सञ्चार क्षेत्रबाट नियमित रक्तदानमा बाँकेको जनमत अर्ध साप्ताहिक



१७ मंसीर, नेपालगन्ज । नियमित रक्तदान कार्यक्रम गर्दै आएको जनमत अर्ध साप्ताहिकले आज ५८औं श्रृङ्खलाको रक्तदान कार्यक्रम गरेको छ ।

यसपटक जनमत अर्ध साप्ताहिक र ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि.  संयुक्त आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ११ महिला सहित ५२ जनाले रक्तदान गरेका छन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि.का अध्यक्ष महादेव सिंह ठकुरी र जनमत अर्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम शुरु गरिएको थियो । सो अवसरमा “त्रैमासिक जनमत रक्तदान कार्यक्रम”मा विगत केही समयदेखि सहकार्य गर्दै अतुलनीय योगदान गरी महान अभियानमा सद्भाव प्रदर्शन गर्ने नेपालगन्ज–१८, बाँके स्थित टिभिएस मोटरसाइकल कम्पनीका अधिकृत बिक्रेता ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि. लाई मानव कल्याणकारी कार्यको उच्च कदर गर्दै प्रशंसा पत्र प्रदान गरिएको छ ।

उक्त प्रशंसा पत्र प्रा.लि.का अध्यक्ष महादेव सिंह ठकुरी र प्रवन्धक रण बहादुर शाहीलाई नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, जनमत अर्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुके, राप्तीसोनारी गाउँपालिका वार्ड नं.६ का वडाध्यक्ष लवराज खरेल, नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारी उपशाखाकी अध्यक्ष दिव्या गुरुङ, नेपालगन्ज मेडिकल कलेज NHC-NGMC की अध्यक्ष डा. सिमरन श्रेष्ठले हस्तान्तरण गर्नु भएको थियो ।

जनमतको रजत वर्ष–२०६३ देखि “रक्तदान जीवनदान” को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित “त्रैमासिक रक्तदान कार्यक्रम”को ५८ औं श्रृङ्खलामा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा सोम प्रसाद सापकोटा, होमराज गिरी, प्रशान्त तिवारी, केशर सिंह डाँगीले बीरेन्द्र योगीले प्राविधिकमा र अन्यमा निखिल जायसवालले सहयोग गर्नु भएको थियो ।

वि.सं. २०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा ५८औं श्रृङ्खलासम्म करीब तीन हजार पिन्ट भन्दा बढी स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेका छन् । स्वाथ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुनसक्ने आइरन ओभर लोड कम हुने र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना कम हुन्छ । त्यसैगरि रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली पुनर्ताजगी हुन्छ र रक्तदान गरे जति रगतको मात्रा ४ साता भित्र तयार हुने हुँदा हरेक तीन महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्फुर्ती आउने गर्छ ।

सो कार्यक्रममा नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके अध्यक्ष दिला शाह र सल्लाहकार पूर्णलाल चुके र प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले टि सर्ट प्रदान गर्नुभएको थियो । सो कार्यक्रममा कार्यक्रम संयोजक पवन जायसवाल, नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मन मोहन वर्मा, नेपाल स्वयम्सेवी रक्तदाता समाज राप्ती सोनारीकी अध्यक्ष दिव्या गुरुङ्ग, दैनिक नेपालगन्जका सम्पादक झलक गैरे, टिभिएस मोटरसाइकल कम्पनीका इन्जीनीयर महेश केसी लगायतको सहभागिता रहेको थियो ।