विश्व बडीबिल्डिङ च्याम्पियनसिपमा पहिलो नेपाली महिला “ननिता”


timthumbअढाइ महिनाअघि पहिलोपल्ट महिला बडीबिल्डिङ स्पर्धा हुँदा काठमाडौंको राष्ट्रिय नाचघर दर्शकहरूले खचाखच भरिएको थियो। यति हुँदा पनि प्रतियोगिताकी एक स्पर्धी ननिता महर्जन भने आफ्नो परिवारको सदस्यलाई दर्शकदीर्घामा खोजिरहेकी थिइन्।

कारण थियो, यो स्पर्धामा भाग लिन जानुअघि प्रतियोगितामा महिला खेलाडीले लगाउने लुगा उनको परिवारलाई त्यति चित्त बुझेको थिएन। बडिबिल्डिङ स्पर्धामा महिला खेलाडीको ‘ड्रेस कोड’ नै हुन्छ, ‘टु पिस’ लुगा।

स्पर्धा अगाडि ननिताकी आमा मात्र होइन, दाजु पनि आफ्नी बहिनीलाई ‘टु पिस’ मा कसरी हेर्ने भन्ने असमञ्जसमा थिए। तर, अन्तिम समय आफ्नो छोरीको गठिलो शरीर हेर्न उनकी आमा मात्र होइन, दाजु पनि प्रतियोगिता स्थल पुगे। अझ उनले ६ प्रतिस्पर्धीलाई उछिनेर महिलातर्फको उपाधि जितेपछि घरपरिवारका सबै सदस्य स्टेजमाथि नै चढे, उनलाई सफलताको बधाई दिन।

अढाइ महिनाअघि नेपाली समाजमा बिद्यमान रुढीवादी सोचलाई चुनौती दिएकी ३१ वर्षीय ननिता अब अर्को उचाइ चुम्न लालायित छिन्। उनी देशको पहिलो महिला बडीबिल्डरका रुपमा मंगलबारदेखि थाइल्यान्डको पतायामा हुन लागेको विश्व बडीबिल्डिङ च्याम्पियन्सिपमा सहभागी हुँदैछिन्। यसका लागि उनले ठूलै तपस्या गरेकी छन्।

आफ्नो शरीरलाई ‘मस्कुलर’ बनाउन दुई महिनादेखि उनी नुन पनि नखाई दैनिक ६ घन्टा जीम हलमा आफूभन्दा धेरै तौल उठाउन व्यस्त छिन्। उनको मेहनत देखेर प्रशिक्षक रुजेश शाही दंग छन्। ‘पुरुषहरूको वर्चश्व भएको बडीबिल्डरमा ननिताजस्तो लगनशील महिला खेलाडीलाई भेटाउँदा खुसी लाग्छ,’ ननिताका प्रशिक्षक शाही भन्छन्। शाही गत वर्ष बैंककमा भएको यही प्रतियोगिताको अघिल्लो संस्करणमा ५५ केजी तौल समूहमा उपविजेता बनेका थिए। नेपाली बडीबिल्डङ इतिहासमा उनी यो उपलब्धी चुम्ने पहिलो पुरुष खेलाडी हुन्।

५ फिट ५ इन्च अग्ली ननिता थाइल्यान्डमा महिला मोडल फिजिक्स समूहमा भाग लिँदैछिन्। विश्वका ५९ राष्ट्रले भाग लिन लागेको यो प्रतियोगिताको आफ्नो स्पर्धामा उनी उत्कृष्ट ५ भित्र प्रवेश गर्ने सम्भावना प्रबल छ। त्यसैले उनलाई अहिले प्रशिक्षक शाहीले ‘स्टेज पफर्मेन्स’ मा विशेष ध्यान दिन आग्रह गरिरहेका छन्। बडीबिल्डिङ स्पर्धामा शरीर राम्रो भएपनि प्रतिस्पर्धामा गर्ने ‘स्टेज पफर्मेन्स’ ले ठूलो अर्थ राख्ने गरेको छ।

ननिताको सबैभन्दा बलियो पक्ष भनेको ढाड, पेट र काँध हो। उनको ढाड (ब्याक पार्ट) पुरुष बडिबिल्डरभन्दा कम छैन। पेट (एब्डोमिनल) पनि उत्कृष्ट छ। उनले यही स्पर्धाका लागि आफूले इच्छ्याएको खाना पनि खाएकी छैनन्। ‘मसल्स’ मा पर्ने असरका कारण बडीबिल्डरहरूले प्रतियोगिता आयोजना हुनुभन्दा डेढदेखि तीन महिनाअघिबाट घरमा खाने खाना, गुलियो, अमिलो, पिरो र जंकफुड सबै त्याग गर्नुपर्छ। त्यसैले उनी भन्छिन्, ‘विश्व च्याम्पियनसिप खेलेर फर्किएपछि भोज खाने ठूलो रहर छ।’

