कुपोषणकाे मारमा बालबालिका


७ असार सुर्खेत

 पोषणयुक्त खानाको कमीका कारण बालबालिका कुपोषणमा जेलिँदै गएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतमै बालबालिकामा कुपोषणको दर बढ्दै गएको हो। ग्रामीण क्षेत्रका बालबालिकामा कुपोषणको दर उच्च देखिएपछि ‘सर्वोत्तम पिठो’ वितरण सुरु गरिएको हो।

हालै गरिएको परीक्षणमा चौकुने गाउँपालिकामा मात्र २८ जना बालबालिकामा कुपोषण देखिएको हो। जसमध्ये पाँच जनामा बालबालिकामा शीघ्र कुपोषण र २३ जनामा मध्यम खालको कुपोषण फेला परेको हो। गाउँपालिकामा पाँच वर्ष मुनिका दुई सय बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा यो संख्यामा कुपोषित बालबालिका भेटिएका हुन्। ठूलो संख्यामा बालबालिका कुपोषणको संक्रमणमा परेपछि स्थानीय आमा समूह र गाउँपालिकाको कार्यालयले हिजोआज घरघरमा पिठो वितरण सुरु गरेका हुन्।

पोषणयुक्त खाना अभावमा बालबालिकामा कुपोषणको समस्या देखिने गर्छ। यही समस्या न्यूनीकरणका लागि भन्दै चौकुने गाउँपालिकाको गुटु, घाटगाउँ र विजौरामा महिलाले नयाँ उपाय लगाएका छन्। स्थानीय स्वास्थ्य आमा समूहले गाउँमै उपलब्ध हुने भुटेको मकै, गहुँ र भटमासको पिठो मि श्रण गरेर सर्वोत्तम पिठो उत्पादन गर्न थालेका छन्। आमा समूहले उत्पादन गरेको यही पिठो गाउँमा रहेका कुपोषित बालबालिका र एक हजार दिनका आमा (गर्भवती भएदेखि सुत्केरी भएको दुई वर्षसम्मका महिलालाई) उपहारस्वरूप वितरण सुरु गरिएको हो। पिठो उत्पादनमा गाउँपालिकाको कार्यालयले आमा समूहलाई आर्थिक सहयोग गरेको छ।

कर्णाली प्रदेशका विभिन्न जिल्लामा हाल करिब ५४ प्रतिशत बालबालिका कुपोषणको समस्यामा जेलिएको सरकारी तथ्यांक छ। सुर्खेतमा पनि यो अवस्था विस्तारै बढ्दै गएको छ। जिल्लामा कुपोषण घटाउन र बालबालिकालाई यसबाट जोगाउन महिलाले स्वास्थ्य आमा समूहले स्थानीय सरकारसँग समन्वय गर्दै सर्वोत्तम पिठो उत्पादन तथा वितरण गरिरहेका छन्। चौकुनेस्थित सुनपाल स्वास्थ्य आमा समूहका अध्यक्ष सुन्धरा जोशील आफूहरूले गाउँमै सर्वोत्तम पिठो उत्पादन गरेको र गर्भवती महिला तथा ६ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई खुवाउने गरेको जानकारी दिइन्। उनका अनुसार चौकुनेमा कुपोषणको अवस्था भयावह हुने खतरा देखेपछि स्थानीय सिर्जनशील स्वास्थ्य आमा समूह र विकासशील स्वास्थ्य आमा समूहले समेत गाउँमै पोषणयुक्त पिठो उत्पादन तथा वितरण गरिरहेका छन्।

गाउँपालिकाले अब गाउँमा रहेका गर्भवती र सुत्केरी महिलालाई घरघरमै पुगेर उक्त पिठो प्रदान गरिने जनाएको छ। महिलाले सर्वोत्तम पिठोबाटै बिस्कुट र लड्डु पनि उत्पादन गरिरहेका छन्।

स्थानीय महिला सञ्जालका अध्यक्ष गोविन्द रानाले गर्भवती भएदेखि सुत्केरी भएको दुई वर्षसम्मको अवधिलाई आमा समूहले सुनौला हजार दिनको रुपमा तथ्यांक राख्ने गरेको जानकारी दिइन्। कुपोषण न्यूनीकरण क्षेत्रमा काम गर्दै आएको सुआहारा कार्यक्रमले जिल्लाका चौकुने, बराहताल, वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोटमा अहिले बालबालिकामा कुपोषण पहिचान गर्ने काम गरिरहेको छ। यी स्थानीय तहले पनि गाउँमै सर्वोत्तम पिठो उत्पादन गरेर वितरण गर्ने काममा सहयोग गर्न थालेका छन्। सुआहाराका जिल्ला संयोजक राजेन्द्र अधिकारीले आमा समूहले थालेको प्रयासले कुपोषण न्यूनीकरणमा टेवा पुग्ने बताए। अन्नपूर्णपोष्टबाट