भूकम्प अनुभुति : मृत्यु जीवनको डरलाग्दो खेल रहेछ


अमर जिसी
मलाई टेन्सन दिने एउटै टेन्सन छ– ससाना कुरामा पनि आमाले लिइरहने टेन्सन । अचेल उहाँलाई सम्झाउने अस्त्र रोजेको छु– मृत्यु । एकदमै अप्रिय तर, सम्झाउन सजिलो । भन्छु, आफू र आफ्नो छोरोलाई हेर्नुस् । जो कैयौँपटकका मृत्युलाई जितेर बाँच्दै छन् । म र तपाईंलाई नै मृत्युले निलिदिएको भए के हुन्थ्यो होला ! मनैदेखि हो या बाध्य भएर उहाँ भन्नुहुन्छ– पुग्यो छोरा, अब लिन्न (टेन्सन) ।
दुईपटकका भयानक दुर्घटनामा झण्डै मृत्युले खुर्लुक्क निलिसकेको म । कैयौँ ठूला रोगलाई जित्न सकेकी मेरी आमा । दुवैलाई सफल उपचारमार्फत जीवनको भिख दिने भारतको नखनऊ । (अहिले हाँसीखुसी उक्लिरहेको जीवनको यो भ¥याङमा इट्टा थपिदिने आफन्त, साथीभाईदाई, पक्ष, विपक्ष, परिचित, अपरिचित सबैप्रति सदा कृतज्ञ छु ।)
मृत्यु जीवनको सबभन्दा डरलाग्दो खेल रहेछ । जुन स्पर्धा जित्न सक्ने हरेकले आफू बाँचिरहेको बोनस जिन्दगी सार्थक बनाउन नसके उसलाई जीवनसँग रोष प्रकट गर्ने कुनै अधिकार रहँदैन । म सोच्छु, अरुलाई खुसी पार्न सकेँ भने मात्र म बाँचेको हुनेछु । (आफू त पुग्दो बोनसले यसै अघाएकै छु नि ।) कसरी बनाउने सार्थक ? अनेक उपाय हुँदा रहेछन् भन्ने अरुबाट सिकेँ, जो आफ्नो जीवनको केही हिस्सा अरुका लागि बाँच्दैछन् ।
जीवनलाई सार्थक बनाउने यो उत्कण्ठाले धेरै कुरा सिक्ने मौका पायो, वर्ष ७२ मा । वर्षको पहिलो महिनाको दोस्रो सातामै ७.६ रेक्टरले उचाल्नेपछार्ने क्रम थाल्यो, त्यहीँदेखि थप चलायमान भए मेरा दैनिकी ।
दाजु विनोदविक्रम केसीसँगै कार्यालयभित्रै पहिलो झट्का बेहोरेको म तरंगित हुँदै सकुशल सडकसम्म के निस्केको हुन्छु, यो आँखाले त्यति अग्लो धराहरा नै देख्ने मौका गुमाइगएछ । सबैतिर भागाभाग, कोकोहोलो, यत्रतत्र धुलाम्मे । ध्वस्त धरहराबाट जीवनको भिख माग्नेहरुको चित्कार । मजस्ता धेरैले के गर्ने भन्ने भेउ पाइरहेकै थिएनन् । जे त पर्ला भन्दै ध्वस्त धरहरा खोतल्न कस्सिइहाले केही तन्नेरी । तातो रगतको क्षमता पुष्टि गर्न थालिहालेका उनीहरुलाई औँल्याउँदै केही रमिते जो आफूलाई पाका भन्ठान्छन्हरु बर्बराउँदै थिए, बचेको ठूटो धरहरा भत्केर च्यापियौला है ठिटा हो ।

65ghar-(5)

