खेलाडी सुनमाया बुढा सम्मानित


२६ पौष, सुर्खेत । एशियन अल्ट्राट्रेलरेस प्रतियोगीतामा महिलातर्फ प्रथम भएकी जुम्लाकी धावक सुनमाया बुढालाई कर्णाली प्रदेश सरकारले स्वागत तथा सम्मान गरेको छ ।

खेलाडी सुनमाया बुढालाई मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेश राजधानी सुर्खेतमा स्वागत गर्नुभएको हो । हालै थाइल्याण्डमा सम्पन्न १ सय १० किलोमिटर अल्ट्राट्रेलरेस प्रतियोगीतामा २ हजार प्रतियोगीलाई पछि पार्दै समग्रमा तृतीय र महिलातर्फ प्रथम हुनुभएको थियो ।

सोमबार (आज) प्रदेश राजधानी वीरेन्द्रनगर आइपुग्नु भएकी सुनमायालाई सुर्खेत विमानस्थलबाट मुख्यमन्त्री कार्यालयसम्म नागरिक सम्मान गरिएको थियो । मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा सयौं सुनमायाहरु रहेको बताउँदै उनीहरुको पहिचान गर्ने गरेर प्रदेश सरकारले खेल क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।


मुख्यमन्त्री शाहीले खेल क्षेत्रको विकासका लागि कर्णाली प्रदेश सरकारले महत्वपूर्ण कामहरु गरिरहेको बताउनुभयो । उहाँले कर्णाली प्रदेशको पहिलो गौरवको योजनाका रुपमा प्रदेश रंगशाला निर्माणको काम सुरु गरिएको बताउँदै नेपालमै पहिलो पटक कर्णालीमा भलिवल कवर्डहल निर्माण पनि सुरु भएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री शाहीले कर्णालीबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई प्रदेश सरकारले प्रोत्साहनवापत आर्थिक पुरस्कारको व्यवस्था गरिएको बताउनुभयो । प्रदेश सरकारले सुनमायालाई दुई लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरिसकेको छ ।