वीरेन्द्रनगरको ९ नं. वडामा मेलमिलाप केन्द्र स्थापना


६ चैत्र, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ९ नं. वडामा आजमा आज वडा मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।

सानातिना झैझगडा एवं मनमुटावहरुलाई वडा समाजबाटै समाधान गर्नकालागि वडा मेलमिलाप केन्द्रको स्थापना गरिएको हो ।

मेलमिलाप केन्द्रको शुभारम्भ गर्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक मोहनमाया ढकालले न्यायिक समिति अन्तरगत स्थापित मेलमिलाप केन्द्रले समुदायमा हुने गरेका ११ प्रकारका मुद्दाहरुलाई समाधान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “हामीले पालिकामा मेलमिलाप केन्द्रकालागि कार्यविधी बनाउँदै गरेका छौं । त्यसपछि सम्पूर्ण टोलविकास संस्थाका प्रतिनिधीहरुलाई तालिम दिनेछौं ।”

सबैमा न्यायमा पहुँच पुगोस भन्ने हेतुले केन्द्रको स्थापना गरिएको हो । त्यसैले कसैले हारेको होइन सबैले जितको अनुभव गर्नुपर्छ । उपप्रमुख ढकालले भन्नुभयो ।

त्यस्तै ९ नं. वडा अध्यक्ष सुरेश मानन्धरले समाजमा झगडा हुने वातावरणलाई न्यूनिकरण गर्न केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो “आफ्नो ठाउँको समस्या आफै समाधान गर्न तर्फ लागौं जस्कालागि वडा पूर्ण सहयोग रहने छ ।”

मेलमिलापकर्ता सुसिला गिरीले स्वागत तथा केन्द्रका सदस्य विमला विसीले संचालन गर्नुभएको कार्यक्रममा ७ नं. वडा मेलमिलाप केन्द्रका संयोजक शिवप्रसाद गौतम, वडासदस्यद्वय पुरनबहादुर शाही तथा जीवनकुमार शर्मा, नगरपालिकाका प्रशासकिय अधिकृत टिकाराम ढकाल तथा मनोविमर्शकर्ताका विद्यार्थी मिलन श्रेष्ठले आआफ्नो भनाइ राख्नुभएको थियो ।