हतारमा निर्णय लिने तन्नेरी विशेषता यस्तो बेला भने सही साबित हुँदो रहेछ भन्ने देखियो, भग्नावशेषबाट सलल्ल निकाल्दै अस्पताल कुदाउँदै गरिएका घाइतेको दृष्यले । मैले आफूलाई पनि उद्धार टिममै धकेलेँ । टिमलाई सघाउन सकेँ सकिनँ, त्यो गौण ठान्छु अहिले । त्यहाँ मैले जीवनलाई अथ्र्याउने अरु केही आधारहरु भेटेँ । धेरै देखेँ, भोगेँ । क्षतविक्षत शरीरहरु । निर्जिव बन्दै गरेका मान्छेहरु । चुपचाप गुहार मागिरहेका आँखाहरु । मृत्युको मुखबाट थुतिएपछि मान्छेले दिने प्रतिक्रियाहरु । जीवनको आशा मारिसकेको मान्छेलाई जोगाउन सक्दाको आत्मसन्तोष पनि । अब जिउँदो मान्छे नरहेको निक्र्यौलसाथ भग्नावशेषलाई डोजरको जिम्मा लगाइन्छ । घाइतेको रगत लतपतिएको मेरो हालत । त्यसैमाथि धुलो मिसिएर कटकटिएको शरीर लिएर चार घण्टापछि भारी मनसहित अफिस फर्कंदा मानसपटलमा जे उम्लिरहेको थियो, त्यो अर्को महŒवपूर्ण पाठ थियो ।
सुरु हुन्छ भूकम्पलेखन
मेरो विचलित हालत देखेर नागरिककर्मी दाईहरु झस्किनुभयो । उद्धार कार्यमा साथ दिएर फर्केको सुन्दा उहाँहरुले उद्धार अनुभूति लेख्न भन्नुभयो । जसोतसो हजार हाराहारी शव्द लेखेर कोठातिर हानिएँ । कोठाभित्र पस्नै पाइएन । सानो ठाउँमा कोचिएर रात काट्न खोज्दै थिएँ । बैगुनी मौसमले के सुख दिन्थ्यो ? पानीमा भिज्दै हिलाम्मे बारीमा गुजार्नुपरेको त्यो रात कति लामो हो ?
भोलीपल्टदेखि दौडधुप सुरु भइहाल्यो । निलो साइकलमा निलो क्याप लाएर झोला बोकेको मेरो आकृति काठमाडौँ उपत्यका चहार्न थाल्यो । महाभैँचालोले उपत्यकामा पुयाएको क्षति आँखैले देख्यो । निन्द्रा, भोक चानचुने ठान्दै साइकलमा बहुतै कुदियो । भोलीपल्टदेखि अफिसमै रात काट्न चाहेँ । आर्मी अफिसर्स क्लबस्थित पालमा विस्थापित अफिसमा पनि उस्तै कष्टकर रात बिते । दर्के झरीलाई पालले थेग्न नसकेपछि इमाडोलस्थित प्रेसमा कार्यालय सयो । झरीकैबीच आफ्नो कम्प्युटर काखी च्यापेर उता गुडियो । सिमित कम्प्युटरमा सबैले मिलाएर काम गर्नुपर्दा गाह्रै थियो ।
20150425_153138
फनफनी नाचिरहे जस्तो लाग्दैछ, सुन्धाराको सीटीसी मल । सबै आत्तिएका छन् । रोइकराइ गरिरहेछन् । सडकमा गाडीहरु बत्तिइरहेछन् । अंगालो मारेर भक्कानिरहेका छन् मान्छेहरु । माथि हेर्दा धरहरा अलप भइसकेछ । गल्र्यामगुर्लुम ढलेको यही धरहराद्धारा थिचिएका मान्छेहरु पनि अलप थिए । केहीको भने चित्कार सुनिन्छ । पूरै धुलाम्मे मुस्लोबीच सुनिएका यस्तै चित्कारले गुहार मात्र मागिरहेछन् । केही तन्नेरी उद्धारमा खटिइसकेका छन् । दुईचार जना प्रहरी पनि सामेल छन् । उनीहरुको कष्टपूर्ण प्रयासले घाइतेको उद्धार भइरहेको छ ।
