प्रसिद्ध संगीतकार स्वर्गीय अम्बर गुरुङ्ग हामीबाट विदा हुनुभएको झण्डै एक साता हुन लाग्यो । ग्रान्डी हस्पिटलमा उपचाररत उनलाई डाक्टरहरुले कठिन प्रयत्नका बाबजुद बचाउन सकेनन् ।
गुरुङको उपचारमा अहोरात्र खटिएका डाक्टरहरु अहिले पनि उनको हँसिलो अनुहार सम्झिरहेका छन् । गुरुङलाई उपचार गर्दाका क्षण उनीहरुले यसरी सम्झिएः
जतिबेला पनि मुस्कुराइरहनु हुन्थ्यो
डा. अविश अधिकारी, क्यान्सर रोग विशेषज्ञ
‘अम्बर बुवा’ त्यति ठूलो व्यक्तित्व भएर पनि निकै सरल हुनुहुन्थ्यो । सधै मुस्कुराउनुहुन्थ्यो र हाँसिरहनु हुन्थ्यो । सुरुमा ल्याउँदा त उहाँलाई खाना निल्न नै अप्ठेरो भएको थियो । त्यसपछि हामीले इन्डोस्कोपी गर्यौं । इन्डोकोेपी गर्दा इसोभेगस अर्थात मुखबाट पेट जोड्ने पाइपमा क्यान्सर देखियो । जसलाई धेरै मिडियाले नबुझेर आन्द्रा जोड्ने पाइप, कृतिम आन्द्रा भनेर पनि लेखिदिए ।
तर, यर्थाथमा इसोभेगस जसलाई अन्न नली पनि भनिन्छ, त्यसैमा क्यान्सर फैलँदै गएको थियो । जुन सुर्तीजन्य पदार्थको सेवनसित पनि सम्बन्ध राख्छ । शायद उहाँ सुर्ती सेवन पनि गर्नुुहन्थ्यो ।
उक्त नलीमा क्यान्सर भएको थाहा पाएपछि अपरेसन गर्ने कि किमो रेडियसन गर्ने भनेर हामीले परिवारसित छलफल गरेका थियौं । उहाँको परिवार एकदम बुझ्ने र सहयोगी हुनुहुन्थ्यो । उहाँको स्वास्थ्यस्थितिलाई मध्यनजर गरेर अपरेशन गर्नु भन्दा उक्त नलीमा स्टेन्ट हाल्न परिवारले सहमति जनाउनु भयो ।
स्टेन्ट भनेको अन्ननलीको पाइप साँघुरो भएपछि त्यसलाई खुलाउन हालिने एउटा जालीजस्तो पाइप हो । त्यसले अन्ननलीको बाटो खुलाउनुका साथै खाएको खाना भित्र पुर्याउन मद्दत गर्छ ।
त्यही सल्लाह अनुसार परिवारले अम्बर बुवालाई भारतको मेदान्त अस्पतालमा लैजानुभयो । त्यहीँ स्टेन्ट हाल्नु भयो र दुई महिना जति रेडियसन गरेर नेपाल र्फकनु भयो । त्यसपछि एक/दुई महिना त उहाँलाई निकै राम्रो र सजिलो पनि भएको थियो ।
तर, केही समय बित्न नपाउँदै अन्न नलीको प्वाल थुनिएर उहाँलाई वान्ता हुन थाल्यो । पुनः इन्डोस्कोपी गर्दा उक्त प्वाल फेरी थुनिएको पाइयो । त्यसबेला डा. विवेक शर्मा नेतृत्वको टोलीले थुनिएको भागलाई खोलिदिनुभयो । त्यसक्रममा हामीले उक्त क्यान्सर फेरि पलाएको पाइसकेका थियौं । त्यतिबेला नै हामीले उहाँ ठूलै समस्यामा पर्नुभएको बुझिसकेका थियौं ।
हामी परिवारसित नियमित सम्पर्कमा थियौं । केही समस्या भयो कि परिवारजनले फोन गरेर सोध्ने र हामीले पनि बेलाबेला उहाको स्वास्थ्यस्थितिबारे जानकारी लिने काम भइरहेको थियो । एक दिन अचानक त्यहाँबाट रगत बग्न थालेको खबर आयो । त्यसपछि हामीले उहाँलाई भर्ना गर्यौं । रगत दियौं । फेरि इन्डोस्कोपी गरेर हेर्यौं । सबै चीज हेर्दा उहाँको अवस्था सुक्ष्म रुपमा बिग्रदै-बिग्रदै गएको पायौं ।
अन्ननलीको क्यान्सर नराम्रो क्यान्सर मध्येमा पर्दछ । त्यसपछिको नराम्रो क्यान्सर भनेको प्यानक्रियाजको क्यान्सर हो । उक्त क्यान्सरले सिधै आन्द्रासित सम्बन्ध राख्छ ।
बुढो शरीर, कमजोर स्वास्थ्य अवस्था, कमजोर फोक्सोका कारण पनि उहाँलाई क्रमिक रुपमा गाह्रो हुँदै गइरहेको थियो । अन्ततः उहाँ शान्तिपूर्वक प्रस्थान गर्नुभयो । आइसीयुमा हुनुहुन्थ्यो । अप्ठेरो केही भएन । रोगको प्रकृति नै यस्तो थियो कि उहाँलाई बचाउन सक्ने अवस्थै भएन ।
