श्रुतीलाई सुर्खेत उद्योग बाणिज्य संघद्वारा सम्मान


१७ पौष, सुर्खेत । भारतको महाराष्ट्रमा भएको पावर लिफ्टिङ्ग प्रतियोगितामा दुई स्वर्ण पदक जित्न सफल सुर्खेतकी चेली श्रुति कार्कीलाई सुर्खेत उद्योग वाणिज्य संघले नगद सहित सम्मान गरेको छ ।
संघले आज एक कार्यक्रमको आयोजना गरेर कार्कीलाई नगद दशहजार सहित सम्मान गरेको हो । खेलकूदको माध्यबाट नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय स्तरमा नेपालको नाम चिनाउन सफल भएको भन्दै सम्मान गरिएको सुर्खेत उद्योग बाणिज्य संघले जनाएको छ ।
कार्यक्रममा बाणिज्य संघका बाणिज्य उपाध्यक्ष दिपेन्द्र ढकालले खेलका माध्यमबाट कर्णालीको नाम उच्च राख्नेकार्य गरेकाले खेलाडी कार्कीलाई सम्मान गरेको बताउनुभयो । उहाँले आर्थिक रुपमा खेलबाट व्यवसायिकता झल्काउन अझै बाँकी रहेको भन्दै यसकालागी निजिक्षेत्रबाट सहयोग गर्न आफुहरु तयार रहेको बताउनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेश खेलकुद परिषदका उपाध्यक्ष प्रमोद हमालले खेलक्षेत्रलाई व्यवसायीकरण गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले निजिक्षेत्रले पनि खेलाडीलाई ब्यवसायिक बनाउनतर्फ लागे यसले सिङ्गो व्यवसाय क्षेत्रमा पनि फाईदा हुने जिकिर गर्नुभयो । निजिक्षेत्रले खेलमा लगानी गरे विभिन्न क्षेत्रबाट कर्णालीमा धेरै खेलाडी आउने र यहाँको व्यापार,व्यवसायको प्रवर्धन हुने बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले खेलक्षेत्रमा लागेर खेलाडीहरु बाच्न सक्ने अवस्था सिर्जना गर्न सरकारसंग आग्रह गरेका छन । कार्यक्रममा खेलकुद विकास समितिका प्रशिक्षण विभाग प्रमुख प्रदिप राई, जिल्ला तेक्वान्दो संघ कर्णालीका माहासचिव भुवन थापा, लगायत बाणिज्य संघका प्रतिनिधिहरुको सहभागीता रहेको थियो।