
नेमकिपाको बर्चश्व ०४८ देखि लगातार, अब के होला ?
६ मंसिर, काठमाडौं । जवाफ दिनुअघि उनले झ्वार्र सलाई कोरे र चुरोट सल्काए ।
‘अरुको चान्सै छैन,’ एक फाँको धुवाँ उडाइसकेपछि भने, ‘हाम्रोमा नेमकिपा नै आउने हो ।’
उनी हुन् ७० वर्षीय एमपी प्रजापति । पूर्वशिक्षक प्रजापति नेपाल मजदुर किसान पार्टीका कट्टर समर्थक रहेछन् । नजिकै रहेको नेमकिपाको कार्यालयतिर धुवाँ फाल्दै उनले थपे, ‘यहाँ अरु कसैले चियाउनु पनि पर्दैन ।’
‘दुई वर्षअघि भारतले नाकाबन्दी गर्दा संसदमा कसले नारा लगायो ? भारतीय दुतावास कसले घेर्यो ? देशलाई माया गर्ने अर्को कुन पार्टी छ यहाँ ?’ नेमकिपालाई समर्थन गर्नुको कारण सोध्दा उनले उल्टै प्रश्नको वर्षा गरे ।
‘यसपालि विजुक्छे उठ्नुभएको छैन, नेमकिपालाई जित्न गाह्रो छ भन्छन् नि ?’
उनले पिटुँला झैं गरे ।
‘कसले भन्यो ? यसपालि झन् धेरै भोट ल्याएर जित्छ । स्थानीय चुनावमा कति भोट आएको थियो थाहा छ कि छैन ?’ प्रजापतिले भक्तपुरका मतदाता नेमकिपाप्रति आस्थावान रहेको भन्दै पार्टीको भोट यताउता नजाने दाबी गरे ।
उनले किन हो, फोटो खिच्न चाहिँ मानेनन् ।
गोलबढी चोकमा एक हुल बुढाहरु एउटा थोत्रो पाटीभित्र बसेर गफ चुट्दै थिए । उनीहरुमध्ये सबैभन्दा टाठाबाठा ८६ वर्षीय धर्मरत्न शाक्य हामीसँग कुरा गर्न अघि सरे ।
‘मेरा बा कांग्रेस कार्यकर्ता थिए । प्रजातन्त्रको लडाइँमा जेल पनि परेका हुन् । मैले पनि पहिले–पहिले कांग्रेसलार्इ नै भोट हालेको हुँ । पछिल्लोचोटि भैरव रिसाल र जगन्नाथ आचार्य लड्दाखेरि कांग्रेसका आचार्यलाई भोट दिएको थिएँ । त्यसपछिका चुनावमा नेमकिपालाई भोट दिन थालेँ,’ उनले खर्रै भने ।
यसपालि पनि आफ्नो भोट अन्त नजाने शाक्यको प्रष्टोक्ति थियो ।
‘मन्त्री, प्रधानमन्त्री नभए पनि विजुक्छेले भक्तपुरमा राम्रा काम गरेका छन्,’ शाक्यले भने । विशेषगरी शिक्षाको विकासमा विजुक्छेको ठूलो योगदान रहेको उनले बताए ।
‘तर यसपालि त बिजुक्छे उठेका छैनन् नि ?’ हामीले शाक्यलाई पनि प्रजापतिलाई सोधेकै प्रश्न सोध्यौं ।
‘अब बुढा भए,’ उनले भने, ‘सँधै एउटैले ओगेटेको राम्रो होइन नि त ।’
उनले क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवाल पनि लायक व्यक्ति भएको बताए । ‘उनलाई पनि हामीले नारायणमान नै सम्झिनुपर्छ,’ शाक्यले भने ।
टचपाल चोकमा सडक पेटीमा केही व्यक्तिहरु बाघचाल खेलिरहेका थिए । हामी उनीहरुभित्र छिर्याैं ।
‘चुनाव हो, केही भन्न सकिन्न,’ त्यहाँ रहेकामध्ये सबैभन्दा जवान देखिने रवि प्रजापतिले अघि सर्दै भने ।
उनले अगाडि थपे, ‘पहिले त नेमकिपालाई नै हालेको हुँ । तर, यसपालि हाल्दिनँ ।’
‘यसपालि किन नहाल्ने त ?’
