
आज फागुन १ अर्थात लहलहाउदो धानको बालीमा पुँजीवादको छाडा घोडा बेलगाम दौडिरहेको विश्व परिवेशमा सगरमाथाको देशबाट संसारका श्रमजीवी जन्तालाई आशाको संचार गर्दै नेपाल दुई ठुला ढुंगाबिचको दबिएको तरुल होइन बल्कि अर्धसामन्ती र अर्धऔपनिबेशिकताले जकडिएर रहेको नेपाल र नेपाली जनतालाई मुक्त गर्ने ध्यय बोकेका संसारकै उच्च शिर सगरमाथाको देशमा बसोबास गरिरहेका बहादुर साहसी र क्रान्तिकारी मानिसहरु दुई महाशक्ति राष्ट्रबिचका डाईनामाइट हुन भन्ने कुराको सावित गर्दै र विश्व निल्नका लागि फंणा फिजाईरहेको साम्राज्यवादलाई चुनौती दिदै नेपाली भुमीमा बाघ झैं गर्जेको महान जनयुद्धले आफ्नो यात्राको श्रीगणेश गरेको दिन अर्थात जनयुद्ध दिवस।
यसलेआफ्नो यात्राको विभिन्न आरोह अबरोह पार गर्दै २३ औं वसन्त पार गरेर २४ औं बार्षिकोत्सवमा प्रवेश गरेको छ।यसलाई फर्केर नियाल्दा जसरी जनयुद्ध सैशवकाल हुँदै ताते-ताते गरिरहेको थियो र आफ्नो तोतेबोली फुटालिरहेको थियोे।मानिसहरू विभिन्न तरिकाले अन्धाहरुले हात्तीको वर्णन गरेको कथा झैं ब्याख्या र अपब्याख्या गरिरहेका थिए।एकाध जाली,फटाहा र गाँउका छोटे सामन्त बाहेक सबै सर्बसाधारण यसको सकारात्मक भावहरु प्रकट गरिरहेका थिए।
तत्कालीन सरकारलाई भने संबेदनसिल अंगको पिलो झैं भैरहेको थियो ।गाउँ -गाउँबाट मानिसहरू हराउने कार्य बढिरहेको थियो। कसैले कालीपारे भए भन्थे कसैले शहरतिर पढ्न,जागिर खान र ब्यापार गर्नगएको सुनाउथे भने कसैले मनमिलेर भागी बिहे गरे संतान दरसंतानको ईज्जत् फाले भन्थे । तर तिनीहरु छापामार योद्धा बनेर राती आफ्नो सिकार गर्न निस्केको हुचील ( एकप्रकारको चरा ) झैं क.बन्दना,क.जीक.सुशील,क.बिजय,क.मुस्कान,क.अनार,क.फिल्टर,क.तुफान,क.विरोध,क.जिज्ञासा ……………….र क.जलजला बनेर निक्लन्थे र राती-राती लालटिनको प्रकाशमा नयाँ ब्याबस्थाका र मुक्तिका सपना मिसिएका रुसि र चिनियाँ क्रान्तिका लामा-लामा कथा सुनाउथे ।
क्रान्तिकारी आशा र विस्वासले भरिएका गीत,ओपेरा र नाटकहरु प्रस्तुत गर्थे अनि भरुवा बन्दुक,घंगारुका लठ्ठी,शिरमा रातो कफन र कम्मरमा खुकुरी भिरेका नौजवान युवा युवतिहरु कार्यक्रमको पहरा दिरहेकाहुन्थे । कहिलेकाहिँ बिकृती र बिसंगतीमा लागेकाहरुलाई जनताको माझमा ल्याएर जनकारबाहीहरु चलाउथे अनि जाली तमसुक र फर्जी भर्पाँईहरु जलाएर मै हुँ भन्ने मुखिया र सामन्तको सातो उडाईदिन्थे।घामपानीमा परेको असिना झैं रातै भित्र बिलोप हुन्थे र हप्ता पन्ध्र दिन पछि फेरि झुल्किन्थे।
धरती हल्लाउदै आउने भुँइचालो झैँ उनीहरुको आउने र जानेको ठेगान हुदैनथ्यो । राती आएर हाम्रै घरको पाँडमा सुतेको नि पत्तै हुँदैनथ्यो । राता-राता झण्डा,पर्चा,पम्पलेट्ले पुरैगाउँ छ्पक्कै पारेका हुन्थे। यिनै समाज परिवर्तनका नौला -नौला कार्यले मेरो किशोर मस्तिष्कलाई पनि स्पर्श गरिरहेको थियोे र क्रान्तिको रापले तानिरहेको थियोे। राती आउने क्रान्तिकारीहरु मेरा दौंतरी बनिरहेका थिए।उनिहरुसँग नङ र मासु अनि माछा र पानीको सम्बन्ध बनिरहेको थियो। उता सरकारी दमन,हत्या,आतंक र धरपकड दिनदिनै बढिरहेको थियोे। घट्टाला,गोठाला,खेताला र स्कुले बालबालिकाहरु दोहोरो भिडन्त र आतंककारीको नाममा मारिदैथिए।
