‘देउवाको आवाजमा प्रचण्डको नम्बर माग्थेँ’



विजय बराल रंगमञ्चका चर्चित अनुहारमध्ये एक हुन् । पछिल्लो समय फिल्म कबड्डी कबड्डीको

बिकेपात्रले उनलाई फिल्मका दर्शकमाझ पनि चर्चित बनाएको छ। उनले छड्के‘, ‘साँघुरो‘, ‘कर्कशलगायत फिल्ममा अभिनय गरेका छन् । त्यस्तै, ‘चरनदास चोर‘, ‘सिरुमा रानी‘, ‘मितज्यू‘ ‘रसोमन‘, ‘वैतरणी क्याफेआदि नाटकमा अब्बल अभिनय गरेका छन्। केही दिनमै रिलिज हुन लागेको नाटक ‘… माईलोको रिहर्सलमा रहेका बरालसँग डिबी खड्काको अन्तरंग कुराकानीः

बिकेपात्रको लोकप्रियतापछि के कुरामा फरक महसुस भइरहेको छ ?
धेरै नै फरक भयो। फेसबुकमा साथी दुई हजारजति थिए जस्तो लाग्छ, केही दिनमा स्वाट्टै बढेर पाँच हजार पुगे। पहिला बाटोमा हिँड्दा कसैले वास्ता गर्दैनथे, अहिले धेरैले फर्कीफर्की हेर्छन् । कति बोल्न खोज्छन् । सँगै फोटो खिचाउँछन् ।

तपाईंका प्रशंसकलाई तपाईंको सबभन्दा मन पर्ने कुरा के रहेछ ?
मेरो अभिनय एकदम नेचुरल छ रे । मलाई बिकेका रूपमा हेरिरहँदा कलाकारले अभिनय गरेको होइन कि स्थानीयलाई फिल्ममा ल्याइएको हो जस्तो लाग्यो रे । मेरो यही अभिनय तरिका मन परेर विदेशबाट गाह्रोअप्ठ्यारो परे भन्नू, हामी सघाउँला तर अभिनय नछाड्नूभनेर आश्वासन दिने पनि धेरै छन् ।

त्यो पात्रका रूपमा आफूलाई प्रस्तुत गर्न कत्तिको मेहनत गर्नुपर्याे?
निर्देशक रामबाबु गुरुङले मलाई हेरेर त्यो पात्रको सिर्जना गर्नुभएको हो रे । मण्डला थिएटर बनिरहँदा म र बुद्धि दाइ (बुद्धि तामाङ) इँटा पखाल्ने, बालुवा चाल्ने गरिरहेका हुन्थ्यौँ । रामबाबु दाइ आइरहनुहुन्थ्यो, काम गर्दा देखिएको मेरो रूप गाउँले मजदुरभन्दा कम थिएन। त्यसैले उहाँले मलाई उक्त चरित्र गर्न दिएपछि जस्तो गर्न मन लाग्छ त्यस्तै गर्नूभन्नुभयो । त्यसपछि मैले केही कुरा सोचेँ । भ्वाइस टोन च्याँट्ठिएको बनाउने, सक्दो हाइटमा टुक्रुक्क बस्ने खालको कुराहरू उक्त पात्रका लाग उपयुक्त हुन्छ । गाउँमा हेपिएको, पछि परेको मान्छे भुइँको ओछ्यानमा भन्दा मुढामा वा डोकोमा बस्न खोज्ने कुरा मैले देखेको थिएँ । यहाँ पनि त्यो प्रयोग गरेँ । चरित्रका लागि फिट भयो । बाँकी कुरा त मैले आफूजस्तै गरेँ ।

नाटकसँग जोडिएपछि इँटा पखाल्नेदेखि मसला बनाउनेसम्मका काममा लाग्नुभयो । गाउँमा हुँदा यस्तो दुःख गरिएको थियो ?
घरमा त म केही गर्दिनथेँ । बुबाको बैंकमा जागिर थियो । मलाई पढाएर राम्रो जागिर गर्ने मान्छे बनाउने सपना बुबा र हजुरबाको थियो । त्यसैले पढाइभन्दा बाहेकका काममा लगाउनुभएन । जे गरेँ, यहीँ आएपछि गरेँ । जे गर्न पनि जान्नुपर्छ भन्ने कुरा राजन खतिवडा दाइको संगतमा परेपछि महसुस गरेँ । अहिले त फर्निचर बनाउनेदेखि इँटा थुपार्नेसम्मका काम आउँछन् ।

