किसानको आम्दानी बढ्न थालेपछि सभामुख शाही र कृषिमन्त्री केसी उत्साहित


२८ भाद्र, दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा -२ चाल्नेचौतारामा डेरीको उद्घाटन भएको छ । सृजन चामुण्डामाई बहुउद्देश्यीय सहकारी संस्थाद्वारा संचालित दुग्ध डेरी उद्योग गएको साउन महिनाबाट संचालनमा आएपनि औपचारिक रूपमा शुक्रबार उद्घाटन गरिएको हो ।
कर्णाली प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखबाट १ करोड, चामुण्डाविन्द्रासैनी नगरपालिकाबाट ३१ लाख, सृजन चामुण्डामाई बहुद्देश्यीय सहकारीबाट ३० लाख र सुर्खेत डेरीबाट प्राप्त भएको ६ लाखसहित १ करोड ६७ लाख लागतमा डेरी स्थापना भएको बताइएको छ ।
डेरीले स्थानीय दूध संकलन गरि सुर्खेतमा ल्याएर विक्रि गर्ने गर्छ । उद्योगको उद्घाटन कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्यबहादुर शाही र उपप्रमुख तारा शाही लगायतले संयुक्तरूपमा गर्नुभएको छ ।
उद्घाटन समारोहमा कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले किसानको आयआर्जन बढ्ने गतिविधि संचालन गरेकोमा सहकारी संस्थालाई धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा आफुहरूले सहकारी र किसानलाई भरपुर सहयोग गर्न तयार रहेको बताउँदै किसानका उत्पादनको बजारीकरण गर्न सडक पुर्वाधार विकासमा ध्यान दिइने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा कर्णाली प्रदेशका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले किसानका उत्पादनको बजारीकरण तीनवटै तका सरकार मिलेर गर्नुपर्ने बताउनुभएको छ । प्रदेश सरकारले गरेको लगानीमा नागरिकलाई फाइदा हुनेगरी प्रतिफल दिदा निकै उत्साहित भएर चामुण्डा पुगेको मन्त्री केसीले बताउनुभयो । ‘किसानले भैंसी पालेर जब दूध दिन सुरु गर्छ । त्यतिबेला उ उत्साहित भएर राम्रो राम्रो घाँस खोज्न जान्छ ।’ उहाँले भन्नुभयो, ‘हामीले गरेको लगानीमा नागरिकको गोजीमा पैसा पर्ने प्रतिफल आउँदा मलाई कतिबेला यहाँ पुगुला लागेको थियो ।’ उहाँले किसान र कृषि पेसालाई सबैले सम्मानित पेसाको रूपमा बुझ्न आग्रहसमेत गर्नुभयो ।
अब चामुण्डाबाट दैनिक हजारौं लिटर दूध बेच्न सुर्खेत लैजानुपर्ने बताउँदै मन्त्री केसीले सहकारीको सक्रियताले सरकारको लगानीले प्रतिफल दिएकोले संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले किसानलाई दुधमात्र नभई भैसिको गोबरबाट तरकारी र अन्य नगदेबाली उत्पादन गर्न आग्रह गर्दै आफुहरूले किसानलाई पुरस्कृत गरेको र साथै अब किसानलाई पेन्सन, किसानका उत्पानको विमा लगायत, न्युनतम लागत मुल्य किसानलाई दिने लगायत कार्यक्रम गरिने बताउनभयो ।
चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्यबहादुर शाहीले सहकारीको प्रसंसनिय सक्रियताको लागि धन्यवाद दिनुभयो । त्यस्तै चामुण्डाबिन्द्रासैनी नगरपालिकाका उपप्रमुख तारा शाहीले नागरिकको जनजिविका र आयआर्जन बढाउनसक्ने उद्योग नगरपालिकामा संचालन जरूरी रहेको बताउनुभयो ।
राष्ट्रिय सहकारी बोर्डका सदस्य तथा उक्त सहकारीका अध्यक्ष भिमबहादुर रावतले किसानका उत्पादन र बजारबिचमा पुलको काम गर्ने बताउनुभयो । उहाँले किसानलाई उत्पादन गर्न आग्रह गर्नुभयो । ‘तपाइहरू ढुक्कसँग उत्पादन गर्नुहोस् । तपाइका उत्पादनको बजारीकरण हामी गर्नेछौं ।’ उहाँले भन्नुभयो।
अध्यक्ष रावतले किसानका उत्पादनको बजारीकरणको लागि तीन तहका सरकारले सडक पुर्वाधार विकासमा ध्यान दिनुपर्ने बताउँदै प्रत्येक वडामा एउटा संकलन केन्द्र स्थापना जरुरी रहेको औल्याउनुभयो ।
कृषिजन्य उत्पादनको दररेट नगरपालिकाले कायम गरिदिए सोही मुल्यमा खरिद गरि सहकारीले विक्रि गर्ने बताएको छ ।