जनताहरु भुसको आगोझैं बलिरहेका थिए। रोल्पा,रुकुम,सल्यान,जाजरकोट र कालिकोट लगाएत देशका अधिकांश भु-भागहरु रणमैदान बनिरहेका थिए। जति दमन गर्यो त्यति क्रान्तिको ज्वाला दन्किरहेको थियो।समय २०५७ साल मंसिर ८ गतेको रात थियो, मेरो खरले छोएको दुई तलाको ढुङ्गाको घरको भित्री कोठाको अगेनाको पल्लो छेउमा सिमली कम्बलमा लुट्पुटिएर बा-आमा र भाइ बैनि मस्तसँग निदाईरहेका थिए। म भने सुतेको बाहाना गरेर अनेकौं रंगीचंगी सपनाको वायुपंखी सयर गरिरहेको थिंए।कारण मैले कमरेडहरुलाई एउटा यात्री थपिने र मुक्तिको मार्गमा समाहित हुने वाचा गरिसकेको थिँए। यस्तै रातीको एक बजेको हुँदोहो। जुरुक्क उठेँ,कपडा लगाएँ र बाघको चालमा घरबाट मेरो हजार माईलको त्यो लामो यात्राको प्रारम्भ गरें त्यो अँधेरी रातमा आकाशमा ताराहरु चम्किरहेका थिए,लाग्यो यो कालो रातलाई चिर्नका लागि र सुनौलो बिहानिको रचना गर्नको लागि यी ताराहरु आफ्नो बलिदानको लागि तछाडमछाड गरिरहेका छन।अनेक कल्पनाहरु गर्दै भनेको सम्पर्क स्थानमा पुगेँ। क.आँशुसंगम लगाएतका साथीहरू जागाराम हुनुहुन्थ्यो। मेरो आगमनले साथिहरु मुस्कुराउनु भयो, सबैले अंकमाल गर्नुभयो र बधाई दिनुभयो र भन्नुभयो”अन्धकार चिर्ने हजार तारा जस्तै तपाईंपनि एउटा तारा बन्नुपर्नेछ।” अनि मलाई भुपी सेरचनको कविताको हरफको यादभयो”हुदैन बिहान मिर्मिरेमा तारा झरेर नगए!बन्दैन देश दुईचार सपूत मरेर नगए!!”तरपनिआमा बाबा र भाईबैनिको साथ छोडेर यो मृत्युमार्गमा लम्किदा अमिलो र धमिलो मन भैरहेको थियोे। म बा-आमाले गर्भमा प्यारो मानेको छोरो थिएँ।
म भन्दा अगाडि मेरा चारजना दिदी र दाईहरु अज्ञात रोगको सिकार भएका थिए । बा-आमालाई संतान शोकले थला पारेको वेला म नै पाँचौ तर जीवित सन्तानको रुपमा पहिलो थिएं। हाम्रो संतानमा अलि पढेकोपनि मनै पहिलो भएकोले सरकारी जागिर खुवाउने सबैको सामुहिक प्रयत्न थियो।तर मेरा र मेरा परिवारका नीजि सपनाहरुको सामुहिक चिहान खन्दै यो महासमरको कठिन तर गर्विलो यात्रा नै महान र सुनौलो लागेको थियोे।मेरो यो निर्णय फगत लहड मात्रै थिएन मेरै आँखा अगाडि भैरहेका स्थानीय थिचोमिचो,जालझेल,शोषण-दमन,अन्याय-अत्याचार,लुटपाट र रोग-भोकअनि अशिक्षाको कालो बादल एकातिर थियो भने अर्कोतिर यसैका विरुद्धको बिद्रोह र मुक्ति।यसरी म जस्तै मेरा हजारौं दौँतरीहरुले आफ्नो नीजि सपनालाई तिलान्जली दिएर देश र जनताको मुक्तिको खातीर आफ्नो अमुल्य जीवनको आहुती दिदैअजर-अमर भए।समय घर्कीदै गयो मुक्तियुद्ध दिन दो गुना रात चौगुना बिकासको नयाँ-नयाँ गतीमा बढ्दै गयो।सयौं जनजागरण अभियानहरु सन्चालन हुँदैगए।जनयुद्ध चैतको डडेलोझैं सफलताको शिखर चुम्दै अगाडि बढ्दै गयो ।
