सुर्खेत महिला जेसीज तीन पटक सर्वोत्कृष्ट हुनु सामान्य कुरा होइनः पूर्व राष्ट्रिय अध्यक्ष दाहाल



२० पुस सुर्खेत । सुर्खेत महिला जेसीज बर्ष २०२१कालागि नवनिर्वाचित अध्यक्ष लक्ष्मी गुरुङ लगाएतका पदाधिकारीले आज पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

नवनिर्वाचित पदाधिकारीहरु कार्यकारीणी उपाध्यक्षमा मिना गुरुङ र रञ्जना बुढा तथा उपाध्यक्षमा कमला बस्याल राधा श्रेष्ठ मनु सुनार र सोना थापा चयन हुनुभएको थियो । आज नै नवनिर्वाचित अध्यक्ष गुरुङ्गले महासचिवमा सीता भण्डारी र कोषाध्यक्षमा मनिषा कौशललाई मनोनयन गर्नुभएको छ ।

त्यस्तै कानुनी सल्लाहकारमा पूर्व अध्यक्ष लक्ष्मी कार्की प्रधान, अध्यक्षीय सल्लाहकारमा वृन्दा थापा र प्रमुख सल्लाहकारमा सन् २०१३ का अध्यक्ष ज्योति पौडेललाई अध्यक्ष गुरुङ्गले मनोनयन गर्नुभएको छ ।

एक समारोहका वीच बर्ष २०२०का अध्यक्ष प्रमी शाक्यको गलाबाट पूर्व अध्यक्षहरुको सहयोगमा बर्ष २०२१ का नवनिर्वाचित अध्यक्ष लक्ष्मी गुरुङलाई जेसीज चेन हस्तान्तरण गरेर पद हस्तान्तरण गर्नुभएको छ ।

कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर गेहेन्द्रप्रसाद दाहालले महिलाले मात्रै नेतृत्वको संस्था देशकै उत्कृष्ट रहेको बताउँदै ‘छोटो समयमै देशभरका शाखाहरुमा सुर्खेत महिला जेसीज तीन पटक सर्वोत्कृष्ट हुनु सामान्य कुरा नभएको उल्लेख गर्नुभयो । ‘महिलाहरुले नेतृत्व पाए पुरुषहरुको भन्दापनि उत्कृष्ट काम गर्न सक्छन् भन्ने यो एक उदाहरण हो ।’  दाहालले भन्नुभयो ।

कार्यक्रममा वीरेन्द्रनगर जेसीज वर्ष २००१ का अध्यक्ष डाक्टरसिंह गुरुङले मातृ संस्था ओझेलमा परिरहेका बेला सुर्खेत महिला जेसीजले समग्र कर्णालीको प्रतिनिधित्व गरिरहेको बताउनुभयो । उहाँले अघिल्ला वर्षहरुमा भन्दा अझ राम्रो काम गरेर देखाउन नयाँ कार्यसमितिलाई शुभकामना दिनुभयो ।

त्यस्तै कार्यक्रममा बर्ष २०२० का अध्यक्ष प्रमी शाक्यले सुर्खेत महिला जेसीज बर्ष २०२० ले “Empower The Woman, Develop The Nation” नारा लिएर कोरोना भाइरस कोभिड १९ को महामारीको वेलामा पनि सदस्यहरुको उत्साह तथा उमङ्गले गरेका कामहरुले पुनः उत्कृष्ट महिला जेसीज शाखाको उपाधी पाउन सफल भएकोमा सम्पूर्ण सहयोगमनहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रमको समापन गर्दै नवनिर्वाचित अध्यक्ष गुरुङ्गले बर्ष २०२१कालागि “Rise The Woman, Rise The Nation” को नारा लिएर अगाडी बढ्ने बताउनुभयो ।

कार्यक्रममा सुर्खेत महिला जेसीजका संस्थापक महासचिव एवम् वर्ष २०१३ का अध्यक्ष ज्योति पौडेल, वीरेन्द्रनगर जेसीज वर्ष २०२० का अध्यक्ष शिवराज घिमिरे, पूर्व वर्ष २०१४ का अध्यक्ष निर्मला सुवेदी पाठक, सन् २०१८ का अध्यक्ष लक्ष्मी कार्की प्रधान, वर्ष २०१८ का अध्यक्ष प्रतिमा मल्लाह, वर्ष २०१८ का अध्यक्ष कृति शाक्य गुभाजु, लाइफ कोच राम वि शामलगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।