यसकारण हरिवंशले र मैले छाला र आँखा दान गर्ने निर्णय गर्यौँ: मदनकृष्ण श्रेष्ठ


मेडिकल विज्ञानले जुटाएको यत्रो ठूलो अवसर लिनबाट हामी पछि पर्नु हुँदैन । डढेर खेर जाने अंगले अरू कसैको जीवनलाई नयाँ रूप दिन सक्छ । जीवन रहुञ्जेल जति सेवा गर्न सकिन्छ । त्योभन्दा धेरै सेवा त मरेपछि गर्न सकिँदो रहेछ । जीवनदानको यो अवसर उपयोग गर्न म र हरि (हरिवंश आचार्य) तयार भयौँ । आँखा बैंकको सुरुवातमै हामीले आँखा दान गर्ने प्रण ग¥यौँ । त्यसपछि स्किन बैंकको सुरुवात गर्दा छाला पनि दान गर्ने कागज गरायौँ । हामी मरेपछि आँखा र छाला झिकेर कसैलाई सुम्पिने बाटो खोलिदियौँ ।
अघोषित नाकाबन्दी भने जस्तो मैले पनि अघोषित रूपमै सञ्चारमाध्यमबाट भनिदिएँ– काम आउने जति मेरा अन्य अंग पनि म मरेपछि सदुपयोग गर्दा हुन्छ । तस्करी चाहिँ नहोस् । गरिब, दुःखीले सेवा पाओस् । हामीले कैयौँ यस्ता घटना देखेका छौँ । आगोले पोलिएर छिन्नभिन्न भएका हुन्छन् । कसरी उपचार गर्ने नै मेसो पाउँदैनन् चिकित्सकहरू । त्यतिबेला कसैको छाला पाए उनीहरू सजिलै उपचार गर्न सक्छन् ।
अंगदानको अभियान चलाउन आवश्यक देखेको छु । यसमा पछिल्लोपटक आएको ऐनले पनि केही सहयोग पुग्नेछ । तर, सरकारले कडा निगरानी भने गर्नैपर्छ । यो ऐनले अंगको तस्करी हुने क्रम रोकिएला भन्ने आशा छ । परिवारको दायरा फराकिलो भएको छ । एउटा परिवारले अर्को परिवारसँग अंग साट्न मिल्नेछ । मस्तिष्क मृत्युपछि अन्य अंग पनि दानमार्फत प्राप्त गरी आवश्यक परेका व्यक्तिको अकाल मृत्युबाट जोगाउन सकिनेछ ।

भ्रम र अन्धविश्वासले समस्या छ । छाला भनेर पूरै छालै काड्ने त होइन । नदेखिने भागको पातलो लेयरमात्र झिक्ने हो भन्ने थाहै छैन । आँखा भनेर पूरै आँखाको डल्लो झिक्ने होइन । आँखाको सानो नानीमात्र हो । स्वर्ग जान नपाइने, अर्को जन्ममा अपूर्ण हुनुपर्नेलगायत अन्धविश्वास छन् । बाचुञ्जेलमात्र नभएर मरेपछि पनि सेवा गर्न तयार हुने व्यक्ति स्वर्ग जान पाउन्न भने किन बल गर्नु ? सेवामा छ जीवन जिउनुको मज्जा । अर्को जन्म हुने कसले देखेको छ ? यी सबै फगत कुरा बिर्सेर मानव सेवामा तनमनले लाग्न प्रेरित गर्नु आवश्यक देख्छु । हामी त मरेपछि अंग दान गर्न खोज्दै छौँ । उमेर छँदै एउटा मिर्गौला दान गरेर आफन्त, परिवारलाई जीवनदान दिने व्यक्ति त झन् महामानव हो । यस्ता महामानव हाम्रो समाजमा छन् । यस्तो परोपकारी कामले जीवनलाई सार्थक बनाउँछ । 
साभारः स्वास्थ खबर पत्रिका