रंगमञ्चसँग कसरी जोडिनुभयो ?
मेरो सानैदेखि कमेडियन बन्ने ठूलो सपना थियो । त्यसमा क्यारिकेचर गर्ने खालको कमेडीमा बढी रुचि थियो । स्कुल र कलेजमा पढ्दा कार्यक्रममा स्ट्यान्डअप कमेडी पनि गर्थें । त्यसका लागि काठमाडौँमा केही संघर्ष पनि गरेँ तर सफल भइनँ । राजनीतितिर मोडिए नेता बन्न । त्यहाँ पनि मन थामिएन फेरि अभिनेता बन्न नै आइपुगेँ ।

अहिले पनि गर्नुहुन्छ क्यारिकेचर ?
फ्याट्टै छाडिदिएँ । धेरैले नछाडेको भए हुन्थ्यो भन्छन् । कतिले विदेशका कार्यक्रममा बोलाउँछौँ, क्यारिकेचर पनि गर्नू है भन्छन् । मैले त मनैबाट यो काम छाडेको हुँ, त्यसैले गर्दिनँ भन्छु ।

क–कसको क्यारिकेचर गरिन्थ्यो ?
नेपालका नेतादेखि इन्डियन कलाकारसम्मको गर्थें । १९७ मा फोन गरेर शेरबहादुर देउवाको भ्वाइसबाट प्रचण्डको नम्बर माग्थेँ । साँच्चीकै ठानेर दिन्थे । धेरैपल्ट गरियो १९७ मा । केटाहरू उक्साउँथे नि त । अहिले सम्झ्यो भने डर लाग्छ ।

क्यारिकेचरबाट कसरी मोह भंग भयो ?
कमेडियन हुने, राजनीति गर्ने जस्ता कुराबाट हारेर थाकेर म नाटकतिर मोडिएको थिएँ । गुरुकुलको नाम सुनेकाले नियमित नाटक हेर्न जान्थेँ । एकचोटि इन्डियाको एनएसटीबाट एकजना नाटक निर्देशकले ४५ दिनको क्लास लिँदैछन् भन्ने सुनेँ । अडिसन दिएँ, अडिसन पनि क्यारिकेचर गरेरै दिएँ । हँसाता हे तूभनेर अडिसनमा छनोट गरिदिए । ४५ दिनको क्लासमा जहिल्यै क्यारिकेचर गरिरहेँ । मेरो तरिका देखेर निर्देशक वाक्क भएका थिए । रिसाएर भन्थे हर बार मिमिक्री ही करता है तू। अन्तिम दिनमा नाटक गर्नुथियो, मैले सिरियस भएर गरेँ । त्यति गर्दा मलाई बल्ल महसुस भयो, गम्भीर हुनुको आनन्दै अर्काे रहेछ । यो त मेडिटेसन रहेछ । जब मैले गम्भीर भएर दिएको चरित्रको अभिनय गरेँ, निर्देशक अंगालो मार्न आए । तँ यस्तो राम्रो पनि गर्ने रैछस् तभन्ने आशय बोले । मैले त्यही दिन छाडिदिएँ क्यारिकेचर ।

कमेडियन बन्ने सपनाको अन्त्य कहाँ भयो ?
काठमाडौँमा बीबीएस पढ्न थालेपछि सँगै कमेडियन बन्न पनि संघर्ष गरियो । ठूलो सोर्सफोर्स लगाएर दमन रूपाखेती दाइकोमा पुगियो । सोर्सफोर्स लाएर पुगेको मान्छे रोल राम्रै पाइन्छ भन्ने आशा थियो । तर, जब सुटिङ सुरु भयो, सानोतिनो रोल पाइयो । सुटिङ सकिएपछि घरमा फोन लाएँ, फलानो दिनको कार्यक्रममा म आउँदै छु हेर्नू भनेर । घरमा सबै जम्मा भएछन् तर घरका मान्छे जम्मा हुनु पहिल्यै मेरो पासिङ रोल पास भइसकेछ । रोल नै सानो, त्यही पनि काटेर आफँैले नदेख्ने आएपछि त्यो सपना पनि छाडेँ ।

