-यादव देवकोटा
१३ माघ,
यताका दिनमा नयाँ शक्तिको चर्चाले आकार पाउँदै गरेको देखिन्छ । हरिबोल गजुरेलको नेतृत्वमा मोहनबिक्रम सिंहको पार्टीबाट जिल्ला कमिटी सदस्यका रुपमा एकताकेन्द्रमा मिसिन आएका बाबुराम भट्टराईले बितेको २५ बर्षमा दशौं हजार मानिसको बलिदान, नेपाली समाजको अतुलनीय योगदानको बलमा पटकपटक सांसद, मन्त्री र देशको सर्बोच्च कार्यकारी प्रधानमन्त्री प्राप्त गरे ।
राजनीतिमा लागेर प्राप्त हुनसक्ने राज्यको तमाम पदहरु लिइसकेपछि उनले कम्युनिष्ट आन्दोलनप्रति बितृष्णा देखाउँदै खडा गरेको ‘नयाँ शक्ति’ नामको पार्टीमा समावेश दुई तिहाइ बढी अनुहारहरु देशको सचिव, प्रशासक, प्रहरी संगठनको माथिल्लो तहका हाकिम भइसकेकाहरु छन् ।
चारजना पूर्व सचिव, प्रहरीका तीन थान पूर्वएआइजी र पूर्वमन्त्री केशवमान शाक्य डा. भट्टराई प्रधानमन्त्री हुँदा एकसाथ काम गरेका पात्रहरु हुन् । भन्नु परेन, ती तमाम पात्रहरुको जम्माजम्मी योग्यतामा उभिएको देशको हालत जम्माजम्मी यही हो ।
पछिल्लो समय नेपाली समाज र राष्ट्रले भोगिरहेको समस्या र नेपाली जनताले युगौंदेखि बेहोरिरहेको अब्यवस्था, भ्रष्टाचार, कुशासन र विकासको क्षेत्रमा भएको शुन्य प्रायः गतिविधिले निश्चय नै समाजको बृहत्तर हिस्सा अस्तितवमा रहेका राजनीतिक पार्टीहरुप्रति निराश छन् । समयक्रमका तमाम घटनाहरुले मौजुद पार्टीहरुले नेपाली समाजमा विद्यमान अन्तरबिरोध र संकटलाई सम्बोधन गर्ने र समाजलाई अगाडी बढाउने भूमिका निर्वाह गर्न सक्दैनन् भन्ने प्रष्ट भएको छ । तिनले विकासको गति अघि बढाउँछन् र देशलाई विकसित बनाउँछन् भन्नेमा झिनो आशा मात्रै बाँकी छ । तर, आज विद्यमान तमाम समस्याहरुको समाधान नयाँ-नयाँ नाम राखेर खोलिने पार्टीको होइन ।
पूरानो सामाजिक स्कुलिङ्ग, राजनीतिक चरित्र, व्यावसायिक तजबिजी, ब्यवस्थापकीय प्रणालीको क्रमभङ्गता र नयाँ क्रमको शुरुवात वेगर पार्टीका नाममा जतिसुकै मुखुण्डो भिराएर नयाँ नयाँ नाम दिए पनि त्यसले समाजलाई क्षणिक भ्रममा राख्न सक्छ । केही समय मानिसलाई भ्रमित बनाउन पनि सक्ला तर समाजको बिकृत बर्तमानलाई कत्ति पनि सुधारेर अगाडि लैजान सक्दैन ।
प्रश्न उठ्छ नयाँ भनेको के हो ? हामीले कुनै यूटोपियाबाट मानिस ल्याएर या अन्य कुनै देशबाट मान्छे ल्याएर -भट्टराईले देशको नागरिकता नालीमा फालेर विदेशी नागरिकता लिने लाममा लागेका भूतपूर्व नेपालीलाई पनि पार्टीमा राखेकै छन् क्यार) नयाँ अनुहारका मानिस राखेर नयाँ पार्टी बनाउने त ? होइन ।
