खतरनाक हुन सक्छ, सजग हुनु पर्छ, नयाँ भएकाले धेरै कुरामा अन्यौल


११ पौष काठमाण्डौ । बेलायत, नेदरल्याण्ड, अष्ट्रेलिया, आइसल्याण्ड, डेनमार्कमा कोरोना भाइरसको नयाँ प्रकार द्रूत गतिमा फैलिएसँगै विश्व नै यसबाट तरङ्गित बन्न पुगेको छ ।
यो भाइरसको फैलावटसँगै बेलायत, वेल्स र स्कटल्यान्डमा नयाँ चौथो स्तरको कडा प्रतिबन्धहरू लागु भएका छन् । विश्वका धेरै देशहरुले बेलायतबाट हुने हवाई तथा स्थलयात्रामाथि प्रतिबन्ध लगाएका छन् । यसको फैलाबट कम गर्न सबै देशहरुले तयारी थालेका छन् ।
कोरोना भाइरसको नयाँ प्रजातिको विकास भएसँगै कोरोना संक्रमणको बारेमा अध्ययन गरिरहेका परामर्शदाताहरूले भाइरसको नयाँ प्रकार अन्यको दाँजोमा छिटो सङ्क्रमण हुने गुण भएको बताएका छन् । त्यसमा अध्ययन गरिरहन भएका नेपाली अनुसन्धानकर्ता डा.प्रकाश घिमिरे यो भाइरसको जानकारी प्रारम्भकै भएकाले त्यसका अनुत्तरित प्रश्नहरू पनि धेरै नै हुने बताउनुहुन्छ ।
कोरोनाकै खोपको ट्रायल भैरहेको समयमा नयाँ प्रजातिको संक्रमणको खोपभन्दा पनि यसले कत्तिको असर पार्छ भनेर अनुसन्धान भैरहेको उहाँले स्पष्ट पार्नुभयो ।

डा.घिमिरेका अनुसार बेलायतको लण्डनमा २० सेप्टेम्बरदेखि १३ अक्टोबरसम्म गरिएको अध्ययनमा एक चौथाइ जति सक्रमितमा भाइरसको यो प्रकारबाट भएको थियो । मध्य डिसेम्बरसम्म आइपुग्दा संख्या निक्कै बढेकाले यो चिन्ताको बिषय बन्न पुगेको उहाँले बताउनुभयो ।
विश्वभरिमा कोरोनाभाइरसको ‘जेनेटिक कोड’ को अनुगमन गरिरहेको संस्था ‘नेक्स्टस्ट्रेन’ ले डेनमार्क र अष्ट्रेलियामा फेला परेका कोरोनाभाइरसको नयाँ प्रकारको उद्गमनै बेलायत रहेको सार्वजनिक गरिसकेको डा.घिमिरेले भन्नुभयो ।
डा.घिमिरेले ‘म्युटेसन’ भाईरसको आफु जस्तै हुबहु स्वरुपका कपिहरु बनाई फैलिने प्रक्रिया भएको बताउनुभयो । ‘स्वरुप परिवर्तन गरेर फैलदा सबै भाइरस शक्तिशाली हुन्छन् भन्ने हुँदैन’ डा.घिमिरे भन्नुहुन्छ ‘ केही कमजोर पनि बन्छन्, केही बलियो बनेर आउँछन्, अहिले बेलायतमा देखिएको भाइरस बलियो देखिएको छ ।’ उहाँका अनुसार १९१८ इन्फुज्ला भाइरसले फैलिए पनि खासै असर गरेन । त्यतीबेला त्यो बलियो बनेको थिएन ।
‘जहाँ जीबाणुको जिनको सेक्वेन्समा देखिन सक्ने सामान्य जेनेटिक त्रुटि हो भनी बुझ्नुपर्छ, यो भाइरसको सेक्वेन्स मा आउने सामान्य परिवर्तन हो’ डा.घिमिरेले भन्नुभयो । एउटा भाइरस पाँचओटासम्म परिर्वतन हुन सक्ने उहाँले भन्नुभयो ।
उहाँका अनुसार कुनै पनि भाईरस विभिन्न माध्यमबाट मानिसको शरीरमा प्रवेश गरेपछि आफ्नो अस्तित्व जोगाउनको लागि मानिसको केशिकाहरु भित्र प्रबेश गर्नु पर्ने हुन्छ। कोरोना भाईरसहरु पनि मानव शरीरमा प्रबेश गरेपछि फोक्सोका केशिकाको बाहिरी पत्रमा टाँसिएर कोशिकाहरु भित्र प्रबेश गर्ने गर्दछन् ।
जहाँ उनीहरुले आफ्नो अस्तित्वको रक्षाको निम्ति आफ्नो बंशानुगत जिनका लाखौं कपिहरु बनाएर आफ्नो संख्यालाई वृद्धि गर्ने वा फैलिने काम गर्छ ।
‘जीनको असर पुस्तौसम्म देखिन सक्छ’ डा.घिमिरे भन्नुहुन्छ,‘हजुरबुबाको दाह्रीजुँगा छैन भने नातीको धेरै दाह्रीजुँगा पलाउन सक्छ, नातीको धेरै दाह्रीजुँगा आएमा काट्न मिलाउन खर्च हुने भयो नै ।’ उहाँले त्यस्तै कोरोनाको जीनले समेत असर गर्ने वा नगर्ने भन्ने त्यसको सकृयतामा आधारित हुने उहाँले भन्नुभयो ।
‘यसरी लाखौं आर.एन.ए. का कपिहरु बन्ने फैलिने क्रममा कम्तिमा पनि ५–६ पल्ट म्युटेसन भएर पहिलेको भन्दा अलग वा फरक आकार स्वरुपका आर.एन.ए. हरु पनि बन्न सक्दछन’ यो नै बेलायतमा देखिएको नयाँ स्वरुप हुन सक्छ,डा.घिमिरेले भन्नुभयो ।
उहाँका अनुसार कोरोना भाइरसको सयभन्दा बढी म्युटेसन भएको पाईएको छ। तर यी कुनैमा पनि भाइरसको मौलिक गुणको शुरु देखिको बिद्यमान अबस्था भन्दा बढी खतरापूर्ण रुप वा उग्रतामा वृद्धि भैरहेको बिशेषता पाईएको छैन । यो निक्कै सकारात्मक कुरा रहेको डा.घिमिरेले भन्नुभयो । तर बेलायतमा देखिएको नयाँ भाइरसले असर पार्न थालेसँगै विश्व समुदाय तरङ्गित बन्न पुगेको छ ।
म्युटेसनबाट यो नोबेल कोरोना भाइरस भविश्यमा मानव स्वास्थ्यमा यस्तै अहिले जस्तो असर पार्ने खालको स्थितिमा रहन्छ वा यो भन्दा बढी नै जटिल वा खतरनाक प्रकृति तथा स्वरुपमा परिवर्तन हुन्छ वा कम हानिकारक गुणको भाइरसमा परिवर्तन हुन्छ भन्ने कुरा भने अहिलेसम्म कसैले पनि भविश्यबाणी गर्न सक्ने अवस्था छैन ।