क्यान्सर रोग विशेषज्ञको नाताले भन्नुपर्दा इसोभेगसको क्यान्सरमा विरामीलाई बचाउन एकदमै कठिन हुन्छ । यसको उपचार एकदमै गार्हो हुन्छ । अपरेशन गर्न पनि गार्हो हुन्छ किनभने यो छातिको भित्र र छिटो फैलने खालको हुन्छ । त्यसैले गर्दा पनि निकै अप्ठेरो परिस्थिति थियो । तर, पनि हामीले सक्दो उच्चस्तरीय उपचार दिने कोशिश गर्यौ । अमेरिका नै गएर उपचार गरेको भए पनि उपचारविधि यस्तै नै हुन्थ्यो ।
अम्बर बुवा एकदम सालिन र शान्त हुनुहुुन्थ्यो । अह्म भन्ने भावना उहाँमा एक रत्ति थिएन । उपचारका क्रममा यहाँ आउँदा उहाँलाई क्यान्सर भयो भनेका थिएनौं । तर, सबै कुरा बुझ्नुहुन्थ्यो । ‘तपाईको घाँटीभित्र घाउ भएको छ, निको हुन समय लाग्छ’ भन्ने गथ्र्यौं । त्यसो भन्दा उहाँ फिस्स हाँस्नुहुन्थ्यो । त्यत्ति हो । अरु केही भन्नु हुँदैनथ्यो ।
तर, अन्तिम क्षणको उपचारमा भने म सम्मिलित हुन पाइनँ । डा. राजु पौडेल, डा. विवेक लगायतका आइसियुको टोलीले उहाँलाई बढी ध्यान दिनुभयो । त्यसअघि क्यान्सर लागेको थाहा हुँदा, अस्पताल भर्ना हुँदा, मेदान्त लग्दा, त्यहाँबाट उपचार गरी फर्केर पुनः अस्पतालमा आउँदासम्म मैले हेरेको थिए ।
पीडा नदिइ विदा गर्यौं
डा. राजु पौडेल, न्युरो सर्जन
उहाँलाई पार्किन्सन्सको समस्या त पहिलेदेखि नै थियो । औषधि पनि लिइरहनु भएको थियो । तर, पछिल्लो समय आउँदा उहाँलाई पार्किन्सन्सको खासै समस्या थिएन । लडेर आउनु भएको थियो ।
तर चोटपटक खासै थिएन । अलिअलि बेहोसीको लक्षण भने देखिन्थे । हात खुट्टा काप्ने, छट्पटाहट थियो । निद्रा लाग्दैनथ्यो । तर, औषधि दिएपछि ठीक भइरहनु भएको थियो । पछि अचानक नयाँ समस्या देखियो । इन्डोस्कोपी गर्दा क्यान्सर पाइयो । तर, परिवार बुझ्ने भएका र उहाँ पनि निकै भद्र हुनु भएकोले सम्झाउन समस्या परेन ।
जे भने पनि हाँसिरहनु हुन्थ्यो । मुसुक्क मुस्कुराउनु हुन्थ्यो । उपचारका क्रममा आउँदा पनि उहाँले कहिल्यै आफू ठूलो मान्छे भन्ने भाव नै देखाउनु भएन । ‘यसो गर, उसो गर भनेर पनि कहिल्यै भन्नुभएन । जुन उहाँको निकै ठूलो गुण थियो ।
उनको यही गुणले गर्दा पनि हामीलाई पनि उनको उपचार गर्न निकै सजिलो महसुस भएको थियो । तर, विडम्बना रोग नै यति कडा लाग्यो कि चाहेर पनि बचाउन सक्ने अवस्था थिएन ।
त्यसैले हामीले ‘क्वान्टीटीमा भन्दा क्वालिटी लाइफमा’ बढी ध्यान दियौं । जसरी हुन्छ उनलाई सजिलो बनाउने तर्फ लाग्यौं । त्यसैले अपरेशन नगर्ने भनेरै अन्न नलीमा स्टेन्ट हाल्यौं । तर, पछि स्टेन्ट तल खसेर समस्या पैदा भयो ।
हामीलाई उहाँ त्यति छिटै जानुहोला भन्ने त थिएन । तर, शारीरिक अवस्था कमजोर हुँदै गएको, खानामा अरुची र खाना खान समस्या देखिएकाले केही हदसम्म मोटामोटी अनुमान गरिसकेका थियौं ।
त्यसो त क्यान्सर लागेका व्यक्ति अधिक से अधिक बाँच्ने भनेको पाँच वर्ष हो । तर, अम्बर बुवाको हकमा उहाँसित समय अझै थोरै थियो । त्यसैले हामीले आफुसित भएका दुईवटा विकल्प ‘पीडा दिएर विदा गर्ने वा हाँसीखुशी सजिलै विदा दिने’ मध्ये दोश्रो विकल्प रोज्यौं । त्यसमा परिवारले पनि निकै साथ दिनु भयो ।
हामीले उहालाई सकेसम्म पीडा हुन दिएनौं । सक्दो स्याहार गर्यौं । उहाँले पीडाका बाबजुद आफैंलाई संयमित राखेर परिवारका साथ सुखमय तरिकाले समय व्यतित गर्नुभयो । जुन आफैंमा ठूलो कुरा हो ।
साभारः अनलाइन खबर
Prawash Kumar Shakya । ३१ जेष्ठ २०७३, सोमबार ०५:०१ बजे