जतिसुकै पार्टी बनाए पनि या जुन नाम राखेर पार्टी गठन गरिए पनि जाने यही समाजका मानिसहरु हुन् । यही सामाजिक स्कुलिङ्गमा हुर्किएका, आफु हुर्किएको समाजको चरित्र र चेतना बोकेका मानिसहरु नै जाने हुन् । नेपाली समाजको आजको चेतना, संस्कृति र चरित्र नफेरि आजको राजनीतिक नेतृत्वको समस्या या नागरिक पलायनको समस्या या भ्रष्टाचार र बेथितिको समस्याबाट यो देशलाई कसैले जादुको छडी घुमाएर मुक्त गरिदिने छैन । समाजको तमाम चरित्र र संस्कार बोकेर हुर्किएको मानिस पार्टी, प्रशासन, समाज सेवा जहाँ गए पनि आफ्नो चरित्र बोकेर जान्छ । संस्कार बोकेर जान्छ ।
राज्यव्यवस्था र त्यहाँको नियमले उसलाई अलिकति नियन्त्रण या फुक्का छोडिदिन सक्छ । तर, ब्यक्ति त उही हुन्छ । अस्पतालमा लाम मिच्न अग्रसर हुने । अझ यसो भनौं पालोमा बसेका अरु मानिसको पालो मिचेर अघि जचाउन पाए आफुलाई अरुभन्दा बिशिष्ट ठान्ने । टेबुलमुनिबाट रकम लिएर, दिएर भए पनि हुने-नहुने काम गर्नुपर्ने, गराउनैपर्ने । जसरी हुन्छ, पैसा कमाउनुपर्ने । आफुलाई बिहान-बेलुका तातो पानी दिएर घरमा खेतिपाती गरेर बसेको छोराछोरी प्रगति नै गर्न नसकेका लाग्ने । विदेशमा गएर बर्षको यसो एकदुई चोटी दश-बीस हजार पैसा फाल्दिने छोराछोरी उन्नति गरेका नमूना मानिने । सरकारी जागिर खाएर गैह्रसरकारी काम गर्ने । प्राध्यापकहरु एनजिओ, आइएनजिओमा कन्सल्टेन्सी गर्ने । यो सामाजिक स्कुलिङ्ग नफेरी, यही स्कुलिङ्गमा हुर्किएको मानिस जहाँ गए पनि उसबाट तपाईले के पाउनुहुन्छ ? धनी बन्न, अगाडि बढ्न उसले गर्ने तमाम जायज, नाजायज कर्महरुको भुक्तमान ।
डेरा मात्रै फेरिरहेर दुःख फेरिन्न । कहिलेकाहीँ डेरामा पनि समस्या हुनसक्छ । तर, कहिलेकाहीँ समस्या हामीमा पनि हुन सक्छ । नाम मात्रै फेरेर या फरक नाम भएको पार्टी मात्रै खोलेर नेपाली समाजको आजको मौजुद समस्याको समाधान हुन सक्दैन । नयाँ शक्ति भन्ने पार्टीको नाम राखेर त्यसमा लागेपछि नयाँ भइने हो ? अझै नयाँ शक्ति भनेको कुनै पार्टको नाम हो ? या नयाँ संस्कार, चरित्र, विचार, कार्यक्रम भएका मानिसहरुको नयाँ अभियान हो ? जस्तो कि कुनै कम्युनिष्ट नामको होर्डिङ्गबोर्ड टाँसेर बसेका पार्टीहरुको सदस्यता लिनासाथ कसैले आफुलाई कम्युनिष्ट भन्छ । जसरी आज हामी कमरेड ल्यार्केल लामा, या कमरेड राज्यलक्ष्मी गोल्छाहरुको नाम लिन सक्छौं ।
अर्कोतिर राज्यबाट प्राप्त हुन सक्ने सबैखाले लाभको पद हासिल गरिसकेका पूर्वप्रधानमन्त्री, पूर्वसचिवहरु, पूर्वप्रशासक, प्रहरी हाकिमहरु आज किन नेपाली समाजलाई भ्रम बेच्न लालायित भएका हुन् बुझ्न सकिन्छ । अन्य पूर्वप्रधानमन्त्री या सचिव, प्रशासकहरुले लिइरहेको राज्यको सुविधा उसैगरी लिइरहेकाहरु कुन अर्थमा अरुभन्दा भिन्न संस्कार, जगमा नयाँको लैबरी फलाक्न खोज्नुभएको हो ? अरुभन्दा उहाँहरु कसरी नयाँ हो ? संस्कार, संस्कृति र चरित्रमा समेत उहाँहरु अरुभन्दा कसरी नयाँ या फरक हो ?
