
अशोक राजी
२१ असार । सुर्खेतमा सुविधा सम्पन्न खालको आफ्नो भवन नहुँदा विभिन्न स्वास्थ्य सम्बन्धि सेवाहरु पाउन नसकेको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतको आयोजना तथा असल शासन क्लव सुर्खेतको समन्वयमा आज वीरेन्द्रनगरमा भएको सामाजिक परिक्षणका सहभागीहरुले यस्तो गुनासो गरेका हुन । स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन नभएका कारण शौचालय, बर्थिङ सेन्टर, प्रयोगशाला लगायतका सेवाहरु पाउन नसकिएको कार्यक्रमका सहभागीहरुले दुखेसो पोखेका थिए ।
भवनकै अभावमा विभिन्न खाले भ्याक्सीनहरुलाइ सुरक्षित तरिकाले राख्न नसकिएको, स्टोरको समस्या भएको, विरामीका कुरुवाहरुलाइ बस्नको समस्या भएको, प्रतिक्षालयको समस्या भएको लगायतका गुनासाहरु कार्यक्रममा आएका थिए ।वीरेन्द्रनगरको एरिया भन्दा बाहिरका स्वास्थ्य चौकीहरुले आफ्नो नयाँ भवन सञ्चालन गरि सक्दा पनि बजार यरियामा नै रहेको स्वास्थ्य चौकीको भवन अहिलेसम्म पनि पुरा नहुँदा जिम्मेवार व्यक्तिहरुसंग नै औला उठाउनुपर्ने अवस्था आएकोसमेत सहभागीहरुले आरोप लगाएका थिए ।
कार्यक्रममा स्वास्थ्य चौकीका इन्चार्ज खगेन्द्र थापाले कटकुवा स्वास्थ्य चौकीको विषयमा स्थानिय राजनितिक दल, सरोकारवाला निकायले नै ध्यान नदिदा यसको अवस्था झनझन न्युन हुँदै जान थालेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
यसैगरि जिल्ला जन स्वास्थ्य कार्यालयका प्रमुख शम्भुप्रसाद ज्ञावालीले सहभागीहरुले उठाएका विभिन्न समस्याहरुलाइ सम्बन्धित निकास समक्ष पुराउनका लागि विभिन्न प्रयासहरु भएकाले सबैलाइ सहयोग गर्न आग्रह पनि गर्नुभयो ।
सामाजिक परिक्षण कार्यक्रम स्वास्थ्य चौकि व्यवस्थापन समितीका अध्यक्ष धुव्रप्रसाद चपाईको सभापतित्वमा भएको कार्यक्रममा महिला समुह, आमा समुह, स्वयम सेविका, लगायतको सहभागीता रहेको थियो भने कार्यक्रम असल शासनका सचिव घनश्याम के.सीले सञ्चालन गर्नुभएको थियो ।
वीरेन्द्रनगरकै मुख्य बजारमा नै रहेको कटकुवा स्वास्थ्य चौकीेको सुविधा सम्पन्न भवन करिब आज भन्दा ६ बर्ष अगाडी निर्माणका लागि ठेक्का दिएपनि ठेकेदारको लापरवाहिले हालसम्म पुरा हुन सकेको छैन । आफ्नो भवन नहुँदा कटकुवा स्वास्थ्य चौकी यस अघिको जिल्ला अस्पतालको जिर्ण रहेको भवनबाट आफ्नो सेवाहरु प्रदान गर्दै आइरहेको छ ।



Prawash Kumar Shakya । २१ असार २०७४, बुधबार १५:०२ बजे