि साहित्य समाजले नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरु मध्येबाट छनोट गरेर कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार कालिकोटका बुद्धिसागरलाई प्रदान गर्न लागिएको जनाइएको छ । साहित्य समाजले स्थापना गरेको कर्णाली साहित्य समाज साधन सम्मान दैलेखका स्रष्टा कवि निबन्धकार एवम् पत्रकार श्यामल अधिकारीलाई प्रदान गरिने बताइएको छ । उहाँ राससका अध्यक्ष समेत हुनुहुन्छ ।

कार्यक्रमको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ, ‘भाषा साहित्यको जगेर्नामा हामी सबैको हातेमालो भन्ने मूल नाराका साथ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा २०७५ साल चैत्र ९ गतेको शुभदिनमा कर्णाली साहित्य समाजको स्थापना भएको हो । कारागारलाई किताब अभियानका संयोजक एव्म मदन पुरस्कार प्राप्त साहित्यकार कथाकार महेशविक्रम शाहको विशेष पहलमा स्थापना भएको यो संस्थाले आफ्नो स्थापना कालको छोटो अवधिमा पनि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

भनिन्छ, कर्णाली पछाडि परेको छ । कर्णालीलाई पछाडि पारिएको छ । गरिबी, अशिक्षा, रोग, भोक जस्ता दर्दनाक उपमा राखेर कर्णालीलाई चिनिन्छ र चिनाइन्छ । कर्णालीसँग जोडिने यी उपमाहरुलाई बदल्नका लागि तपाई हामी सबैको हातेमालो हुनु जरुरी छ । नेपाली भाषाको उद्गमस्थल कर्णाली, पर्यटकहरुको गन्तव्य कर्णाली, खानी र खनिजको भण्डार कर्णाली, देवहरुको पवित्र पुण्यभूमि कर्णाली, जल, जमिन र जडिबुडीको अथाह सम्भावना बोकेको कर्णाली ।

हामीले कर्णालीलाई सही ढंगबाट प्रयोग गर्न सक्यौ भने मात्र पनि कर्णाली सम्पन्न छ भन्ने कुरालाई विश्वभर चिनाउन सक्छौ । कर्णालीलाई चिनाउनका लागि र यहाँका हरेक वस्तुस्थितिको जानकारी गराउनका लागि यसको प्रचार प्रसार हुनु जरुरी छ । कर्णालीमा साहित्यकारहरु जन्मेका छन् र भविष्यमा पनि जन्मिने छन् । तर हरेक अभावका कारण उनीहरु काठमाडौं केन्द्रित हुनु स्वभाविक हो ।

अहिलेसम्म कर्णालीमा स्थापित रुपमा साहित्यको क्षेत्रमा एउटा राम्रो पुरस्कारको स्थापना हुन सकेको छैन । एउटा स्तरीय पुस्तकालयको व्यवस्थापन छैन भने खोज तथा अनुसन्धानका लागि कुनै सामग्रीको जोहो गर्न काठमाडौ धाउनु पर्ने बाध्यात्मक परिस्थिति छ । अब कर्णाली आफैमा सक्षम हुनुपर्दछ । कर्णालीलाई सक्षम बनाउनका लागि भाषा, साहित्यको विकास र विस्तारसँगै यसको संरक्षण र सम्वद्र्धन हुनु त्यत्तिकै आवश्यक छ । जसका लागि साहित्यप्रेमी र संचारकर्मीहरु नङ र मासुको झैँ सम्बन्ध भएकाहरु कापि र कलमका साथ उठ्नै पर्छ । साहित्यकार र पत्रकार दुबै विधा कलमजिवी नै हुन् । फरक यत्ति हो हतारमा लेखिने साहित्य पत्रकारिता हो भने फुर्दा फुर्दै लेखिन पत्रकारिता साहित्य हो ।

यिनै कलमजिवीको सम्मानका खातिर कर्णाली साहित्य समाजले तीनवटा विधामा पुरस्कार तथा सम्मानको स्थापना गरेको कुरा यहाँहरु समक्ष जानकारी गराउन पाउँदा गर्व लागेको छ । प्रत्येक वर्ष नेपाल भरिबाट प्रकाशित हुने साहित्यिक कृतिहरु मध्येबाट छनोट गरेर एउटा कृतिलाई नगद ५० हजार राशीको कर्णाली साहित्य समाज कृति पुरस्कार स्थापना गरेका छौं ।

साहित्यका क्षेत्रमा यो कर्णाली कै सबै भन्दा ठूलो राशीको पुरस्कार हो । यो पुरस्कार २०७५ सालमा प्रकाशित भएका कृतिहरु मध्येबाट मरीचिका कथा संग्रहलाई प्रदान गर्न गइरहेको जानकारी गराउँदछौ । यसैगरि कर्णाली प्रदेशमा जन्मेर नेपाली भाषा साहित्यको लागि विषेश योगदान दिएका मध्येबाट प्रत्येक वर्ष एक जना स्रष्टालाई नगद रु २५ हजार राशीको कर्णाली साहित्य समाज प्रतिभा पुरस्कारको स्थापना गरेका छौ । यो वर्ष उक्त पुरस्कार कालिकोटका स्रष्टा बुद्धिसागरलाई प्रदान गर्न गइरहेका छौ । कर्णाली प्रदेशमा रहेर जुनसुकै विधामा कलम चलाएपनि यहाँको भाषा र साहित्यका लागि विशेष योगदान दिएका साहित्यकार मध्येबाट प्रत्येक वर्ष एक जनालाई प्रदान गर्ने गरि कर्णाली साहित्य समाज साधन सम्मानको स्थापना गरेका छौ ।

यस वर्ष उक्त सम्मान नेपाली कविता, निबन्ध र पत्रकारिता क्षेत्रमा विशेष योगदान दिन सफल साहित्यकार श्यामल अधिकारीलाई दिने निर्णय गरेका छौ । यही मंसिर २१ गते शनिबारका दिन होटल बुलबुले भ्यूको सभाहलमा यस संस्थाका संरक्षक कथाकार महेश विक्रम शाह ज्यूको प्रमुख आतिथ्यतामा विहान ११ बजे एउटा सभ्य र भव्य समारोहको आयोजना गरि सम्मान तथा पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रमको आयोजना गरिएको जानकारी गराउन चाहान्छौ । यी सबै खर्चको व्यवस्थापन हुने गरि अक्षयकोष स्थापनाका लागि संरक्षक ज्यू, सल्लाहकार ज्यूहरु र हाम्रो सिंगो कार्यसमिति हरपल हरक्षण खटिइरहेको छ । यो पहिलो वर्ष भएकोले हामीले सबैको साथ र सहयोगमा अहिलेको खर्च जुटाएका छौ विज्ञप्तिमा उल्लेख गरिएको छ ।