चर्चित भारतीय हास्य कलाकार राजु श्रीवास्तवको निधन


५ असोज, सुर्खेत । चर्चित भारतीय हास्य कलाकार राजु श्रीवास्तावको निधन भएको छ । श्रीवास्तवको आज (बुधबार) ५८ वर्षको उमेरमा दिल्लीको एम्स अस्पतालमा निधन भएको छ ।

गत अगस्ट १० मा हृदयघात भएपछि दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा भर्ना हुनुभएका राजु श्रीवास्तव लगातार ४१ दिनसम्म बेहोस हुनुहुन्थ्यो । श्रीवास्तवको एम्समा प्रख्यात चिकित्सक नितिश नाइकको नेतृत्वमा उपचार भइरहेको थियो । जानकारीका अनुसार राजु श्रीवास्तवको मस्तिष्क बाहेक सबै अंगले राम्रोसँग काम गरिरहेको थियो । दिल्लीको एक जिममा कसरत गर्ने क्रममा राजु श्रीवास्तव लडेर बेहोस हुनुभएको थियो । तत्कालै जिम स्टाफले श्रीवास्तवलाई एम्स दिल्लीमा पुर्याएका थिए, अस्पतालले उहाँलाई हृदयघात भएको जानकारी दिइएको थियो। श्रीवास्तवको एन्जियोप्लास्टी गरिए पनि होश आएको थिएन । आईसीयूमा भर्ना हुनुभएका श्रीवास्तवलाई पछिल्लो डेढ सातादेखि संक्रमणका कारण पटकपटक ज्वरो आएको थियो ।

कमेडियन राजु श्रीवास्तवले बलिउड फिल्ममा सानो भूमिका खेलेर आफ्नो करियर सुरु गर्नुभएको थियो । उहाँले राजश्री प्रोडक्सनको मैने प्यार किया र बाजीगर र बम्बे टु गोवा जस्ता विभिन्न चलचित्रहरूमा अन्य साना भूमिका खेल्नुभएको थियो । त्यस्तै बलिउड फिल्म ‘आमदानी अठन्नी खर्च रुपैया’ मा कमेडियनको रुपमा काम गर्नुभएको थियो । यद्यपि उहाँले मुम्बईमा मिमिक्रीबाट पहिचान पाउनुभएको थियो।

साभारः भारतीय सञ्चार माध्यमहरु