खुल्ला–पत्र


माननीय अर्थमन्त्री ज्यू,
आर्थिक मामिला तथा योजना मन्त्रालय
कर्णाली प्रदेश, नेपाल
सर्वप्रथम आर्थिक वर्ष २०७६÷०७७ को लागि कर्णाली प्रदेशको समग्र विकासको खाकासहितको बजेट भाषण गर्दै हुनुहुन्छ तपाईलाई हार्दिक शुभ–कामना व्यक्त गर्न चाहान्छु । बजेट कस्तो आउछ ? यो प्रश्न म तपाईप्रति राख्दिन किनभने बजेट यही प्रदेशको विकासका लागि, जनताका लागि आउछ, यसमा कुनै दुईमत छैन । सरकारसँग जनताका केही अपेक्षा रहन्छन् । तीनै जनअपेक्षाकृत बजेट निर्माण गर्नमै व्यस्त हुनुहुन्छ होला तरपनि थोरै समय लिएर मेरो खुल्ला पत्रलाई पढ्ने समय दिनुहोला । आशा छ पत्र पढिसकेपछि मेरो पत्रको केहि हिस्सा बजेट वक्तव्यमा समेटिने छन् ।
म त्यो ठाउँको नागरिक हुँ जुन गाउँपालिकालाई सुगममा सुचीकृत गरिएको तर अत्यन्तै दुर्गम गाँउ । दैलेख जिल्लाको महाबु गाउँपालिका भौगोलिक दृष्टिकोणले दुर्गम होइन, पूर्वाधारको कमीले दुर्गम हो, शैक्षिक अवस्थाको कारण दुर्गम हो, स्वास्थ्यको कारण दुर्गम हो, यातायात, विद्युत, खानेपानी लगायतका विकास निर्माणका कारण दुर्गम भन्न बाध्य छु । मन भक्कानिएर आउछ मेरो गाउँपालिकालाई सुगम भनि सुचीकृत गरेको देख्दा । सायद सुगमको सुचीमा भएकोले नै होला यहाँको भौतिक पूर्वाधार निर्माणका लागि संघ र प्रदेशको आँखा यहाँ केन्द्रित हुन नसकेको ।
देश संघिय संरचनामा आइसक्यो, स्थानीय सरकारको नेतृत्व जंगबहादुर शाहीले गर्नुभएको छ । उहाँले विकास निर्माणमा ध्यान नदिनुभएको पनि होइन, उहाँले नगर्नुभएको पनि होइन तर ठूला र दिर्घकालिन विकासका लागि प्रदेश र संघको साझेदारी हुन आवश्यक ठानेको छु ।
मेरो गाउँपालिकामा ७ वटा माध्यामिक विद्यालय र २७ वटा आधारभुत विद्यालय संचालनमा छन् तर भौतिक संरचना हुँदाहुँदै पनि काम चलाउका लागि मात्रै प्रयोगमा छन् । प्राविधिक शिक्षा छैन, क्याम्पस छैन । शैक्षिक गुणस्तर सुधारका लागि यस गाउँपालिका क्षेत्रभित्रका विद्यालयका भवन जीर्ण छन् । गाउँपालिकाको स्रोत साधनले धान्य अवस्था नभएकोले त्यसतर्फ मन्त्रालयले सोच्ने छ भन्ने आशा र अपेक्षा गरेको छु ।
गाउँपालिकामा ५ वटा स्वास्थ्य चौकी ४ वटा सामुदायिक स्वास्थ्य ईकाई रहेका छन् । भौगोलिक विकटताका कारण गाउँपालिका भित्रका कुना कन्दराका जनताले सिटामोल खान घण्टौ हिड्नुपर्ने अवस्था छ । सामान्य रोगका विरामीहरु औषधि उपचार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता छ । गाउँपालिकामा संचालनमा रहेका केही स्वास्थ्य संस्थाहरु भौतिक संरचना र सामाग्री अभावले थलिएको अवस्था छ । स्वास्थ्य चौकी भएरमात्र हुने रहेनछ । स्वास्थ्य चौकीमा प्रेसर जाँच गरेमात्रै रोग पत्ता लाग्छ होला त् । ल्याव टेस्ट गर्न सदरमुकाम धाउनैपर्छ अन्यथा उपचार सम्भव छैन । चोटपटकबाट हात खुट्टा भाँचियो भने एक्स–रे गर्ने कुनै ठाउँ छैन । सुत्केरी महिलाले घरमै ज्यान गुमाउन परेको छ, सामान्य चोटपटकको समयमा उपचार नहुँदा क्यान्सर पिडित बन्नु परेको छ । के स्वास्थ्य चौकीको परिभाषा प्राथमिक स्वास्थ्य उपचार मात्रै हो ? त्यसैले यस पटक बजेटमा यहाँका जनताको स्वास्थ्य अवस्थाका बारेमा गम्भिर भएर सोचिदिनुहोला । आशा छ नेपाल सरकारले ७५३ स्थानीय तहमा बनाउने भनिएको १५ सैयाको अस्पताल तुरुन्त कार्यान्वयनमा ल्याउन र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले बजेट वक्तव्यमा समावेश गर्ने छ भन्ने आशा छ ।
