गीतको कथा : छोरीभन्दा आमा तरूनी


मैले विभिन्न सन्दर्भ गीत संकलन गरेको छु । कहिले गीत संकलन नै गर्ने काममा लागि हिँडेको छु त कहिले संयोगले गीत भेटिन्छ पनि । ‘आमाभन्दा छोरी तरूनी, लिपिस्टिक पाउडरले’ बोलको गीत पनि यसरी नै संयोगवश भेटिएको हो ।
म घुम्ने क्रममा मलेखु पुगको थिएँ । त्यहाँ नजिकै विवाह रहेछ । मलाई निम्ता त थिएन, तर साथीले जाऊँ भन्यो । मलाई पनि त्यहाँ बजिरहेको सहनाइको धूनले तानिरहेको थियो । त्यसैले गएँ । त्यहाँ गइसकेपछि ‘कुमार दाइ, कुमार दाइ’ भनेर केही केटाहरू आए । त्यहाँ कुराकानी हुँदै थियो । त्यसै क्रममा एउटाले एकजना महिलालाई देखाउँदै भन्यो, ‘हैट्, त्यो त कस्तो सिंगारिएर आइछ, छोरीभन्दा आमा तरूनी ।’
मलाई मौलिक शब्दले तानिहाल्यो । कान ठाडो भन्यो । अनि मैले उसलाई भनेँ, ‘तपाईंले अहिले बोल्नुभएको तुक्काको बारेमा केही गीत होलान् । खोज्नुस् न । म केही दिनपछि आउँछु । अनि कुरा गरौंला ।’
त्यसपछि म त्यहाँ गएँ । उनले केही शब्द खोजिरहेका रहेछन् । हामी नजिकैको खोलामा माछा मार्दै गफ गर्न थाल्यौं । अनि शब्द थपिँदै थयो ।
प्रजातन्त्र आइसकेपछि ०४८ सालमा गीत रेकर्ड भयो । गीतमा ‘हो कि होइन हो, होइन भन्ने को ?’ भन्ने राम थापाले थप्नुभयो । गीत निकै चर्चामा आयो । तर गीतको विरोध हुन थाल्यो । सुर्खेतमा जुलुसै निकाले । केटाहरूको जुलुस एकातिर, केटीहरूको अर्कातिर । काठमाडौंमा पनि त्यस्तै विरोध भयो । त्यसपछि गीत बन्द नै गरियो ।
म सञ्चय कोषको हाकिमको हैसियतमा धनकुटामा शाखा खोल्न जानुपर्ने थियो । गिरिजा कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले शाखा उद्घाटन गदै हुनुहुन्थ्यो । उहाँ हेलिकोप्टरबाट आउनुभयो र उद्घाटन गरेर जानुभयो । मेरो अफिसियल ड्युटी त सकियो । बेलुका फुर्सद भइहाल्यो । म पुगेको त्यहाँका जनताले थाहा पाइहाले । उनीहरूले भने, ‘तपाईं आएको थाहा पाएर हामीले स्टेज बनाएका छौं । तपाईले गीत गाउनुपर्छ है ।’ मैले हुन्छ भनें ।
बेलुका म खाना खान भनेर निस्केको थिएँ । होटलनजिकै चौरमा कार्यक्रम रहेछ । मनमोहन अधिकारीले भाषण गरिरहनु थियो । तर मलई कसले देखिहालेछ । ‘ओहो, कुमार बस्नेत !’ भनेर चिच्याए । मानिसहरू त ह्वार्रै मतिर आए । उहाँको भाषण एकछिन ‘डिस्टर्ब’ भयो । त्यसले मलाई नराम्रो पनि लाग्यो । म कुनै राजनीतिक पार्टीमा त थिइनँ, तर मलाई उहाँको भाषण बिथोलेको आरोप लाग्छ कि भन्ने पनि लाग्यो । तर त्यस्तो त भएन । खाना खाइसकेपछि मैले स्थानीयले बनाएको स्टेजमा गीत गाएँ । गीत गाउँदै थिएँ, चुरोटको बट्टामा लेखिएको एउटा चिट आयो, ‘तपाईं नेपाली भएर नेपालीकै बद्नाम गर्ने छोरीभन्दा आामा तरुनी गीत किन गाउनुहुन्छ ?’
त्यसपछि मैले स्टेजबाट भनें, ‘दिदीबहिनी मेरो पनि छन् । नेपालका सबै दिदीबहिनी मेरा पनि हुन् । मैले उहाँहरूलाई होच्याउन खोजेको होइन । खराब भन्न खोजेको पनि होइन । तर छोरीभन्दा आमा तरूनी समाजको वास्तविकता हो । त्यो समाजमा देखिन्छ । बाउले कमाएको पैसा आमालाई बुझाउँछ, छोरीले त पाउँदिनँ । त्यसले पनि आमालाई तरुनी बनेर हिँड्न बढी सहज हुन्छ । यो यहाँमात्रै होइन, विश्वभर नै हो । त्यसो त उमेर ढल्कँदै गएपछि बढी श्रृंगार गर्ने चलन हुन्छ नै । यो त्यसैले अपमानको गीत होइन । यदि माइकल ज्याक्सन वा बिटल्सले यस्तै गीत गाएको भए संसारभर प्रसिद्ध हुन्थ्यो ।’ मैले त्यसो भनेपछि त्यहाँ ताली गुञ्जियो । त्यसकै प्रभाव हो या के हो गीत फेरि बज्न थाल्यो ।
साभारः रातोपाटी डटकम