जनसत्ता,जनमुक्ति सेना,जनादलत निर्माण गर्दै देशको असी प्रतिशत भु-भागमा कब्जा जमाएर केन्द्रिय सत्ता कब्जाको लागि ‘ढाडमा टेकेर टाउकोमा हान्ने’अन्तिम योजना सहित अगाडि बढदै थियोे।हजारौं सहिद तथा वेपत्ताभए अथवा अन्धकार चिर्नको लागि ताराहरुको बलिदानभयो।अपसोच!चराहरु चिर्बिराउन नपाउँदै,भालेले अन्तिम प्रहर हाल्न नपाउँदै,कालो अन्धकार चिरेर रक्तिम उषा खुल्न नपाउँदै घात भएको छ र क्रान्ति नायक लरबराएको छ।जनताको मुक्तियुद्ध देशीविदेशी षड्यन्त्रको सिकार भएर अर्धमृत भएको छ तरपनि जनयुद्ध आफ्नो सापेक्षतामा जारी नै छ। केही मान्छेहरु दलाल ब्याबस्था सामु आत्मसमर्पण गर्दै र जीवनको भिख माग्दै जनयुद्धलाई सम्पुर्ण रुपले बिसर्जन गरेर कथित मुर्दा शान्तिको राग अलापीरहेकाछन् भने अर्कोतिर क्रान्तिकारीहरु अधुरो र अपुरो क्रान्तिलाई पूरा गर्ने अठोटकासाथ नयाँ एकीकृत जनक्रान्तिको कार्यदिशाको विकास गर्दै बैज्ञानिक समाजबाद प्राप्तिको सातु सामलको जोहो गरिरहेकाछ्न। प्रारम्भका दसबर्ष बिशेष उथलपुथल, अबिस्मरणिय र विश्वका श्रमजीवी जन्तालाई खुशिको संचार प्रवाह गर्दै सगरमाथाको चुचुरोबाट सुर्यको दिपझैं चम्किरहेको थियोे।
अपसोच उक्त चम्किरहेको सुर्यको राप र तापबाट भयभित साम्राज्यवाद र उसका किटाणुबाट संक्रमितहरुले सुनौलो प्रकाशलाई छेक्न कृत्रिम बादल मडारिरहेकाछ्न र नेपाली सर्बहारा बर्गले मुक्तिको लागि सजाएका सपनाका बिम्बहरु गर्ल्यामगुर्लुम पारिएकाछन् ।क्रान्ति फेरिपनि काला बादलका विरुद्ध लड्दै हराभरा बर्षाकासाथ धर्तिमा नयाँ घामका किरण बनि उदाईरहेकोछ। यो महान जनयुद्ध,सामन्ती राजतन्त्रात्मक संसदीय ब्याबस्थाको लागि यमराज थियो भने नेपाली जन्ताको पुनर्जीवनको अमृत।यसको भ्रुण हत्या गर्न न्वारान देखिको बललगाएरअसफल भएका प्रतिक्रियावादीहरु नयाँ रुप र रङ्गसहित आजपनि कृयाशिल छन् र चम्चमाउदै गरेको क्रान्तिको मुनालाई निमोठ्ने कुचेस्टा गरिरहेका छन्।जनयुद्धका सुत्राधारहरुलाई नैआफ्नो जुठोपुरो चटाएर कसाईको भुमिकामा जागिरे बनाइएकाछ्न।
एउटा इतिहासको मजाक जसले जनयुद्धलाई गर्भमै निमोठेर हत्या गर्न चाहन्थे आज उनै जनयुद्धको जयजयकार गरिरहेका छ्न। उता सहिदले छोडेका अधुरा डोबहरु पछ्याउँदै सर्वहारा बर्गका महान नेता कार्ल माक्र्सले भनेझैं जनक्रान्तीले श्रमजीवी बर्गमा आफ्नो भौतिक हतियार प्राप्त गर्दै जोजल्यामान भएरपुनःजागीरहेकोछ र आगोको फिलङ्गो बनिरहेको छ।अन्तिम मुक्ति नभएसम्म जागीरहने महान प्रण गरेकोछ। दलाल पुँजीवादी संसदीय ब्याबस्थामा संक्रमण गर्न होइन,नौलो जनवादी ब्याबस्था प्राप्तिका खातिर कोरिएको हजार माईलको सुन्दर तर कठिन यात्रा तय गरेको दिन’फागुन १ जनयुद्ध दिवस’को २४औं वार्षिकोत्सबको अबसरमा महान शहिदका आफन्तजन,घाइते अपाङ्ग योद्धा,जनयुद्धका महान यात्रीहरु,बन्दी साथीहरु, बैज्ञानिक समाजवाद प्राप्तिको लागि अहोरात्र खटिरहेका एकीकृत जनक्रान्तीका यात्रीहरु र सम्पुर्ण देश विदेशमा रहनुभएका आम जनसमुदायमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।



Milan Shrestha । १ फाल्गुन २०७५, बुधबार १२:१७ बजे