रगत निःशुल्क उपलब्ध गराउन सरकारसँग जोडदार माग


बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने व्यवस्था गर्न विभिन्न वक्ताहरूले सरकारसँग जोडदार माग गरेका छन् । आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न राज्यले स्पष्ट नीति, पर्याप्त बजेट तथा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनीहरूको भनाइ थियो ।

“रक्तदान गरौं, जीवन बचाऔं” भन्ने मूल नारासहित नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीद्वारा बुटवलमा शनिबार आयोजित १३औँ वार्षिक साधारण सभा तथा दुर्लभ रक्तदाता भेलामा वक्ताहरूले रक्तसेवालाई अझ सहज, सर्वसुलभ र निःशुल्क बनाउन सरकार गम्भीर बन्नुपर्ने धारणा राखे ।

कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य मन्जु भुषाल ले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रुपन्देहीका रक्तदाताहरूले समाजमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै उनले रक्तसेवामा देखिएका समस्या कानुनी तथा नीतिगत रूपमा समाधान गर्न पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले हाल रक्तसञ्चार सेवामा लिइँदै आएको शुल्क सर्वसाधारणका लागि महँगो बन्दै गएको उल्लेख गर्दै रगतलाई पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउनेतर्फ संघीय सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । केही स्थानीय तहहरूले निःशुल्क रगत उपलब्ध गराउने घोषणा गरे पनि त्यसलाई देशभर समान रूपमा कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले स्वयंसेवी भावनाले रक्त व्यवस्थापनमा सक्रिय संस्थाहरूलाई ब्लड बैंक सञ्चालनको स्वीकृति दिन सरकारले ढिलाइ गर्न नहुने धारणा समेत राख्नुभयो ।

कार्यक्रममा आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिनोद पराजुली, डा. राजेन्द्र बश्याल, डा. बबिता थापा तथा नेपाल रक्तसञ्चार केन्द्र बुटवलका संयोजक डा. बेन बहादुर पौडेलले स्वयंसेवी रक्तदाताहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै रक्तसेवाको विस्तार र व्यवस्थापनमा सरकारको थप सहयोग आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै समाजका उपाध्यक्ष उदय भट्टराई र महासचिव प्रशन्न श्रेष्ठले आम नागरिकमा रगतको महत्वबारे जनचेतना फैलाउँदै रक्तदान अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दुर्लभ रक्तदाता भेलाका क्रममा बिरामीलाई आवश्यक पर्ने दुर्लभ समूहको रगत सहज रूपमा उपलब्ध गराउन विशेष योजना तयार गरिएको कार्यसमिति सदस्य पवन पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा रक्तदान अभियानलाई थप सशक्त र व्यवस्थित बनाउने विषयमा समेत व्यापक छलफल गरिएको थियो ।