यही दृष्यलाई व्याख्या गर्दै सुरु भयो, शुक्रवारमा मेरो भूकम्पलेखन । अँध्यारो पृष्ठभूमिमा ‘महाभैँचालो ९० साल भूलाउने ७२ साल’ शिर्षकमा यो अंक प्रकाशित थियो । निकै हतारोमा प्रकाशित यो अंकमा समाचार, फिचरहरुसँगै मेरो आफ्नै अनुभूति पनि छापियो । धरहराको उद्धार तस्विरले भोलीपल्टका पत्रपत्रिकाको अघिल्लो पेज भरिएका थिए । जसमा निलो क्यापवाला मेरो आकृति पनि देखिन्थ्यो । त्यही फोटो शुक्रवारको मेरो अनुभूतिमा छापिएको संयोग बिर्सन सक्दिनँ ।
भैँचालोपछिको पहिलो हप्ता, ९० सालको भैचालोँ भोगेका नेपालका एक जिउँदा इतिहास संस्कृतिविद् सत्यमोहन जोसीसँगको भेट मेरा लागि पनि प्रेरक बन्यो । शोकलाई शक्तिमा बदल्ने क्षमता भए नेपाल जापान बन्न समय नलाग्ने बताउँदै उनी भन्दै थिए, ‘मैले एउटा अर्को खट्को काटेँ । यस्ता ठूला विपत्बाट बाँच्नु भनेको इतिहास बन्नु हो । अब सबैले सिक्नुपर्छ, बाँच्नु भन्दा ठूलो कुरा केही गर्न सक्नु हो । अरुका लागि केही गर्न सके न जीवन अर्थपूर्ण बन्छ ।’ ९० साल अघि नै बनेको उनको घर कुशलै थियो । छरछिमेकमासँगै देशव्यापी भएको मानविय क्षति र सांस्कृतिक सम्पदामा पुगेको ठूलो नोक्सानी उनका लागि निकै अप्रिय थियो । उता, ध्वस्त भएको जुद्धवारुण यन्त्रका कर्मचारीहरु जुद्धशमसेरको इतिहासको चिन्ता गर्दै थिए । जुद्धका नाममा धरहरा भन्दा अघि नै बनेको ललितपुरस्थित जुद्धवारण कार्यालय सडकमै छरपस्ट थियो ।
साइकलमै कुदेर राजधानीको बेहाल हालको रमिते बन्दै बित्यो पहिलो हप्ता । दोस्रो हप्ता झन धेरै तरंगित थिएँ म । उद्धार टोलीको मनोबल बढाउने र मृत्युबाट पार पाएकाहरुको कथाले आशाको सञ्चार गर्ने योजनासहित रिपोर्टिङको दौडधुप थालियो । २२ घण्टापछि, ३३ घण्टापछि, ७५ घण्टापछि, ८२ घण्टापछि, १ सय २० घण्टापछि । भग्नावशेषभित्र घण्टौँ पुरिएका तथा च्यापिएकाहरुको सफल उद्धार भइरहेका यी खबरहरु पीडामा मलम बनिरहेका थिए । नयाँ जुनी पाएका ति घाइते र उनीहरुका आफन्तहरुसँगको भेट म अहिले पनि सम्झिरहन्छु ।
नयाँबसपार्कस्थित होटलबाट ८२ घण्टापछि उद्धार गरिएका अर्घाखाँचीका ऋषिराम खनाललाई अस्पतालको बेडमै भेटेर गफिएँ । दुवई उड्ने तयारी गरेका उनी भूकम्पबाट ध्वस्त होटलमा पुरिएका थिए । एउटा खुट्टा गुमाउँदा दुखी थिए । त्यो भन्दा कैयौँ गुणा खुसी थिए, फेरी जन्मन पाउँदा । उनको अनुभूति सुन्दा मन कहिले भारी हुन्थ्यो । कहिले हलुका ।
