नगर स्तरिय फूटवल प्रतियोगिता शुरु


२२ जेठ, सुर्खेत । “लागु औषध विरुद्ध हाम्रो गोल, यूवा वर्गलाई खेलकुदमा सहभागी गराउने हाम्रो बोल”को नारा लिएर शिवविहार पुस्तकालय वीरेन्द्रनगर ९ लाटीकोइली सुर्खेतले वडा न‌ं ९ कार्यालयको सहयोगमा आजदेखि नगर स्तरिय फूटवल प्रतियोगिताको आयोजना गरेको छ ।

नगरका १६ वटा समूहले भाग लिएको कार्यक्रमको शुभारम्भ गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुबेदीले अहिलेको समयमा धेरै यूवावर्ग लागु औषधको दुर्व्यसनीमा फसेको र त्यसलाई निराकरण गर्न सम्पूर्ण यूवावर्ग नै लागेर निर्मुल पार्न आग्रह गर्नुभयो ।

नगर पालिकाको आगामी कार्यक्रममा नगरमा युवाहरुकालागि सञ्चालन गरिने खेलकुद कार्यक्रमलाई समावेश गर्न आफु लागि पर्ने नगर प्रमुख सुवेदीले बताउनुभयो ।

कार्यक्रममा भैरव यूवा ससक्तिकरणका अध्यक्ष ललित भट्टराईले वीरेन्द्रनगर अहिले लागु औषधको ट्रान्जिट भएकोले यस्लाई सम्पूर्ण मिलेर निराकरण तर्फ लाग्नु पर्ने बताउनुभयो ।

त्यस्तै वीरेन्द्रनगर नगरपालिका वडा नं ९का अध्यक्ष सुरेश मानन्धरले शिवविहार पुस्कालयले यूवावर्गले दुर्व्यवसनीका विरुद्ध गरेको कार्यक्रमको प्रसंसा गर्नुभयो ।

आजको शुभारम्भ खेलमा आयोजक शिवविहार पुस्तकालय र चाँदनी यूवा क्लब विच खेल भएको थियो । खेलमा चाँदनी यूवा क्लबले आयोजकलाई १ का विरुद्ध २ गोले पराजित गरेको थियो ।