राज्यबाट प्राप्त हुने तमाम सुविधा खाने, असुल्ने मामलामा अरु बराबर हुने र जनतालाई भ्रम बेच्ने कुरामा भ्रमको च्यादर ओढ्दैमा कुनै अमूक मानिस कसरी अरुभन्दा भिन्न हुन्छ ? उसको स्कुलिङ्ग र अरुको स्कुलिङ्गमा मानिसलाई भ्रममा जकड्ने बाहेक के कुरामा कसरी भिन्नता हो ? के नयाँ शक्ति भनेको एक ठाउँबाट, एक तरिकाबाट प्राप्त हुन सक्ने सबै सुविधाहरु प्राप्त गरिसकेपछि थप लाभ हासिल गर्न भ्रमको नयाँ भर्याङ्ग ठड्याउने नाट्यमञ्च हो ? राज्यबाट विशष्ट पेन्सन र सुविधा लिइरहेको मानिससँग राजनीतिकरुपमै पनि उही पार्टीको अर्को साधारण श्रमजीवि या कार्यकर्ताले कसरी समान रुपमा प्रतिस्पर्धा गर्न सक्छ ?
राज्यबाट पेन्सन लिने र एउटा अमूक पार्टीको राजनीति गर्ने हामीले कस्तो नयाँ संस्कारको फूलवारी गोडमेल गर्न खोजेका हौं ?
आज देखिएको नयाँ र पुरानो भन्ने मामलामा पनि एउटा डरलाग्दो सवाल हामी सामु उभिएको छ । बजारमा दुईथरि औषधि ब्यापारी छन् । एउटा म्याद सकिइसकेको लेवल भएको आउटडेटेड औषधि बेचिरहेको छ । भन्छ-खरिद्नोस्, स्वास्थ्य लाभ गर्नुहोस् । अर्को ब्यापारी त्यही पुरानो म्याद सकिएको औषधिको पुरानो लेबलिङ्ग उप्काउँछ र त्यसमा नयाँ मिति भएको लेवलिङ्ग टाँस्छ र ग्राहकलाई भन्छ-पुरानोले म्याद सकिएको लेवल भएको औषधि बेचिरहेछ ।
अब यहाँ जे जसो गरे पनि उपभोक्ताले पाउने उही म्याद सकिएको औषधि नै हो । समस्या त थप नक्कली म्याद टाँसिएको वाला औषधिमा छ । बरु म्याद सकिएको लेवलिङ्ग हेरेर मानिसले भन्न सक्छ-यो त म्याद सकिएको औषधि रहेछ, उपभोग गर्दा जिन्दगी तलमाथि हुनसक्छ ।
अब यहाँ जे जसो गरे पनि उपभोक्ताले पाउने उही म्याद सकिएको औषधि नै हो । समस्या त थप नक्कली म्याद टाँसिएको वाला औषधिमा छ । बरु म्याद सकिएको लेवलिङ्ग हेरेर मानिसले भन्न सक्छ-यो त म्याद सकिएको औषधि रहेछ, उपभोग गर्दा जिन्दगी तलमाथि हुनसक्छ ।
तर जब म्याद सकिएको औषधिमा म्याद रहेको लेवलिङ्ग टाँसिन्छ-उपभोक्ताले शंका गर्ने ठाउँसम्म पनि पाउन्नन् । जव उपभोग गर्छन्, जिन्दगी नै धरापमा पर्छ । यसरी समस्या चाँहि म्याद सकिएको औषधिमा नयाँ म्याद भएको लेवलिङ्ग गर्नेमा हुन्छ । त्यसैले नयाँ लेवल लगाउँदैमा त्यो अरुभन्दा लाभदायक हुनुपर्छ भन्ने कुनै ग्यारेन्टी छैन । त्यसले पुरानो लेबलवालाले भन्दा बढी हानी गरिदिन सक्छ भन्ने त उदाहरणै पेश गरिसकियो ।