‘सँधै एउटै पार्टीलाई भोट हाल्ने ठेक्का लिएको छ र ?’ उनले जंगिँदै भने, ‘हामी कुनै पार्टीको पेवा हुम् र ?’
त्यहाँबाट अघि बढेर दतात्रय चोकमा पुगियो । एउटा चिया पसलमा अगाडि चिया पिइरहेका भेटिए कृष्ण गोपाल प्रजापति ।
उनी एमाले समर्थक रहेछन् । तर, यस क्षेत्रबाट नेमकिपाले नै जित्ने ठोकुवा उनले गरे ।
‘स्थानीय चुनावको आधारमा हेर्दा अरु पार्टीको चान्स नै छैन’ ’ उनले भने ।
प्रजापतिले भक्तपुरको विकासमा नेमकिपाले राम्रै काम गरेको बताए । ‘जनताले दिएको भोट उनीहरुले खेर जान दिएका छैनन्,’ उनले भने ।
यद्यपि आफूले भने वाम गठवन्धनलाई भोट दिने उनले उल्लेख गरे ।
‘राम्रो काम गर्नेलाई किन भोट नदिनुभएको त ?’ हामीेले सोध्यौं ।
‘स्थानीय चुनावमा नेमकिपालाई नै भोट दिएको हुँ । तर, संसदीय चुनावमा सानो पार्टीलाई जिताएर काम छैन,’ उनले तर्क गरे ।
०००
सानोबेसीं चोकमा दुई युवा बाटोमा उभिएर गाडी पर्खिँदै थिए । उनीहरुमध्ये एक रहेछन् विकास फोजु । पेशाले इन्जिनियर । उनले यसपालि यो क्षेत्रबाट नेमकिपालाई जित्न एकदमै गाह्रो रहेको बताए ।
‘नगरमा उनीहरुको राम्रो छ, तर यसपालि गाउँबाट नेमकिपालाई भोट आउँदैन,’ फोजुको आँकलन थियो । उनले चुनाव हार्ने डरले नै बिजुक्छे यसपालि उम्मेदवार नबनेको ठोकुवासमेत गरे । राष्ट्रिय राजनीतिमा नेमकिपा एकलकाँटे बनेको पनि उनको टिप्पणी थियो ।
कुन पार्टीले जित्छ त भन्ने प्रश्नमा उनले ‘अहिले भन्न नसक्ने’ बताए । उनले प्रत्यक्षमा कुन पार्टीलाई भोट हाल्ने भनेर टुंगोमा नपुगिसकेको बताए ।
‘समानुपातिकतर्फ चाहिँ तराजुमा हाल्ने हो,’ उनले खुलाए ।
भक्तपुर नगरपालिकाका विभिन्न गल्लीहरुमा डुल्दा जताततै मादल चिन्हका झण्डा टाँगिएका थिए । फाट्टफुट्ट सूर्य, हँसिया हथौडा र रुख पनि देखिन्थे ।
सानोबेसीमै एक महिला कुरा गर्न तयार भइन् । उनी पनि नेमकिपाकी मतदाता रहिछन् ।
‘अहिलेसम्म मादलमै भोट हालियो,’ उनले भनिन्, ‘यसपालि पनि मादलमै हाल्ने हो ।’
‘किन मादल नै ?’
