छक्का पञ्जासँग जोडिएको आत्महत्या प्रकरण


दीपकराज गिरी र सुवेदी परिवारको बेग्लाबेग्लै भनाइ

maxresdefault१ माघ, काठमाडौं । चलचित्र ‘छक्का पञ्जा’ लिक गरेको आरोप लागेका कृष्ण सुवेदीले सुसाईट नोट लेख्दै आत्महत्या गरेपछि अहिले आत्महत्या प्रकरण चर्चाको विषय बनेको छ ।

सामाजिक सञ्जालमा अर्काको सम्पत्ति चोर्नु दण्डनीय हो भन्नेहरुदेखि कृष्ण सुवेदी आत्महत्याको मूल कारण दीपकराज गिरी नै हुन् भन्नेसम्मका भनाइ सार्वजनिक भइरहेका छन् ।

सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी आएपछि फिल्मका निर्माता एवं कलाकार दीपकराज गिरीले फेसबुकमा स्टाटस लेख्दै आफुलाई मिथ्या आरोप लगाएर तनाब नदिन आग्रह गरेका छन् ।

कसरी लिक भएको थियो फिल्म ?

छक्कापञ्जा लिक भएको आरोपमा प्रहरीले एक साताअघि चार युवा श्रीजल भट्टराई, अनिस रञ्जित, सागर सापकोटा र कृष्ण सुवेदीलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । केही दिनअघि निधन भएका कलाकार आरपी भट्टराई -लादालाम) का छोरा श्रीजल भट्टराईले चलचित्रको कपी आफ्ना साथी अनिस रञ्जितलाई दिएका थिए । अनिसले आफ्ना साथी सागर सापकोटालाई हेर्नका लागि दिए । सागरसँगै कोठामा बस्ने कृष्णले गुगल ड्राइभमा फिल्म अपलोड गरेका थिए ।

को हुन् कृष्ण ?

नवलपारीका घर भएका कृष्ण परिवारका कान्छा छोरा हुन् । सिनामंगलस्थित नोबेल कलेजबाट ब्याचलर इन पब्लिक हेल्थ गरेका विद्यार्थी हुन् उनी । पढाइमा तेजिला कृष्णले धुलिखेल अस्पतालमा जागिरका लागि नियुक्ति लिएर बसेका थिए ।

के थियो सुसाइट नोटमा ?

प्रहरीका अनुसार आत्महत्या गर्नुअघि कृष्णले एक सुसाइट नोट लेखेका थिए । जसमा लेखिएको थियो ‘यो मृत्यु होइन हत्या हो, एक हप्ता जति अघिबाट ज्यान मार्ने धम्की आइरहेको थियो । आमा बाबा, दाइ, दिदी मलाई माफ गर्दिनु । बैंकको खातामा मेरो जम्मा गरेको एक लाख रुपैयाँ आमालाई दिनु होला । यस्तै हुन्छ कि भनेर यो नोट पहिल्यै लेखेको थिएँ । उनले सुसाईट नोटमा आफ्नो बैंक एकाउन्टको कोड नम्बरसमेत उल्लेख गरेका छन् ।

टर्चरकै कारण आत्महत्या: परिवार

प्रहरी र फिल्मका निर्माता दीपकराज गिरीले बारम्बार मानसिक टर्चर दिएकाले टर्चर सहन नसकेर आत्महत्या गरेको कृष्णका दाइ हरि सुवेदीको आरोप छ

कृष्णका परिवारका सदस्यले कृष्णले टर्चर सहन नसकेर आत्महत्या गरेको आरोप लगाएका छन् । प्रहरी र फिल्मका निर्माता दीपकराज गिरीले बारम्बार मानसिक टर्चर दिएकाले टर्चर सहन नसकेर आत्महत्या गरेको कृष्णका दाइ हरि सुवेदीको आरोप छ । कृष्ण दुई दिनअघि मात्रै नवलपरासीबाट काठमाडौं फर्किएका थिए ।

एक प्रतिशत मात्रै गल्ती भए सजायँ भोग्न तयार छौं: दीपकराज गिरी

dipakraj-giriमृत्यु हो, हत्या वा अरु केही कारण हो, प्रहरीले अनुसन्धान गरिरहेको छ । मृत्युको सही कारण के हो ? अनुसन्धानबाट खुल्ने नै छ ।’ दीपकराजले भनेका छन् ‘यो संवेदनशील र मुस्किलको समयमा मनदेखि भन्न चाहन्छु, हाम्रो एक प्रतिशत पनि गल्ती साबित भए सजायँ भोग्न तयार छौं ।’

सुवेदी पाइरेसीमा संलग्न भए पनि पैसा कमाउने नियत नदेखिएको भन्दै अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनालले कार्बाही नगरौं केटाहरुको भविश्य बिग्रन्छ भनेकाले सामान्य तारेखमा छाडिएको पनि दीपकराजले उल्लेख गरेका छन् ।

आफ्नो क्षति हुँदाहुँदै पनि हदैसम्म लचिलो भएर प्रस्तुत भएको भन्दै दीपकराजले हत्याको आरोपले थप मर्माहित बनाएको उल्लेख गरेका छन् ।