रक्तदान बारे मेरो दुई शव्द “रक्तदान/जीवनदान”


सुमन घिमिरे (२९ वर्ष) अर्घाखाँची, हाल : बुटवल-११, रूपन्देही

“रक्तदान महादान” आज भन्दा १० वर्ष अगाडी, आजकै दिन अर्थात् २०७० साल मङ्सिर २९ गते मेरो पहिलो पटक रक्तदान थियो । त्यो दिन मलाई अझै पनि ताजै लाग्छ, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही द्वारा आयोजित, बुटवल-११, देवीनगर चौपारीमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । सोहि कार्यक्रममा पहिलो पटक रक्तदान गर्ने अवसर पाएको थिए । रक्तदान हुनु केही महिना अगाडी भिष्म सरसंग मेरो परिचय भएको थियो र उहाले नै चौपारीमा रक्तदान कार्यक्रम छ आउनु भन्नु भएको थियो ।

मेरो पनि मनमा रक्तदान गर्ने उत्सुकता जाग्यो । मेरो बसाई देवीनगर नजिकै भएकोले, सोही दिन बिहान ८:१५ बजे तिर देवीनगर चौपारी पुगे । रक्तदान कार्यक्रम भइरहेको थियो, भिष्म सर संग भेट भयो र उहाँले कृष्ण चौहान क्षेत्री र लिलाधर लुईटेलसर लगायत अरु सरहरू संग सामान्य परिचय गराईदिनु भयो । पहिलो पटक भएकोले रक्तदान गर्नु अगाडी मन मा केहि डर पनि लागेको थियो । कृष्ण सरले मुस्कुराउदै भन्नु भयो, धेरै निकाल्दैनौ शरीर बाट खेर जाने रगत मात्र निकाल्ने हो । डराउनु पर्दैन, मन मा केहि हुने पो हो कि भन्ने डर भए पनि आट गरेर रक्तदान गर्न कुर्सि मा बसे, र रक्तदान गरे, रक्तदान गरेपछि सबै डर मन बाट हट्यो । रक्तदान स्वास्थ्य मानिसको लागी सामान्य रहेछ भन्ने थप उर्जा थप्यो । त्यसको लगत्तै ३ महिना पुरा हुने बित्तिकै पुन दोस्रो पटक रक्तदान गरे । रक्तदान गरेर मानिस कमजोर हुन्छ भन्ने सुनेको थिए त्यो भ्रम रहेछ । समय अनुकुल नमिलेर बिचका केहि वर्ष रक्तदान लाई निरन्तरता दिन सकेको थिएन । पछि निरन्तरता दिदै गए । नियमित रक्तदान गरेको देक्दा कसै-कसैले भन्ने गर्नुहुन्थो । ‘यस्तो लुरे छौ , माछा मासु पनि खादैनौ, धेरै रक्तदान नगर कमजोर हौला ।’ हुन सक्छ उहाहरुको बुझाई कमजोर हुन सक्छ । रगत बिना हाम्रो जीवन सोच्न पनि सकिदैन । शाहाकारी हुनुहुन्छ भने, मनमा प्रश्न आउन सक्छ । शाहाकारीले पनि रक्तदान गर्न मिल्छ । म पनि शाहाकारी नै हो, म आफ्नो निरन्तरता कायम नै राखेर आजको दिन सम्म आउदा २२औं पटक रक्तदान गरे । रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन ।

स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । नेपालमा २००० सालदेखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ । समाजेवी दयावीरसिंह कंसाकार नेपालका पहिलो रक्तदाता हुन् । नेपालमा बर्सेनि करीब तीन लाख युनिट भन्दा बढी रगत चाहिन्छ तर जहिल्यै अभावका समाचार आइरहेका हुन्छन् । बाढी, पहिरो र भूकम्पको समस्या तथा अनिच्छित गर्भधारण, गर्भपतन र सिजेरियन अप्रेसन पनि पहिलेको तुलनामा बढेकाले रगतको माग आकाशिएको छ । आधुनिक विज्ञानले धेरै प्रगति गरेतापनि कृत्रिम तरिकाले रगत बनाउने सूत्र फेला पारेका छैनन् । ब्लड बैंकहरुले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् । योग्य व्यक्तिहरुले पनि रक्तदान नगर्ने प्रवृतिले गर्दा देशमा रगतको चरम संकट परेको छ । रगतले शरीरभित्र पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, रोगसँग लड्ने एन्टिबडीसँगै कार्वनडाइअक्साइड, युरियाजस्ता विकार ओसार–पोसार गर्छ । रगतको रातो रक्तकणले अक्सिजन तथा कार्वनडाइअक्साइड यताउति गर्न, श्वेत रक्तकणले रोगसँग लड्न र प्लेटलेट्सले रगत जमाउने काम गर्छ ।