अर्को तवरले हेर्दा एकाथरि मञ्चमा उभिएर तमाम सुविधा र लाभ लिएर नअघाएका मानिसहरु मनभित्र रहेको रहेको सुसुप्त भोक मेट्न नयाँ भोजनगृहमा छिर्ने पनि हामीकहाँ चलनै छ । राजनीतिक रुपमा त त्यसले बिकृत रुप नै धारण गरिदिएको छ ।
एउटा वैद्य बर्षौं एउटा होर्डिङ्गबोर्ड टाँसेर ब्यापार गरिबस्छ । एउटा समय आउँछ, उसका सारा फतुर, गफ, झुठ, भ्रमको कुनै पनि खेलोले ब्यापार गर्न असमर्थ हुन्छ । अब पुरानो साइनबोर्डमुनि, पुरानै ठाउँमा बसिरहे चूल्हो पनि बल्न पाउँदैन भन्ने निश्चित भएपछि ऊ नयाँ होर्डिङ्गबोर्ड बनाउँछ नयाँ नाममा । ठाउँ फेर्छ र आफैंले तयार गरेको आफ्नो चतुर उत्तराधिकारी राखेर फेरि पनि पुरानै फत्तुर, गफ, झूठ, भ्रमको योगमा ब्यापार गरिरहन्छ ।
यो समाज बीचमा फोहोर भएको होइन ? राजनीति, कर्मचारीतन्त्र या समाजका तमाम अवयवको समस्या बीचमा ऐंजेरु झैं पलाएको होइन ? मुख्यतः मुहान फोहोर छ । रक्सी र बूढी भैंसीको मासुमा भोट बेच्नेसम्मको स्तरमा समाज छ । समाजको स्तरोन्नति गर्ने नयाँ शक्तिको योजना के हो ? अरु पार्टीभन्दा नयाँ शक्ति के-के कुरामा कसरी फरक हो, व्यावहारिक रुपमा ? जसरी बागमती प्रदुषणको दीर्घकालीन समाधान खोलाको फोहोर टिपेर हुँदैन र खोलामा फोहोर फाल्ने चरित्र, संस्कार र प्रणाली फेर्नुपर्छ भन्ने जान्दाजान्दै क्षणिक चर्चा र वाहवाहीका लागि मिडिया बोलाएर, राज्यकोषको रकममा परेड खेलेर बागमतीको प्लाष्टिक टिपेको परिणामस्वरुप आज बागमती उस्तै फोहोर छ । उसैगरी नेपाली समाजको बिग्रेको लय सच्याउन र राजनीतिको दिशाहीनतालाई अन्त्य गर्न नयाँ नामको पार्टी होइन, नयाँ संस्कार, चरित्र, कार्यक्रम , विचार र ब्यवहारको जगमा उभिएको राजनीतिक पार्टीको जरुरी छ । यो टेस्टेड र रिटायर्ड मानिसहरुको झुण्डबाट होइन, अरुबाट गाइडेड हुन नभ्याएको जागरुक युवाहरुको प्रयत्नबाट मात्रै सम्भव छ ।
साभारः अनलाइन खबर




Milan Shrestha । १३ माघ २०७२, बुधबार १२:४७ बजे