माघ १५ गते सम्म विद्यालय बन्द हुने, सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन नपाइने


२५ पुस, काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमण पुनः बढ्दै गएपछि देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द हुने भएको छ ।

(आज) आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको हो । त्यस्तै अभिभावकहरुलाई पनि बालबालिका विद्यालय नपठाउन आग्रह गर्ने । १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ । खोप उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आवश्यक खोप आपूर्ति गर्ने र जिल्ला खोप समन्वय समितिले प्राथमिकताका साथ संचालन र सहजीकरण गर्ने निर्णय गरिएको छ ।

त्यस्तै अब होटल तथा सिनेमा हल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ । सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको क्‍याक्सिन कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्‍ने र ती निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्‍यवस्था मिलाउने गरी यही माघ ३ गतेदेखि लागू गर्ने निर्णय भएको छ ।

यस्तै सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन पनि रोक लगाएको छ ।