 

‘रक्तदान जीवनदान” । “रक्तदान महादान’ यि स्लोगन हामीले बारम्बार सुन्ने गरेका छौं । रक्तदानका लागि प्रेरित गर्न यि वाक्यांशले धेरै भूमिका पनि खेलेका होलान् । तर रक्तदान गर्नु अघि केही कुरामा ध्यान पु¥याउनुपर्छ । स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको, मलेरिया, क्षयरोग, जन्डिस, मधुमेह तथा एचआईभी एड्स नलागेको व्यक्ति रक्तदान गर्न सक्षम हुन्छन् ।

गर्भवती र महिनावारीको समयमा र सुत्केरी भएको छ महिनाभन्दा अगाडि रक्तदान गर्नु हुँदैन । अधिक रक्तस्रावका बिरामी, प्रसूति, मुटु–मस्तिष्क लगायतको शल्यक्रिया र दुर्घटनामा परेकालाई बचाउन रगत अनिवार्य हुन्छ । थालासेमिया, ल्यूकेमिया लगायतको रक्त क्यान्सर, हेमोफिलिया लगायतको रक्त क्यान्सर, हेमोफिलिया र रक्त अल्पताजस्ता समस्यामा तारन्तार रगत चाहिरहन्छ । यस्तोमा हामो एक सहयोगले यस्ता कयौं मानिसको अमूल्य जीवन बच्छ ।

कतिपयले रक्तदान गर्दा कमजोर भइन्छ भन्ने ठान्छन् तर वास्तविकता के हो भने पुरुषको शरीरलाई प्रतिकेजी ७६ एमएल र महिलाको शीररमा प्रतिकेजी ६६ एमएल रगत हुन्छ । तर शरीर सञ्चालनका लागि चाहिने आवश्यक रगत ५० एमएल मात्रै हो । त्यसकारण पुरुष र महिलाको शरीरमा प्रतिकेजी क्रमश २६ र १६ एमएलका दरले रगत बढी हुन्छ । यही बढी भएको रगतमात्रै दान गर्ने हो ।

रक्तदान गर्दा कतिपय मुटुजन्य रोगका समस्या र कतिपय मधुमेहजन्य रोगका समस्या निदान हुने विभिन्न स्वास्थ्य अनुसन्धानले प्रमाणित गरेको छ । रक्तदान गर्दा केही रोगको परीक्षण गरिने हुँदा आफूमा स्वास्थ्यको सतर्कता रहन मद्दत गर्छ । यसरी रक्तदान गर्नु सबैभन्दा ठूलो आत्मसन्तुष्टि हो । यसले कसैको जीवनलाई मात्र नभई उसको घरबार पनि बचाउँछ । परिवारको कोही सदस्यको निधनलाई केही हदसम्म दुर लैजान सक्छ । रक्तदान एउटा दान मात्र होइन, यो त आफू आफ्ना परिवार र आफ्नाहरुको रगत सम्बन्धी बिमाजस्तै हो । देशमा शिक्षित व्यक्तिको संख्या वृद्धि भएपनि अझै रक्तदानको ज्ञान बारेमा पर्याप्त जानकारी छैन । रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रम हटाऔं । रक्तदान गर्नुपूर्व विभिनन स्वास्थ संस्थाबाट रक्तदान सम्बन्धी जानकारी लिन सक्छौं । रक्तदान जीवनदान हो । मन्दिरमा गएर धूप बत्ती बाली लाखौंको फलफूल, प्रसाद चढाएर धर्म हुँदैन । कसैको जीवन बचाउने रक्तदान नै सबैभन्दा ठूलो धर्म हो । हामीले शरीरमा भएको रगत दान नगरेपनि तीन महिनामा त्यो रगत त्यतिकै खेर जान्छ । खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्छ भने किन नगर्ने ? रक्तदान गरेजस्तो पुण्यको काम अरु केही हुँदैन