‘पूरै हल्लिन थाल्यो । हल्लिने बित्तिकै होटल त गल्र्याम्म भासिइहाल्यो । होहल्ला मच्चियो । म पनि घाँटीका नशा चुट्ने गरी कराउन थालेँ । मरेँ भन्ठानेँ । झ्याप्प छत खस्यो । तर, कोल्टे परेर बस्यो । यो देब्रे खुट्टो पिलरले क्याच्च किच्यो । सानो कोख परेको साँघुरो ठाउँमा म छटपटाउँदै कराइ मात्र रहेँ ।…म पूरै संघर्ष गरिरहेँ । रगताम्मे हुँदा पनि खनिखोस्री गर्न खोज्छु । बाहिरको आवाज सुन्छु । मलाई कसैले वास्ता नगरेजस्तो लागेर रिस उठ्छ । कराउँदाकराउँदै बेहोस भएजस्तो पनि लाग्दैैछ । … बोल्नै नमिल्ने भएपछि घाँटी भिजाउनुपर्ने भयो । पाकेटको रुमाल झिकेर पिसावले भिजाउँदै मुखमा हाल्न थालेँ । धेरै पटक पिएँ आफ्नै पिसाव । घाँटी भिजेपछि फेरी कराउन सक्थेँ । बीचबीचमा बेहोस हुन्थे या निदाउथे । सपना देख्थेँ । कहिले घर पुगेको, कहिले विदेश । कहिले नर्क त कहिले स्वर्ग ।…बाहिर निकाल्न लागेको पत्तो पाएँ । मरिसकेको मान्छेलाई खाडलबाट बाहिर तानेको जस्तो पो लाग्दैछ । म त ज्युँदै पो छु भन्ने पनि सोच्छु । हलचल गर्नै नसक्ने अवस्थामा बाहिर आउँदा सबैलाई धन्यवाद दिएँ । धन्यवादले मात्र कहाँ पुथ्यो र ?…तर पनि कैही छैन । अब अझै संघर्ष गरेर बाँच्छु । अब म मेरा लागि मात्र होइन । अरुका लागि पनि बाँच्छु ।’
ऋषिरामसँग अहिले पनि मेरो फोन सम्पर्क हुन्छ । सञ्चै भएको खबर सुनाउँदै दुःख पोख्छन्, ‘बच्चाबच्ची भुलाउन बाहेक अरु गर्न सकेको छैन ।’ घरको मुली मान्छे नै यस्तो भएपछि गाह्रो त पर्ने नै भयो । सम्झाउन खोज्छु, ‘नआत्तिनुस् दाई, जीवन भनेकै यही रहेछ ।’
यता ट्रमा सेन्टरको हालत पहिलो हप्ताको तुलनामा व्यवस्थित बन्दै थियो । स्वतस्फूर्त डटेका ति स्वयमसेवकलाई सम्मान गर्न सक्ने शव्द मेरो डिक्सनरीले भेट्ने सामथ्र्य राख्दैन । यी तन्नेरीहरुको खटनपटन देख्दा लाग्यो, मान्छे चिन्ने संकटकै बेला हो । ट्रमा छेउछाउकै तन्नेरीहरु मिलेर ‘आई टू वी’ अभियान पनि थालेका थिए । शहरको नयाँ पुस्ता समाजप्रति उत्तरदायी नभएको देख्नेहरुलाई सुदन गुरुङ, विवेकमान सिंह, जुगल तण्डुकारहरु चक्मा खुवाइरहेका थिए । आफैलाई बिर्सेर आर्थिक, भौतिकलगायत स्रोत खन्याएर उद्धार र राहतमा खनिएका यी तन्नेरीहरु अहिले पनि पुनर्निर्माणको काममा बिनास्वार्थ लागिरहेकै सुन्दा लाग्छ, यो साहसले निरन्तरता पायो भने देशले सम्वृद्धिको सगरमाथा चुम्न बेर लाउने छैन ।
