सुर्खेत, जेठ ११ । सुर्खेतको वीरेन्द्रनगर–३ गण्डकीलाइनमा अवस्थित सुर्खेत होराइजन एकेडेमीले काफल बेच्दै गर्दा दुव्र्यवहारमा परेकी धमिला चौलागाईँका छोरालाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ।
केही दिनअघि वीरेन्द्रनगर क्षेत्रमा सडक किनारमा काफल बिक्री गर्दै गरेकी धमिला चौलागाईँको सामान नगर प्रहरीद्वारा फालिएको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो।
उक्त घटनाप्रति संवेदनशीलता देखाउँदै विद्यालयले धमिला चौलागाईँका कान्छा छोरा कौशल चौलागाईँलाई आगामी तीन वर्षका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको हो। उनी हाल कक्षा ५ मा अध्ययनरत छन्।
विद्यालय सञ्चालक समितिका अध्यक्ष गणेश कुमार बस्नेतले सामाजिक उत्तरदायित्व अन्तर्गत आवश्यकतामा रहेका विद्यार्थीलाई सहयोग गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो वरिपरि भइरहेका घटनाक्रमलाई बेवास्ता गर्न सक्दैनौँ। आफ्नै समुदायप्रति योगदान गर्ने उद्देश्यले यो निर्णय गरिएको हो।”
विद्यालयले कौशल चौलागाईँलाई स्वागत गर्दै उज्ज्वल शैक्षिक भविष्यको कामना गरेको छ।



Prawash Kumar Shakya । ११ जेष्ठ २०८३, सोमबार २१:०६ बजे