
पवन जायसवाल,
नेपालगञ्ज/(बाँके) ।
पश्चिम नेपालमा भाषा साहित्य समालोचना र समग्र वाङ्मयको विकासमा विगत ३ दशकदेखि निरन्तर सक्रिय रहनु भएका महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका उप–प्राध्यापक हरिप्रसाद तिमिल्सिनालाई नेपालको दोस्रो विश्वविद्यालय नेपाल संस्कृत विश्वविद्यालयले विद्यावारिधि उपाधि प्रदान गरेको छ ।
दैलेख जिल्लाको महाबु गाउँपालिका –६ टाकुरीमा बि.सं.२०२३ सालमा जन्मेर बाँके जिल्लाको नेपालगञ्ज उप–महानगरपालिका वार्ड नंं–१८ लाई कर्मथलो बनाउँदै प्राध्यापन र साहित्यसेवामा एक साथ सक्रिय रहनु भएका हरि प्रसाद तिमिल्सिनाले नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रमा २०७४ वैशाखदेखि कक्षा प्रारम्भ गरी ३ सेमेस्टरको अध्ययनपश्चात् भएको परीक्षा उत्तीर्ण गरी बि.सं.२०७५ पौष २२ गते स्थायी करार गरी ’सिद्धिचरण श्रेष्ठका खण्डकाव्यमा रसविधान’ शीर्षकमा अनुसन्धानमा संलग्न रहनुभएको थियो ।
यही २०८१ माघ २६ गते तिमिल्सिनाको अन्तिम वाक् परीक्षा Viva सम्पन्न गर्नुभएको थियो । Viva का क्रममा तिमिल्सिनाले गरेको प्रस्तुति, शोधप्रबन्धको परीक्षण र मूल्याङ्कनपश्चात नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा भीमप्रसाद खतिवडाको अध्यक्षतामा बसेको अनुसन्धान केन्द्रको बैठकले हरि प्रसाद तिमिल्सिनालाई विद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।
३ सय ७० पृष्ठ लामो शोध प्रबन्धमा हरि प्रसाद तिमिल्सिनाले पौरस्त्य साहित्यस मालोचनाको महत्त्वपूर्ण साहित्यिक मान्यता रससिद्धान्तको गहन सैद्धान्तिक अध्ययन गरी सोहीआधारमा नेपाली साहित्यको स्वच्छन्दतावादी धाराका सहप्रवर्तक वरिष्ठ साहित्यकार सिद्धिचरण श्रेष्ठद्वारा रचित उर्वशी,मङ्गलमान, भीमसेन थापा, आँसु,कान्तीमतीलगायत नौ वटा खण्डकाव्यको समिचिन विवेचना गर्दै ती खण्डकाव्यमा रस कसरी प्रयोग गरिएको छ भन्ने कुराको अनुशीलन गर्नुभएको छ ।
शोधकर्ता हरि प्रसाद तिमिल्सिना कविता,कथा निबन्ध, नियात्रा, समालोचनाजस्ता साहित्यका विविध विधामा सशक्त रूपमा कलम चलाउँदै आउनुभएको र लोपोन्मुख सोनाहा, कुछबदिया, खुना, राजी, कुमाल जातिका भाषा, साहित्य एवं संस्कृति खोज अध्ययन गर्नुभएको छ । लुम्बिनी प्रदेशमा प्रचलित परम्परागत गीतसङ्गीतको सर्वेक्षण तथा अध्ययन, लुम्बिनी प्रदेशका लोक कथाहरूको सङ्कलन र अध्ययनसमेत गर्नुभएको छ ।
विगत १६ वर्षदेखि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा नेपाली पत्रकारिता विषयको प्राध्यापन गर्दैआउनुभएको र भेरी साहित्य समाज लगायत विभिन्न भासासाहित्यिक सङ्घसंस्थाको नेतृत्व गरी संस्थागत योगदान गर्नुभएका हरि प्रसाद तिमिल्सिना आफैमा प्राज्ञिक व्यक्तित्व हुनुहुन्छ । उहाँको विद्यावारिधि तहको उच्च अध्ययन नेपालगञ्ज, लुम्बिनी हुंँदै समग्र देशको प्राज्ञिक उन्नयनमा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।



Prawash Kumar Shakya । ९ फाल्गुन २०८१, शुक्रबार १३:४२ बजे