स्वर्ण विजेता फुटवल खेलाडीहरुको भब्य स्वागत


काठमाठौं– १२ औं दक्षिण एसियाली खेलकुद(साग)का स्वर्ण पदक बिजेता नेपाली फुटबल खेलाडी काठमाडौं आइपुगेको छ। बुधबार साँझ काठमाडौं आइपुगेको खेलाडी टोलीलाई स्वागत गरिएको छ।

टोलीको स्वागतमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेको युवा तथा समर्थकहरुको समुहले फूलामाला र अविरजात्रा गरी उनीहरुको स्वागत गरिएको हो।

विमानस्थलममा उत्रिएलगत्तै उनीहरुलाई नेपाली सेनाको गाडीमा राखेर नगर परिक्रमासमेत गराइएको छ। खेलाडीलाई एयरपोर्ट, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, न्यूरोड गेट, वीर अस्पताल, भोटाहिटी, जमल, केशरमहल, नारायणहिटी सङ्ग्रहालय गेट, पुरानो बसपार्क, भद्रकाली, सहिद गेट, सुन्धारा हुँदै त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला पुर्याइएको छ। नगरपरिक्रमापछि रङ्गशालामा एक कार्यक्रमबीच विजेता टोलीलाई सम्मान गरिएको छ।

यसअघि उनीहरुलाई झापामा विजय जुलुससहित स्वागत गरिएको थियो। उनीहरुलाई झापाको सीमा नाका काँकडभिट्टाबाट विर्तामोड हुँदै सदरमुकाम भद्रपुरको परिक्रमा गराई स्वागत गरिएको थियो।

भारतको आसाम गुहावटीमा भएको सागमा नेपाली पुरुष फुटबल टोलीले २३ वर्षपछि नेपाललाई स्वर्ण पदक दिलाएको हो। साग पुरुष फुटबलको फाइनलमा नेपाली टोलीले भारतलाई २–१ गोल अन्तरले पराजित गरी स्वर्ण पदक जितेको थियो ।
साभारः नागरिक न्यूज
फोटो साभारः अनलाइन खबर