यस गाउँपालिकामा पानीका स्रोत प्रसस्त छन् तर स्वच्छ पिउने पानी नपाएर जनता दुषित पानी पिउन बाध्य छन् । यस क्षेत्रमा पुराना केही संचालनमा आएका खानेपानी आयोजना जीर्ण अवस्थामा रही पानी लिनका लागि नागरिकले घण्टौ हिड्नुपर्ने बाध्यता छ । अझ भनौ ४ नम्बर वडाको गिताचौर खानेपानी आयोजनाको मुहान भैरबी गाउँपालिकामा पर्ने भएकोले उक्त गाउँपालिकाले पानी मुहान समेत कटौती गरेको छ । जसको कारण यसक्षेत्रका बासिन्दाले पिउने पानी पाएका छैनन् । यस तर्फ ध्यान मन्त्रालयको ध्यानाकर्षण होस् ।
यस क्षेत्रमा व्यवसायिक कृषिका लागि प्रसस्त जमिन हुँदा हुँदैपनि किसानले व्यवसायिक खेती गर्न नसकेको अवस्था छ । प्रसस्त सिचाई, आधुनिक हाते ट्याक्टर, विउ विजन र किसानलाई व्यवसायिक कृषि तर्फ आकर्षित हुने खालका कार्यक्रममा प्रदेश सरकारको ध्यान जानेछ भन्ने आशा छ ।
विद्युत नभएकै कारण गाउँपालिकाले ल्याव सेवा सुचारु गर्न सकिरहेको छैन, विद्युत नभएकै कारण विद्युतीय शिक्षा संचालन भएको छैन, विद्युतीय उपकरण प्रयोग गर्न पाइएको छैन, हजुरको मन्त्रीमण्डलले डिजिटल कर्णाली प्रदेश बनाउने योजना सुनेपछि आशा जागेको थियो तर केही हुन सकेको छैन । राजधानीका विद्यालय स्मार्ट स्कुल घोषणा भएको सुन्न पाइएको छ तर हाम्रोतिर कहिले हुन्छन् । यसतर्फ पनि बजेटले समेट्ने छ भन्ने आशा जागेको छ ।
सडक निर्माण नभएका होइनन् छन् तर हिउँदका ३ महिना बाहेक संचालनमा आउन सकेका छैनन् । पक्की सडक छैन, पूल छैन, सडक स्तोरन्नति हुन सकेको छैन । यथासम्भव सरकारको जमुनाह–कोहलपुर–सुर्खेत–दैलेख हुँदै नाग्चे नाग्ला जोड्ने सडक दैलेख जिल्ला अन्र्तगत भिरखेत – गिताचौर–काँसिकाँध हुँदै कालिकोट जोडिएमा सबैभन्दा छोटो र सरल हुनेछ ।
गाउँपालिकामा प्रमुख धार्मिक पर्यटकीय क्षेत्रको रुपमा कासिकाँधको महाबु गाथ, गिताचौरको शिवालय, बासिको मालिका, ताउलेखर गुफा लगायतका क्षेत्रको विकासका लागि बजेटमा समावेश गरियोस् । आशा गर्दछु ।
यस क्षेत्रमा पाईने तामाखानी, पत्थर, काइनेटिक, जडिबुटी लगायतका सम्पदाको उत्खनन् गर्न सकिएको भए यो प्रदेशकै आर्थिक विकास गर्न सकिने प्रसस्त सम्भावना भएकोले यसपालीको बजेट त्यसतर्फ आकर्षित होस् भन्ने आशा व्यक्त गर्दछु ।
यस गाउँपालिकामा हरेक क्षेत्रका विकास साझेदार संघ, संस्था, दातृनिकाय विभिन्न अभियन्ताहरुले विभिन्न क्षेत्रमा अभियान चलाएपनि यस क्षेत्रमा बालविवाह, छाउपडि प्रथा, छुवाछुत, घरेलु हिंसा विद्यमान अवस्थामा छन् । यसको अन्त्यका लागि सरकारको पहल हुने छ भन्ने आशा जागेको छ ।
देश संघिय संरचनामा प्रवेश गरेपश्चात गाउँ–गाउँमा सिंहदरबार, घर–घरमा रोजगारका नारा घन्किए । स्थानीय सरकार र प्रदेश सरकारले जनतालाई प्रत्यक्ष महसुस हुन सकिरहेको छैन । सरकारले जनतालाई प्रत्यक्ष लाभ हुने गरी सरकार भएको महसुस हुने गरी संघियताले जनतालाई दिएको नासो सम्झिनिे गरी प्रदेश सरकारले यो वर्षकोक बजेट वक्तव्यमा समावेश गरोस् भन्दै सफलताको शुभकामना व्यक्त गर्दछु ।

राज बहादुर शाही
महाबु गाउँपालिका ४, दैलेख
थप जानकारीको लागि ९८६८९२४३३१ नविन शाही