
सुर्खेत । त्रिभुवन आर्मी क्लवले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल अन्तर्गत लगातार दोस्रो जीत दर्ता गरेको छ । शुक्रबार भएको खेलमा आर्मीले बागमतीलाई २-० गोलको अन्तरमा पराजित गरेको हो ।
पहिलो हाफ बराबरी भएको सो खेलको ६४ औं मिनेटमा आर्मीका लागि लाकेन लिम्बुले पहिलो गोल गर्नुभएको छ भने दोस्रो गोल अतिरिक्त खेलाडीका रुपमा मैदानमा प्रवेश गर्नुभएका नवयुग श्रेष्ठले ९७ औं मिनेटमा गोलगरी आर्मीको जित सुनिश्चित गर्नुभयो ।
पाँच वटा पहेँलो कार्ड देखाइएको सो खेलमा आर्मीका ३ र बागमतीका २ खेलाडीले पहेँलो कार्ड पाउनुभएको थियो । आर्मीका लाकेन लिम्बुले १२ औं, अनुभव पुरीले ३९ औं र बिमल पाण्डेले ९२ औं मिनेटमा पहेँलो कार्ड पाउनुभएको थियोभने बागमतीका रोनिस राजबाहकले ८८ औं र भुवन कामीले ९२ औं मिनेटमा पहेँलो कार्ड पाउनुभएको म्याच कमिसनर बीरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
लुम्बिनीसँग पहिलो खेल जितेको आर्मीले बागमतीलाई पनि जितेपछि ६ अंक प्राप्त गरेको छभने पहिलो खेल कोशी प्रदेशसँग बराबरी गरेको बागमतीको एक अंक मात्र छ । शनिवार पहिलो खेल बिहान सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपिएफ तथा दोस्रो खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लवविच हुनेछ ।



Prawash Kumar Shakya । ११ मंसिर २०८३, शुक्रबार १७:११ बजे