‘स्थानीय चुनाव जेठसम्मै धकेलिन सक्छ’


चैतभित्रै स्थानीय चुनाव गर्ने दावी गर्दै आएका प्रधानमन्त्री प्रचण्डले अब उक्त चुनाव जेठ महिनासम्म धकेलिन सक्ने बताएका छन्।

शुक्रबार पोखरामा संवाददाताहरुसँग कुरा गर्दै प्रचण्डले चुनाव भने गरिछाड्ने दृढता व्यक्त गरे।

तर पुरानै स्थानीय संरचनाको चुनाव गर्ने वा आयोगले निर्धारण गर्ने नयाँ स्थानीय तहको चुनाव गर्ने भन्नेबारे दलहरुबीच सहमति हुन बाँकी रहेको उनको भनाइ छ।

“अब स्थानीय तहको निर्वाचन चैतको अन्य सम्ममा गर्ने भनेको हो, ढिलो भएको हुनाले त्यो निर्वाचन वैसाखबाट शुरु भएर जेठसम्म जान पनि सक्छ।”

तर चुनाव गराउन दृढ देखिएका प्रधानमन्त्रीले स्थानीय तह कि निकायको चुनाव गराउने भन्नेमा राजनीतिक सहमति हुन बाँकी रहेको बताए।

तर प्रधानमन्त्री प्रचण्डले भने जस्तो स्थानीय तह वा निकायको चुनाव गर्न राजनीतिक सहमति जुटाउन त्यति सजिलो देखिन्न।

अहिले स्थानीय तहको सीमा निर्धारणको काम अन्तिम चरणमा पुर्याएको भनिएको आयोगको कामप्रति संघीय गठबन्धन रुष्ट छन्।

पुरानै संरचनाको चुनावविरुद्ध प्रधानमन्त्रीकै पार्टीभित्र पनि असन्तुष्टि सुनिएको छ।

आशा

अघि बढ्न नसकेको संविधान संशोधन विधेयकबारे बोल्दै प्रधानमन्त्री प्रचण्डले अब लामो समयदेखि अवरुद्ध हुँदै आएको सदनको अवरोध खुल्ने र सो विधेयक अघि बढ्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्रीले सदनमा उत्पन्न अवरोध कसरी खुलाउने र विधेयक कसरी अघि बढ्ने हो त्यो प्रष्ट पारेनन्।

संसदको अवरोध अन्त्य गर्न विधेयक स्थगन गर्नु पर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको शर्तमा सत्तापक्ष पनि लचिलो बनेको समाचार आइरहँदा प्रधानमन्त्रीले त्यसबारे मुख खोलेका हुन्।

विधेयक स्थगनको चर्चाबाट असन्तुष्ट तराई केन्द्रित दलहरु सामेल संघीय गठबन्धन सशंकित बनेको थियो।

संशोधन विधेयक फिर्ता हुनु पर्ने एमालेको माग विगतमा ठाडै अस्वीकार गरेका प्रधानमन्त्री प्रचण्डले पछिल्ला दिनमा चर्चामा आए जस्तो विधेयक निष्कृय वा स्थगन पनि नगरिने बताए।

संविधान संशोधन विधेयक परिमार्जन गर्न सकिने उनको भनाइ छ।

साभारः विविसी