२६ माघ
पूर्वप्रधानमन्त्री शुसिल कोइरालाको सोमवार राति निधन भएको छ । उनका निजी चिकित्सक डा करबीरनाथ योगीले उनको निधनको कारण स्वास्थ्य खबरपत्रिकाका अनिल न्यौपानेलाई बताएका छन् । कारण उनकै शब्दमाः उहाँलाई पहिले क्यान्सर भएको थियो । त्यसको उपचारपछि फोक्सोमा टिबी (क्षयरोग) देखिएर उपचार गरियो । उहाँलाई फोक्सोकै टिभीले दुःख दिएको थियो । पछिल्लो समय निमोनियाले निकै च्यापेको थियो । त्यसपछि निमोनिया बढेर सिओपिडी (क्रोनिक ब्रोङ्काइटिस)लाई झन् कडा बनायोे । त्यसबाहेक उहाँ पहिलेदेखि नै विभिन्न रोगसँग लडिरहनुभएको थियो । त्यसले कमजोर बनाएको फोक्सोले गम्भिर परिस्थिती धान्न सकेन । क्यान्सरको उपचारमा प्रयोग भएको रेडियसनले उहाँमा फोक्सो खुम्चिने रोग(जसलाई हामी आईएलडी भन्छौं) थियो । यी सबै कारणले उहाँको फोक्सो निकै कमजोर भएको थियो ।
फेरि संक्रमणको सुरुवात
पाँच हप्ता पहिले फेरि उहाँमा फोक्सोको इन्फेक्सन देखियो । तीनटा एन्टिबायोटिक दिएर अवस्था सुध्रिएको थियो । त्यतिबेला पनि निमोनिया भएको थियो तर निको भयो । त्यसपछि अक्सिजन निरन्तर रुपमा दिइरहेका थियौं । हामीले भेटघाट कम गर्नुहोस् नत्र इन्फेक्सन हुन सक्छ भनेर सचेत गराइरहेका थियौं । तर, उहाँले मान्छे भेट्ने मात्रै होइन, कार्यक्रममा समेत हिँड्न सुरु गर्नुभयो ।
यसपल्ट भने उहाँमा समस्याको शुरुवात रुघाबाट भएको हो । नाक बन्द हुने, हाछ्उँ आउने, नाकबाट पानी बग्नेलगायत समस्या देखियो । यसरी सुरुवात भएको ज्वरोले स्वास्थ्य अवस्था थप जटिल बनायो । तीन दिनअघि फेरि एन्टिबायोटिक दिइयो । उहाँले दुई दिनअघि खाना खान पनि छाड्नुभयो । त्यसपछि परिस्थिति झन् खराब भयो । त्यसपछि थप तीन खालको एन्टिबायोटिक चलाएका थियौं ।
बुक थियो टिचिङको बेड नं ६०१
अवस्था जटिल हुँदै जान थालेको आशंका भएपछि हिजो (सोमवार) विहान मैले त्रिवी शिक्षण अस्पताल (टिचिङ)को बेड नं. ६०१ बुक गराएँ । अस्ति –आइतवार)देखि केही नखाएको मान्छेले हिजो विहान फेरि एक कचौरा जाउलो खानुभएछ । दिउसो शशांक दाई (शशांक कोइराला)लगायत हामी त्यही बस्यौं । दिउसो फेरि दुई कचौरा जाउलो खानुभयो । खान थालिहाल्नुभयो, अवस्था सुधिन थालेको छ । किन अस्पताल लैजानु ? भनेर सल्लाह भयो । त्यसपछि मैले अस्पतालको दिउसो चार बजेतिर बेड बुकिङ क्यान्सिल गरेको हुँ ।
बेलुका चार बजेतिर आफ्नो अरु काममा निस्किएँ र त्यतैबाट आठ बजेतिर घर फर्किएको थिएँ । त्यतिबेला फेरि फोन आयो, ‘अलि गाह्रो भयो भन्नुहुन्छ, डाक्टरसाप आउने हो कि ।’ मेरो गाडीमा तेल सकिएको रहेछ । गाडी मगाएर ९ बजे त्यहाँ पुगें ।
पुग्दा उहाँ ठिकै हुनुहुन्थ्यो । अवस्था यसरी प्रतिकूल होला भन्ने सोचाइसम्म पनि भएन । ब्लडप्रेसर राम्रै थियो, अरु अवस्था पनि खासै विग्रिएको थिएन । मैले नआक्तिन आग्रह गरेर करिव साढे १० बजेतिर घर फर्किएँ । फेरि सवा ११ बजेतिर फोन अयो, ‘स्याचुुरेसन घटेर ७५ पुग्यो के गर्ने ?’ मैले फोनमै अस्किजन बढाउन भनें । फेरि हतारिँदै गए । सवा ११ बजेतिर म पुग्दा ब्लडप्रेसर लो भएको थियो । उहाँ छटपटि रहनु भएको थियो । अवस्था हेर्दा खाने एक्टिबायोटिकले नछोएजस्तो देखियो । इन्जेक्सन लगाउने योजना बन्यो । टिचिङबाट मैले नै इन्जेक्सन लिएर गएर लगाइयो । दिउसो नै ‘थप नर्स र डाक्टर खटाएर एन्टिबायोटिक दिने कि ?’ भन्ने कुरापनि भएको हो । तर, अवस्था सुध्रिएकै थियो भनेर हेरिएको हो । दुई कचौरा जाउलो खाएको घटनाले हामीलाई ‘कन्फ्यूजन’ गरायो ।
राति मैले टिचिङबाट इन्जेक्सन लिएर गएँ । लगाएँ । आफैले अब्जरवेसन गरें । अवस्था झनै विग्रदै गयो । यही बिचमा एम्बुलेन्समा अस्पताल लैजाने कि भनेर सोचाई पनि बन्यो । एम्बुलेन्स बोलाउने प्रयास गर्दागर्दै उहाँलाई जोगाउन सकिएन ।
देखिएका मुख्य चार रोग
उहाँमा मुख्यतः फोक्सोका चार रोग थिए । टिबी (क्षयरोग), क्यान्सर, सिओपिडी (कडा दम) र निमोनिया थिए । यसरी फोक्सो खुम्चिने तीनटा र फोक्सो फुल्ने एउटा रोग थिए । सबै रोग श्वाशप्रस्वाससँग सम्बन्धित भएकाले नै उहाँमा पछिल्लो समय श्वासप्रस्वास समस्याले थलाएको थियो ।
साभारः स्वास्थखबर पत्रिका
Milan Shrestha । २६ माघ २०७२, मंगलवार १५:३६ बजे