‘खोई किन किन, सँधै यसैमा भोट हाल्दै आइयो,’ उनले भनिन् ।
नेमकिपाका प्रेम सुवालबाहेक अरु उम्मेदवारको नाम पनि थाहा नभएको उनले बताइन् ।
‘अहिलेसम्म भोट माग्न कोही आएका छैनन्,’ उनले भनिन्, ‘बिस्तारै आउलान् ।’
०००
सुकुलढोकामा एउटा सुन पसलभित्र हामी छिर्याैं। भित्र पुरुष र महिला थिए । आफ्नो परिचय दिँदै पुरुषले भने, ‘म राजन शाक्य ।’
उनले स्थानीय चुनावमा नेमकिपालाई भोट दिएको बताए ।
बिजुक्छे आफ्नो छिमेकी र चिनजानको व्यक्ति भएकाले नेमकिपासँग नजिक हुन पुगेको उनको भनाइ थियो । ‘यसपालि उहाँ नउठेकोमा खल्लो लागेको छ,’ शाक्यले भने ।
आगामी संसदीय चुनावमा कसलाई भोट दिने भन्ने निर्णयमा नपुगेको उनले बताए । ‘उहाँ उठेको भए अन्त भोट दिने कुरै थिएन, तर अब सोच्नुपर्ला,’ उनले भने ।
भक्तपुरको चुनावी गणित
०४८ सालदेखिको चुनावमा नेमकिपाले अविच्छिन्न नियन्त्रण जमाउँदै आएको क्षेत्र हो भक्तपुर–१ । नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे यहाँबाट लगातार पाँच पटक विजय भएका छन् ।
तर, यसपालिको चुनावमा बिजुक्छे सहभागी छैनन् । त्यसैले नेमकिपाको वर्चश्व कायम रहला कि भत्केला भन्ने कौतुहल बढेको छ । बिजुच्छेले आफू नउठेर प्रेम सुवाललाई उम्मेदवार बनाएपछि अन्य दलहरु हौसिएका छन् । तर, स्थानीय चुनावको मत विश्लेषण गर्दा भने नेमकिपालाई हल्लाउन लोकतान्त्रिक र वाम गठवन्धनलाई मुस्किल नै पर्ने देखिन्छ ।
स्थानीय चुनावमा यो क्षेत्रमा ३० हजारभन्दा बढी मत नेमकिपालाई खसेको थियो, जबकि प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसले १४ हजार ५ सय, एमालेले १३ हजार, राप्रपाले ६ हजार र माओवादीले ३ हजार मत ल्याएका थिए ।
०७० सालको संविधानसभा चुनावमा नेमकिपाका विजुक्छेले २० हजार ४४६, कांग्रेसका कृष्णलाल भँडेलले १२ हजार ८ सय २६, एमालेकी रञ्जु नापितले ५ हजार ६ सय ६८, माओवादीका सानु सुवालले ६ हजार २ सय १६ र राप्रपाका रवीन्द्र प्रताप शाहले ४ हजार ४ सय ५८ मत प्राप्त गरेका थिए ।
भक्तपुरमा नेमकिपाको प्रभाव पञ्चायतकालदेखिकै हो । पञ्चायतकालमा चुनावलाई जनताको पक्षमा उपयोग गर्ने नीति पार्टीले लिएको थियो । हालका प्रतिनिधिसभा उम्मेदवार सुवालले ०३९ साल र ०४४ सालमा वडाध्यक्ष जितेका थिए । ०५४ सालको स्थानीय चुनावमा उनी भक्तपुर नगरपालिकाको प्रमुख बने । उनी नगरप्रमुख हुँदा नेपालमै पहिलोपटक नगरपालिकाबाट विद्यालय सञ्चालन गर्नुका साथै न्यूनतम शुलकमा कलेजसमेत सञ्चालन सुरु गरिएको थियो ।
कांग्रेसले यस क्षेत्रमा वरिष्ठ अधिवक्ता बाबुराजा जोशीलाई उम्मेदवार बनाएको छ । नेपाल कानून आयोगका अध्यक्षसमेत भइसकेका जोशी भक्तपुर जिल्ला बारबाट वरिष्ठ अधिवक्ताको उपाधि पाउने पहिलो कानून व्यवसायी हुन् । नेकपा एमाले र माओवादी केन्द्रका साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रका मिलन सुवाल उठेका छन् ।
भक्तपुरमा यसपटक क्षेत्र निर्धारण गर्दा सीमाना केही हेरफेर भएको छ । यसअघि भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकाको आधा भाग यस क्षेत्रमा रहेकोमा यसपटक मध्यपुर थिमी क्षेत्र नं. २ मा परेको छ । यसअघि क्षेत्र नं. २ मा रहेको भक्तपुर नगरपालिकाको भाग क्षेत्र नम्बर १ मा सरेको छ । यसै क्षेत्रमा चाँगुनारयण नगरपालिमा पनि छ ।
साभारः अनलाइनखबर
Prawash Kumar Shakya । ६ मंसिर २०७४, बुधबार ०८:१४ बजे