त्यसपछि राजनीति गरियो ?
राजनीति त के गरेँ भन्नु र ? टायर बाल्ने र ढुंगा हान्ने काममा त्यसपछि सक्रिय भइयो । मीनभवन क्याम्पसमा पढ्दा मेरो कामै दुई वर्ष झण्डा समातेर जता कार्यक्रम छ त्यतै लाग्ने भयो । गगन थापा मन पर्थे, उनको भाषण मोबाइल रेकर्ड गरेर सुन्दै आफू पनि त्यस्तै भाषण गर्ने प्य्राक्टिस गरियो । क्याम्पसका कार्यक्रममा अग्रभागमा देखिएपछि म चर्चित भइहालेँ । उसो त सर्लाहीबाट आएको हाम्रो ठूलो ग्याङ थियो । मैले स्ववियु चुनावमा सदस्यमा चुनाव लड्न टिकट पाएँ, अर्काे साथीले रहर ग¥यो । उसैलाई छाडिदिएँ । एकदिन त विपक्षी विद्यार्थी संगठनका साथीहरू हामीलाई काट्न भन्दै गेट बाहिर तरबार लिएर बसेछन् । मैले यस्तो लडाइँझगडाका लागि राजनीति गरेको थिइनँ । त्यही दिन छाडिदिएँ र नाटक हेर्नतिर लागेँ ।

नाटक गर्न कहिलेदेखि पाइयो ?
गुरुकुलमा ४५ दिनको कक्षा लिएपछि म त्यहाँ निरन्तर जान थालेँ । राजन खतिवडा दाइले मण्डला थिएटर भन्ने समूह भर्खर खोल्नुभएको रहेछ, उहाँहरूलाई कलाकारको आवश्यकता थियो । गुरुकुलको अकाउन्ट हेर्न दाइले राजन दाइको सम्पर्क नम्बर दिएर पठाउनुभयो। उहाँलाई भेटेपछि मण्डला थिएटरसँग आबद्ध भएँ ।

मण्डलाको त आवासीय कलाकार नै हो क्या रे !
त्यस्तै भन्नुपर्यो। मण्डला थिएटर बनेपछि हामी यही काम गर्ने, यही बस्ने र यही खाने गरिरहेका छौँ । मेरो त अहिले पनि यही थिएटरको माथि कोठा छ ।

त्यसो भए अहिले त कुनै समय पनि नाटकभन्दा पर पुग्न पाउनुभएको छैन !
नाटकघरमै बास भएपछि नाटकबाहेक सोच्न सकिँदैन रहेछ । कहिलेकाहीँ त घरपरिवार नै बिर्सिंदो रहेछु । घरमा फोन गर्न पनि दुईतीन महिनापछिमात्रै याद गर्दाे रहेछु ।

घरबार जोड्ने कुरा बिर्सिएको त छैन नि ?
त्यो बिर्सिनुभन्दा पनि अहिलेसम्म सम्झिएको छैन । मान्छे हेर्दा डरलाग्दो लाग्छु रे, लभसभ परेको छैन ।

तपाईं नाटकमा मग्न भएकोमा घरपरिवार सन्तुष्ट-असन्तुष्ट के छन् ?
सँगै साथीहरूले राम्रै कमाइधमाइ गर्दा मलाई नाटकमा लागेर बिग्रिएको कि भन्ने पिर गर्नुहुन्थ्यो । तर, अहिले छरछिमेकले चर्चित भइरहेको छ, राम्रै गर्दै छ भनेपछि त्यस्तो असन्तुष्टि पोख्नुभएको छैन । मेरो हजुरबाले गाउँको मन्दिरमा पुजारी भएर जीवन निर्वाह गर्नुभएको थियो, सुखदुःख गरेर बालाई एसएलसीसम्म पढाउनुभयो । बाले बैंकमा जागिर गर्नुभयो । त्यसैले उहाँ मलाई जहिल्यै जागिर गर्नुपर्छ है, तेरो बाले जागिर नगरेको भए हामी कसरी बाँच्थ्यौँभन्नुहुन्थ्यो । तर, भाइले मलाई नाटक नछाड्नू, बरु विदेश गएर भए पनि परिवार धान्ने पैसा कमाउँछुभनिरहन्छ ।

घरपरिवारको इच्छा चाहिँ के बनाउने थियो ?
बुबाले मलाई डाक्टर बनाउने सपना देख्नुभएको थियो । एसएलसी सकेपछि साइन्स पढ्न काठमाडौँ पनि आएँ तर भर्ना सकिएको रहेछ । त्यसपछि कमर्स पढेँ । बैंकमै जागिर गरोस् भन्ने बुबाको चाहना थियो ।

– See more at: http://nagariknews.com/friday/story/52638.html#sthash.MM4NXf6z.dpuf