
१६ बैशाख, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले कोरोना भाइरस (कोभिड-१९) महामारीलाई ध्यानमा राख्दै नगरमा रहेका विपन्न परिवारकालागि दिँदै आएको राहतकालागि सम्पर्क नम्बर १०१ सहित अर्को नम्बर पनि थप गरेको छ ।
नगरपालिकाले हटलाइन नम्बर १०१ मा राहतकोलागि नाम टिपाउनकालागि दिएको नम्बरमा अत्याधिक कल आएकोले आजदेखि अर्को नम्बरपनि राहतकोलागि शुरु गरेको छ । नगरपालिकाले राहत नाम टिपाउनकालागि ०८३-५२०१४४ नम्बर थप गरेको छ ।

नगरपालिकाको सचिवालयले आफ्नो फेसबुक मार्फत १०१ मा फोन नलाग्ने गुनासो धेरै आएपछि अर्को नम्बरको व्यवस्था भएको जनाएको छ । नगरपालिकाले दमकलकालागि प्रयोग गरिने हटलाइन १०१ नम्बरमा कल धेरै भएकोले फोन व्यस्त भैरहने कहिले काठमाडौंको दमकल शाखामा फोन उठ्ने भएकोले जनगुनासो धेरै आएको थियो ।
त्यस्तै नगरपालिकाले अहिले सम्म ८ सय २९ जनालाई राहत वितरण गरेको नगरपालिकाका एमआइएस अप्रेटर गोविन्द दहालले बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘हामीले झुप्राको बस्तीमा ८० घर, महिला विकास प्रशिक्षण केन्द्रको बाढीपिडित बस्तीका १७ घर र सल्लाघारी बस्तीको ८९ घरलाई राहत वितरण गरेका छौं ।’ त्यस्तै हाल सम्म १०१ मा ११ सय बढी कल आएको अप्रेटर दहालले जानकारी दिनुभयो ।





Prawash Kumar Shakya । १६ बैशाख २०७७, मंगलवार १५:३७ बजे