२८औं विश्व आदिवासी दिवसको अवसरमा “रक्तदान”


२२ साउन, सुर्खेत । २८औं विश्व आदिवासी दिवसको अवसरमा आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रक्तदान कार्यक्रम गरिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतले विश्व आदिवासी दिवस आजदेखि रक्तदान कार्यक्रम गरेर मनाउन शुरु गरेको हो । महासंघले ३ दिन सम्म मनाउने कार्यक्रम अनुसार आज २२ गते रक्तदान, २३ गते ”आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका” विषयक अन्तरक्रिया तथा २४ गते विभिन्न  झाँकी सहित सुर्खेत सभाहलमा दिवस मनाउने कार्यक्रम रहेको महासंघका कार्यवहाक अध्यक्ष अशोक राजीले जानकारी दिनुभयो ।

का.वा. अध्यक्ष राजी भन्नुहुन्छ “मानवजीवनको महत्वपूर्ण पक्ष नै रगत भएकोले कसैको पनि रगतका कारण ज्यान नजाओस भन्ने अभिप्रायले हामीले रक्तदान कार्यक्रम गरेकाहौं । यो मानवीय कार्यमा लाग्न म सबैमा अनुरोध गर्दछु ।

नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतको समन्वयमा सम्पन्न रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको थियो ।