आजदेखि राष्ट्रिय जनगणना २०७८ शुरु

२५ कार्तिक, सुर्खेत । आजबाट जनगणना सुरु भएको छ । हरेक १०- १० वर्षमा हुने जनगणना यस वर्ष २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने बताइएको छ ।

राष्ट्रिय जनगणनाको शुरुवात राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण संकलन गर्दै देशभर १२ औं राष्ट्रिय जनगणना शुरु भएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ बताउनुभयो । राष्ट्रपतिको जनगणनाका लागि शीतल निवासमा गणकहरुले सोधेको प्रश्नको उत्तर राष्ट्रपति स्वयंले दिनुभएको थियो ।

यसैवीच कर्णाली प्रदेशमा पनि प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवन बहादुर शाहीको विवरण लिँदै जनगणना शुरु गरिएको छ ।

जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवारको सूचीकरण यसअघि नै भैइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणबस छुटेका समेत सबै परिवारमा गणकहरु पुगेर आजबाट व्यक्तिहरुको विस्तृत विवरण संकलन गर्ने बताइएको छ । विवरण संकलन गर्न देशभर करिब ४० हजार गणक र साढे ८ हजार सुपरीवेक्षक परिचालित भएका छन् ।

भारतीय सेनाको नियन्त्रणमा रहेको दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न कूटनीतिक पहल भइरहेको र भारतले अनुमति नदिए अनुमानका आधारमा गर्ने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, कार्तिक २५, २०७८     3:16:37 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *