बौद्धिक उपन्यास सुवर्णलता


चैत्र १४, सुर्खेत ।
मालिका केशरीको उपन्यास सुवर्णलता बौद्धिक चेतनाले भरिएको साहित्यकारले बताएका छन् । काठमाण्डौमा आयोजीत कृतिको अन्तरसंवाद कार्यक्रमका बक्ता साहित्यकारहरुले यस्तो बताएका हुन् ।

साहित्यकार अमर न्यौपानेले भन्नुभयो, ‘नेपाली उपन्यास बजारमा यो उपन्यास आफ्नो छुट्टै पहिचानका साथ उभिन सफल छ । उपन्यास केही लामो भएकाले केही बोझिलो लाग्न सक्छ तर यसका भावले पाठकलाई अन्यत्र भाग्न दिदैन । अत्यन्त सरल भाषा प्रयोग गरेर लेखिएको उपन्यास बुझ्न सहज छ । उपन्यासकी नाइका सुवर्णलता पच्चिस सय वर्षभन्दा ज्यादा जीवीत हुनु र उनमा शारीरिक क्षय नहुनु केही अपत्यारीला तथ्य लागे पनि उपन्यास लेखनमा यस्ता कुरा मान्य हुने उहाँले धारणा ब्यक्त गर्नुभयो ।’

समालोचक डा. रामप्रसाद ज्ञवालीले केशरीको उपन्यास सुवर्णलताले पाठकलाई सुरुदेखि अन्त्यसम्म बाँध्ने आर्कषण रहेको भन्दै लेखकले मायाप्रेमसँगै ग्रामीण र शहरी परिवेशका पात्रहरुलाई बौद्धिक तवरले प्रस्तुत गरेको बताउनुभयो । समालोच ज्ञवालीले उपन्यासमा बौद्ध दर्शन नै नबुझेका पाठकहरुले बुद्धको वाणी सहजै बुझ्ने भाषा प्रयोग गरिएको भन्दै केशरीमा गहिरो बौद्धधर्मको चेतना रहेको विचार प्रस्तुत गर्नुभयो ।

प्राध्यापक राम लोहनीले भन्नुभयो ‘उपन्यासले फरक विषयवस्तु उठाएकोछ । पाठक जुन कथामा प्रवाहित भइरहेको हुन्छ उपन्यासको मध्यभागमा पुग्दा अर्कै संसारमा बिचरण गर्न पुग्छ । त्यो संसार हो बुद्धको संसार । उपन्यासमा बुद्ध जीवितै हुन्छन् । बुद्धसँग उपन्यासकी नाईकाको बार्तालाप र प्रेम प्रस्ताब अत्यन्त मार्मिक छ । भोग र त्यागमा कसको विजय होला त भन्ने प्रश्नमा बाँधिएर पाठकहरु रोमाञ्चक हुँदै अत्यसम्म पुग्न हतारिने लोहोनीले विस्वास ब्यक्त गर्नुभयोे ।’

लेखक केशरीले पाठकबाट पाएको मायाले नयाँ उर्जा प्राप्त भएको भन्दै आफूमाथि नयाँ जिम्मेवारी थपिएको बताउनुभयो । आफ्नो प्रयासलाई पाठकले मन पराएकै कारण बजारमा आएको छोटो समयममै सुवर्णलताको दोस्रो संस्करण आउन लागेको पनि लेखकले खुलासा गर्नुभयो ।