
-शिशिर पराजुली
यसपालि मात्रै लडेको धरहरा
मेरो सपनामा आएर ठिंग उभियो
जुन धरहराको टुप्पोमा बसेर एउटा कवि
सहरको कविता कोर्दै थियो ।
मेरो सपना ‘जुम’ भएर बिस्तारै
कविको कवितामा ठोक्कियो
अनि त्यो कविता यसप्रकार थियो-
सगरमाथामाथि बसेर कविता लेख्ने धोको
सगरमाथाबाट सहर नदेखिने बोध भएपछि
मैले धरहरा छनोट गरें र लेख्दै छु कविता ।
म देख्दैछु, गगनचुम्बी भवन र झिलिमिली
लम्पसार सुतेको कालो सडक
जसमा काला र गोरा दुवै प्राणी
कालो र गोरो कर्म गर्न कुदिरहेका छन् ।
म देख्छु, फिल्मी दुनियाँ
जहाँ संसार मैले देखेको भन्दा भिन्न छ,
जसभित्र मात्र सुखद अन्तय र संगीत छ
अनि कलम रोकिन्छ एकछिन;
धरहराबाट देखिँदैन भोको पेट
देखिँदैन आमाको रोदन
सुनिँदैन नमीठो संगीत
मात्र देखिन्छ भोग र विलास ।
कविताबाट मेरो सपना ‘जुम आउट’ भएर
कविको अनुहारमा अडिन्छ
म देख्छु कविको भावाभंगी
उ निराश छ,
दाहिने हात देब्रेपट्टिको खप्परमा राखेर
फेरी देब्रे हातले कलम समाउँदै
सुरू गर्छ उसको कविता ।
देख्छु, आन्दोलनको आवाम जसभित्रको
क्रान्तिकारी उद्घोष,
तर देख्दिन, आन्दोलनको विद्रोह
थप देख्छु, उधोगबाट बगेको धूवाँ र
फालिएका फोहोरको सगरमाथा
जुन सगरमाथामा बसेर काग कराउँछ,
काग कराउँदै गर्छ पिना सुक्दै गर्छ
कि कसो सरकार ?
तर देख्दिनँ, उधोगकै छेउको छाप्रो
जहाँ गरिबको पेटबाट भोकको धूवाँ बग्छ
र थप देख्दिनँ बालकको रोदन
किनकि म सहरको संगीतमा छु ।
देख्छु, सहरका गल्लीमा देहव्यापार
तर देख्दिनँ देशको व्यापार
किनकि ती व्यापारी कालो गाडीमा
कालो सिसा लगाएर हिँड्छन्
र गर्छन् कालो खेती ।
थुप्रै बाहिरी कुरा देख्छु, खेस्रा कुरा
देख्दिन खस्रा कुरा, जुन सत्य हुन्
तर देख्छु केवल कस्मेटिक सहर ।
कविको कलम रोकियो, धरहरा हल्लियो
मेरो सपना हल्लियो,
म ब्युँझिएँ,
र हेरें धरहराको अस्तित्व
अब कसरी लेख्छन् कविले कविता ?
साभारः बाह्रखरी अनलाइन



Prawash Kumar Shakya । २ जेष्ठ २०७३, आईतवार ०१:३१ बजे