प्रदेश स्तरीय क्यान इन्फोटेक हुने


८ फागुन, सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगरमा प्रदेश स्तरिय सूचना प्रविधि मेला ‘प्रभु पे क्यान इन्फोटेक २०२०’ सञ्चालन हुने भएको छ ।

कम्प्युटर एशोसिएसन नेपाल (क्यान)महासंघ सुर्खेतको आयोजना तथा क्यान कर्णालीको समन्वयमा आगामी फागुन २८ गतेदेखि चैत्र २ गते सम्म हुने भएको छ । आयोजकले बिहिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै वीरेन्द्रनगर स्थित रंगशालाको उत्तरतर्फ पाँच दिनसम्म क्यान इन्फोटेक हुने जानकारी दिएको हो ।

इन्फोटेकमा सुचना प्रविधि सम्बन्धि बृहत प्रदर्शनी गरिने भन्दै क्यान सुर्खेतका अध्यक्ष तिलक प्रसाद आचार्यले सुचना प्रविधिको बिकास, मानव जिवनमा देखिएको खतरा र त्यसको न्युनिकरण गर्ने एवम प्रविधिको बिषयमा धेरै भन्दा धेरै ज्ञान बाडने उदेश्यले क्यान इन्फोटेक २०२० को आयोजना गर्न लागिएको बताउनुभयो ।

त्यस्तै क्यान सुर्खेतका संस्थापक अध्यक्ष रामकिशोर रावलले पछिल्लो समय विश्वभर सूचना प्रविधिको क्षेत्रमा तिब्र बिकास भैरहेको भन्दै त्यस्ता नविन्तम प्रयोग्लाई इन्फोटेक मार्फत कर्णालीमा प्रदर्शन गरिने जानकारि दिनुभयो ।

क्यान कर्णालीका अध्यक्ष प्रेमप्रकाश चन्दले इन्फोटेकले कर्णाली सरकारले लिएको डिजिटल प्रदेश निर्माण अभियानलाई सघाउने दावी गर्नुभयो । क्यान इन्फोटेक विशुद्ध सूचना र प्रविधिको पद्र्धशनी रहेको भन्दै अन्य मेला महोत्सव भन्दा भिन्न रहेको उल्लेख गर्नुभयो ।

क्यानका केन्द्रिय सदस्य डिल्ली मल्लले भने नेपालको सूचना प्रविधि क्षेत्रमा ‘ब्रान्डिङ’ बनिसकेको ‘क्यान इन्फोटेक’ सर्वाधिक चासो राखिने मेला भएको बताउनुभयो । विश्व बजारमा विकसित सूचना प्रविधिका पछिल्ला प्रविधिहरु एकै ठाउँमा अवलोकन गर्न पाइने हुँदा पनि अन्य मेलाहरुको तुलनामा यो मेला विशेष हुने गरेको उहाँको भनाई छ ।

नयाँ प्रोडक्ट विशेष अफरसहित खरिद गर्न पाइने र मेला अवलोकनका लागि मात्र नभई आफुलाई आवश्यक वस्तु खरिद वा बुकिङ गर्नका लागि उपर्यूक्त अवसर ‘क्यान इन्फोटेक’ भएको आयोजकले बताएको छ । यस पटकको मेलामा ४० हजार अवलोकनकर्ता भित्राउने लक्ष्य राखिएको छ भने झण्डै २३ लाख खर्च हुने आयोजकको भनाई छ ।