यसकारण घुमाउछन बौद्धमार्गीले मनी


२०७४ असाेज १५

बौद्ध तिर्थस्थल गुम्बा, विहार तथा र चैत्यहरुमा प्राय मनी राखिएको दृश्य जोकोहीले देखेको हुनुपर्छ । बौद्ध तिर्थस्थलहरुमा राखिने तोरण, धर्मचक्र, स्तुप जस्तै मनी पनि महत्वपुर्ण छ । धर्मकर्मका लागि यी तीर्थस्थल पुग्ने प्रायले एक पटक मनी घुमाएकै हुन्छन् । भिक्षु भिक्षुणी, लामा तथा सर्वसाधारणले मनी घुमाइरहेको दृश्य बौद्ध तीर्थस्थलमा देखिनु सामान्य जस्तै हो । कतिले मनीको अर्थ बुझेर घुमाउँछन त कहिले नबुझिकनै ।

बौद्ध धर्ममा मनीको छुट्टै महत्व रहेको छ । मनी घुमाउँदा ठूलो पुण्य प्राप्ति हुने धार्मिक विश्वास रहेको पाइन्छ । आर्यालोकेश्वर (च्यान्रेजिग), अमिताभ बुद्ध, पद्मसमभव गुरु रिन्पोछेका मन्त्रहरु र विभिन्न पाठ पूजाका मन्त्र र पाठहरु मनी भित्र राखिएको हुन्छ । यी मन्त्रहरुलाई क्रमश मिलाएर राखिन्छ । यसरी मिलाएर राखिएका मन्त्रहरु सहितको मनी एक फन्को घुमाउँदा त्यसभित्र राखिएको सबै मन्त्र एक चोटी पाठ गरे बराबर मानिन्छ । जति पटक मनी घुमाइयो, त्यति नै मन्त्रहरु पाठ गरे बराबरको पुण्य प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास र आस्थाका कारण बौद्ध तीर्थस्थल पुग्ने जोकोहीले मनी घुमाउने गरेका हुन् । मन्त्र पाठ गर्न नजान्नेले पनि मनी घुमाएको खण्डमा मन्त्र पाठ गरे जत्तिकै पुण्य प्राप्त गर्ने धार्मिक मान्यता रहि आएको छ । सम्पुर्ण प्राणी जगतको हितको कामना गर्दै मनी घुमाउने गरिन्छ ।

बौद्ध तीर्थस्थल वरिपरि राखिएका मनीमध्ये स–साना मनीलाई मनीलाग्कोरु भनिन्छ । त्यस्तै कतिपय स्थानमा ठूला–ठूला मनी राखिएको हुन्छ । ठूला आकारका मनीलाई तुङ्ग्युर भनिन्छ । तुङ्ग्युर मनीमा १० करोड मन्त्र राखिएको हुन्छ । एक तुङ्ग्युर घुमाउदा १० करोड मन्त्र जप या पाठ गरे जत्तिकै धर्म प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहि आएको छ ।

साभार : बुद्ध खबर