के कोरोनाभाइसको नयाँ प्रकारमा हालका खोपले काम गर्छ ?
अहिले कोरोनाको खोप बनेको छैन । कुनै पनि देशका बनेका खोपहरुलाई विश्व स्वास्थ्य संगठनले अन्तिम मान्यता दिएको छैन । अहिले विश्वमा लगाइरहेका खोपहरु आकस्मिक प्रयोजनका लागि लगाइएका खोपहरु हुन् ।
अहिले विकसित खोपहरू कोरोनाभाइसको नयाँ प्रकारमाथि पनि प्रभावकारी हुन्छन्भनेर निर्माण कम्पनीले दावी गरे पनि प्रमाणित भने भै नसकेको डा.घिमिरे बताउनुहुन्छ ।
‘अहिले सबै कम्पनीले नयाँ भाइरसमाथि काम गर्छ भनेर दावी गरे पनि प्रमाणित भएको छैन’ डा.घिमिरेले भन्नुभयो । कोरोनाभाइरस विरुद्ध तीनवटा अग्रणी खोपहरूले शरिरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सक्छन् । ‘तर यो अन्तिम खोप भने नभएको बुझ्नु पर्छ’ डा.घिमिरेले भन्नुभयो । अहिले विकसित भएको खोपले काम गर्छ गर्दैन भनेर अहिलेनै भन्न नसकिने उहाँले बताउनुभयो ।
नेपाललाई जोगाउन निगरानी, क्वारेन्टाइन र आइसोलेशन नै नेपालमा अहिलेसम्म कोरोनाको कुनै पनि खोप आएको छैन । कोभ्याक्सले नेपालमा खोप ल्याउने हो । तर कुनै पनि कम्पनीले कोरोनाको अन्तिम खोपको स्विकृत भने पाएका छैनन् । त्यसैको कारणले नेपालमा कोरोनाको खोप यो समयसम्म आइपुग्छ भनेर भन्न सक्ने अवस्था देखिदैन ।
नेपालमा विभिन्न देशहरुबाट आउनेहरुको संख्या बढ्दो छ । नेपालमा यो एक महिनाको समयमा बेलायतबाट मानिसहरु आएको छ भने उहाँहरुलाई निगरानी गर्ने क्वारेन्टाइनमा राख्ने परीक्षण गर्ने र आइसोलेशनमा राख्ने बिधि नै सबैभन्दा राम्रो रहेको डा.घिमिरेले बताउनुभयो ।
निगरानी,ट्रयाकिङ र क्वारेन्टाइनसँगै आइसोलेशन बढाउन सुरक्षाकर्मीमार्फत निगरानी बढाउन आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो । ‘नेपालमा अहिले कोरोनाको संक्रमणनै छैन जसरी भिडभाड हुने काम भैरहेको छ । यसले राम्रो कुराको संकेत गरेको छैन’ डा.घिमिरेले भन्नुभयो ।

गोरखापत्रबाट