
२२ फागुन, सल्यान । सन् २०२३ सम्ममा दादुरा तथा रुबेला रोग निवारण गर्ने उद्देश्यका साथ चैत्र देखी सल्यानमा पनि खोप अभियान सञ्चालन हुने भएको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानले दादुरा रुबेला खोप अभियान तथा नियमित खोप सुदृढिकरण सम्बन्धी खोप कार्यकर्ताहरुलाई अभिमुखिकरण गरेको छ भने जिल्लाका स्थानीय तहहरुले पनि अभियान बारे अभिमुखिकरण गरिरहेका छन् । जिल्लाको कपुरकोट गाउँपालिकामा पनि विहिबार जनप्रतिनिधी तथा स्वास्थ्यकर्मीहरुवीच दादुरा रुबेला खोप बारे अभिमुखीकरण सम्पन्न भएको छ ।
आगामी चैत्र ८ गते देखी १२ गते सम्म खोप कार्यक्रम सञ्चालन हुने जानकारि दिदै स्वास्थ्य संयोजक अरुण दाहालले त्यस अघि कपुरकोटका ६ वटै वडाहरुमा अभिमुखीकरण र स्वयमसेवकहरुलाई तालिम सञ्चालन गरिने बताउनुभयो । आज विहिबारको अभिमुखीकरण कार्यक्रममा कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले बालमृत्युदर शुन्य बनाउनका लागि दादुरा र रुबेला खोप लगाउनुपर्नेमा बताउँदै उहाँले यस अभियानलाई सफल पार्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य शाखाले दादुरा/रुबेला भाइरसको संक्रमण मानिसमा मात्र सर्ने र संक्रमण भएको व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा निस्कने छिटाले एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्ने जानकारि गराएको थियो । यी रोगहरु सामान्यतया वालवालिकालाई लाग्ने जनाउँदै स्वास्थ्य संयोजक अरुण दाहालले ९ महिना देखी ५ वर्ष मुनीका सबै वालवालिकालाई खोप लगाउनुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य क्षेत्रको समिक्षा सम्पन्न
यसैविच कपुरकोट गाउँपालिका स्तरिय स्वास्थ्य क्षेत्रको प्रथम चौमासिक समिक्षा पनि विहिबार सम्पन्न भएको छ । गाउँपालिकाका सबै स्वास्थ्य चौकी तथा स्वास्थ्य ईकाइको स्वास्थ्य क्षेत्रमा पहिलो चौमासिकमा प्रगतीको अवस्था र आगामी दिनमा सुधार गर्नुपर्ने पक्षको बारेमा समिक्षा गरिएको हो । समिक्षामा स्वास्थ्य क्षेत्रमा भएको प्रगती र अगामी कार्ययोजनाका बारेमा छलफल गरिएको थियो ।
चालु बर्षमा भएका खोप, पोषण, सुरक्षित मातृत्व परिवार नियोजना, क्षयरोग, कुष्ठरोग लागायतका कार्यक्रमको सुचकको बारेमा छलफल गरिएको थियो ।
समग्र गाउँपालिकाको स्वास्थ्य क्षेत्रको अवस्थाको बारेमा स्वास्थ्य संयोजक अरुण दाहालले प्रस्तुती गरेको थिए भने धनवाङ स्वास्थ्य चौकीका ईन्चार्ज देवेन्द्र कुमार सेन, रीम स्वास्थ्य चौकीका ईन्चार्ज टिकाराम न्यौपाने, सिनवाङ स्वास्थ्य चौकीका ईन्चार्ज मुना आचार्य, गर्पा स्वास्थ्य चौकीका ईन्चार्ज सुवाश हमालले आआफ्नो स्वास्थ्य चौकीबाट प्रदान भइरहेको स्वास्थ्य सेवाको बारेमा प्रस्तुती राखेका थिए ।
Milan Shrestha । २२ फाल्गुन २०७६, बिहीबार १९:३४ बजे