भुकम्प प्रतिरोधी भवन डिजाईन सम्वन्धी तालिम सम्पन्न



१६ असोज, सुर्खेत । प्रदेश तथा स्थानीय तहका ईन्जिनियरिङ्ग सेवाका कर्मचारीहरुलाई भुकम्प प्रतिरोधी भवन डिजाईन सम्वन्धी तालिम कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

प्रदेश सुशासन केन्द्र सुर्खेतद्वारा सञ्चालन गरिएको तालिममा कर्णाली प्रदेशका ६ जिल्लाका ४२ स्थानीय तह र प्रदेश मन्त्रालय तथा निर्देशनालयमा कार्यरत ईन्जिनियरिङ्ग सेवाका ४७ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

७ दिन सम्म आवासीय रुपमा सञ्चालित तालिमको प्रमुख उद्देश्य प्रदेश तथा स्थानीय तहमा कार्यरत ईन्जिनियरिङ्ग सेवाका कर्मचारीहरुको भुकम्प प्रतिरोधी भवन संचरना डिजाईन सम्बन्धी ज्ञान, सिप र क्षमता अभिबृद्धि गर्नु रहेको प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक केशवप्रसाद उपाध्यायले बताउनुभयो । समापन सत्रमा प्रमुख अतिथि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव राजकुमार श्रेष्ठले तालिमबाट ईन्जिनियरिङ्ग सेवाका कर्मचारीहरुको भुकम्प प्रतिरोधी भवन डिजाईन सम्वन्धी थप दक्षता अभिबृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक केशवप्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न तालिम समापन समारोहमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव आनन्द सारु, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव गणेश वस्तीले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो ।

२०७८ असोज १० गतेदेखि १६ गते सम्म वीरेन्द्रनगर सुर्खेतमा सञ्चालन भएको सो तालिममा NSET र ESS काठमाण्डौका प्रशिक्षकहरुद्वारा सहजीकरण गरिएको थियो ।