ननिताको बडीबिल्डर बन्ने कहानी रोचक छ। उनी स्कुले जीवनमा बास्केटबल र भलिबल खुब खेल्थिन्। उनी कीर्तिपुरको मंगल माध्यमिक विद्यालयको भलिबलतर्फको कप्तान नै थिइन्। तर, जनमैत्री बहुमुखी क्याम्पस भर्ना भएपछि उनी खेलकुदबाट विस्तारै निस्क्रिय भइन्। क्याम्पस पढ्दै गर्दा उनको ९ वर्षअघि प्रेम विवाह भयो। बिहे गरेको दुई वर्षमा छोराको पनि जन्म भयो। यतिबेला उनको तौल अस्वभाविक रुपमा बढेर ७१ केजी पुग्यो।

बढ्दो तौल घटाउन उनले बीचका केही वर्ष योगाको पनि सहारा लिइन्। तर, सफलता हात नलागेपछि एरोबिक्स र जुम्बा ‘ज्वाइन’ गरिन्। यसबाट पनि फाइदा नभएपछि श्रीमानको सल्लाहले जीममा संलग्न भइन्। कालिमाटीस्थित डिभाइन जिममा तौल घटाउने क्रममा उनको शरीरको विशेषता बुझेपछि प्रशिक्षक शाहीले उनलाई व्यवसायिक खेलाडीझैं शरीर बनाउन हौसाएका थिए।

तीन वर्षअघि आफ्नो तौल घटाउन जिमहल पुगेकी उनै ननिता विश्व बडीबिल्डङ च्याम्पियनसिपमा भाग लिने पहिलो नेपाली महिलाको पहिचान बनाउँदै छिन्। ‘मेरो लागि गौरवको कुरा हो,’ हाल आफ्नो तौललाई ५५ केजीमा झारिसकेकी ननिता भन्छिन्, ‘यसका लागि लगाव, अनुशासन र निरन्तरता चाहिन्छ।’

ननितालाई महिला बडीबिल्डर बन्न उनको परिवारले निकै सघाएका थिए। विशेषत: उनकी सासूले आफ्नी बुहारीलाई खेलाडी बन्न कुनै कसर बाँकी राखिनन्। जिम गरेपछि विश्राम त्यति नै मात्रामा लिनुपर्छ।

‘मेरो सासूदेखि पूरै परिवारले ७ वर्षको छोराको राम्रोसँग रेखदेख नगर्ने हो र ट्रेनिङपछि थाकेर आएको शरीरलाई विश्रामदेखि खानपानमा विशेष ध्यान नदिने हो भने म बडिबिल्डर नै बन्न सक्दिनथेँ। त्यसैले अहिले म जुन अवस्थामा छु त्यसको श्रेय उहाँहरू तथा मेरो ट्रेनर गुरुलाई जान्छ,’ उनी भन्छिन्। ननिताको प्रतिस्पर्धा हेर्न उनको पूरै परिवार उनीसँगै मंगलबार थाइल्यान्ड उड्दैछ।

यस्तै, उनको माइततर्फको परिवार पनि उतै जाँदैछन्। ननिताका श्रीमान रुदन बज्राचार्य आफ्नो श्रीमतिको सफलताबाट यतिबेला निकै खुसी छन्। रुदन पनि केही वर्षदेखि जिम गरिरहेका छन्। तर, प्रतिस्पर्धामा श्रीमतिले आफूलाई उछिनेकोमा उनी दंग नै छन्। ‘यतिसम्म जान्छिन् भन्ने थिएन। तर, उनले आफूलाई प्रमाणित गरिन्। खुसी लागेको छ,’ रुदन भन्छन्।

ननिता विश्व बडीबिल्डङ च्याम्पियनसिप आफ्नो अन्तिम प्रतियोगिता नभएको बताउँछिन्। उनी यो आफ्नो करिअरको सुरुवात भएको बताउँदै भन्छिन्, ‘म अन्य महिला दिदी–बहिनीलाई पनि शारीरिक सुगठनमा लाग्न आग्रह गर्छु। यसका लागि मैले गर्ने योगदान सधैं रहन्छ।’

साभारः सेतोपाटी अनलाइन