किन ठुस्किन्छस ए जिन्दगी?


कविता
बालापनमै पनि उफ्री उफ्री खेल्न पाइन तेरै लागि
मेरो पनि त इच्छा थियो, रहर थियो मन लागि गर्ने
बा आमाले रोके सिर्फ तेरै निम्ति
म रोकिएँ मनका तिर्सनाहरूलाई तिलाञ्जली दिँदै
अँझै किन ठुस्किन्छस् ए जिन्दगी ?
स्कुल गएँ, मनै नलागि पढेँ लेखेँ
भोक भनिन, निद्रा भनिन साथी सँगी भनिन
अँझै पुगेन तँलाई क्याम्पस गएँ
बोक्नै नसकिने किताबका भारी भित्र हराएँ
ज्ञान चाहियो रे तलाई खुसी बनाउन
आफ्नै खुसी बन्धक राखी त्यसका पछि लागेँ
अँझै किन ठुस्किन्छस् ए जिन्दगी ?
तेरो स्वभाव पनि गजबको छ है
मान्छेभन्दा नि महत्वाकांक्षी
ज्ञान मात्रले नि पुगेन तलाई
पैसा चाहियो, धन सम्पत्ति चाहियो
आफ्ना हाड घोटेँ, रात दिन दिन रात
जागिर खाएँ, पैसा कमाएँ तेरै खुसीका लागि
अँझै किन ठुस्किन्छस् ए जिन्दगी ?
मान चाहियो सम्मान चाहियो रे अब ?
प्रतिष्ठा र प्रशंसा पनि चाहियो रे ?
के के पुर्याउँ म तलार्इ ? जति गर्दा नि नअघाउने ?
मैले जे जति गरेँ सब तेरै लागि होइन र?
तैले कहिल्यै मेरो बारेमा नि सोचेको छस् ?
म लागिरहेछु, लागिरहने छु तेरै लागि
निरन्तर निरन्तर बाँचुन्जेलसम्म
अँझै किन ठुस्किन्छस् ए जिन्दगी ?
साभारः मझेरी डटकम