उनी भगवानसँग जति कृतज्ञ थिए, त्यति नै उद्धार र उपचारमा सघाउनेहरुप्रति आभारी थिए । ध्वस्त धरहराबाट खोतलेर निकालिएका कृष्ण मात्र होइन, अहिलेसम्म भेटेका हरेक घाइते नयाँ जुनीलाई अरुका लागि खर्चनुपर्छ भन्नेमा एकमत थिए । आफ्नै परिवार किन नहोस्, उनीहरु नौलो जीवनलाई अरुको खुसीमा अर्पण गर्न चाहन्थे ।
वीर अस्पताल ट्रमा सेन्टरमा खुम्चिएको थियो । पुरानो भवनमा लास थुप्य्राउन मात्र प्रयोग भइरहेको थियो । थुप्रिएका लासहरु व्यवस्थापन चुनौती बन्दै थियो । भूकम्पपछिका केही हप्ता एम्बुलेन्स र शव वाहनका गुरुजीहरुले शुक्रवारको जीवन संवादमा प्राथमिकता पाए । क्षतविक्षत घाइतेहरुलाई अस्पतालसम्म पु¥याउने र मृत्युसँग हारेर दुनियाँ त्यागिसकेका शरीरहरु गाडीमा कोचेर कुदाउनुपर्ने ‘दुखारी’ पेशा गरेर जीवन धानिरहेका यी गुरुजीहरु पनि जीवनका नौला आयामहरु शुक्रवारसँग साट्थे ।
भक्तपुरतिरको दौडधुप पनि सम्झन्छु । २२ घण्टापछि उद्धार भएर अन्तर्राष्ट्रिय चर्चा बटुलेका ५ महिने बालक सोनिस अवाललाई काखी च्यापेँ । सोनिसकी आमा र उनकी दिदीको खुसी मैले थोरै भए पनि महसुस गरेँ । यो दत्तात्रेय टोल नै क्षतविक्षत थियो । छोरालगायत ४ जना आफन्त गुमाएकी संगीता अवाल, दुई छोराछोरी गुमाएकी मिना अवाललगायतको पीडा सहिनसक्नु थियो । घरबाससँगै अन्नपानी गुमाएर बिचल्ली परेका यी परिवारलाई समाचारले मात्र भोक नमेटिने सोचेर थोरै भए पनि राहत जुटाउन लाग्नु कर्तव्य सम्झेँ । फेसबुक स्ट्याटसको सहारामा दाता मिले, गायक हेमन्त शर्मा र बेलायत बस्दै आएकी सुष्मा सुब्बा । ५ परिवारलाई उनीहरुकै मागअनुसार लगभग ३० हजार बराबरको राहत सामान बाँडियो । नयाँ जुनी पाएका ५ महिने बालकलाई शिक्षामा साथ दिने सुष्माजीले वचन दिनुभयो ।
यो हप्ताको काम सकेलगत्तै विनोद दाईसँग काठमाडौँको दक्षिणकाली, युटीकी, छैमले, चाल्नाखेल, बुङमतीतिर चहार्दा धेरै दुःखद दृष्यहरुको सामना गरियो । युटीकीको एउटा दृष्यले मनै खायो । छरपस्ट घर खोतल्दै आमा अन्न बटुल्दै थिइन् । ५ कक्षा पढ्ने बिरामी छोरो किताब खोज्न असिनपसिन थिए । धुलोले झन बिरामी भइन्छ भन्दै आमा छोरोलाई कराइरहेकी थिइन् । रुन्चे स्वरमा छोरा भन्दै थिए, ‘किताव नभेटिए के पढ्ने ?’ उता बुढो बाजे पुरिएको चस्मा खोज्दै थिए । पीडा एउटै तर, पीरलो चाहिँ आआफ्नै । भूकम्प पीडितका बस्ती चहार्दा कैयौँका यस्ता मौलिक पीरलासँग परिचित थिएँ । पातिंगलमा भूकम्पपछि उब्जिएको त्रास बेग्लै थियो । सारा गाउँ भासिएर बागमतीमा झरिरहँदा गन्यमान्य कसैलाई वास्ता थिएन । विजोग गाउँलाई साथ दिन सकिने एउटै साधन थियो, कलम । पठाएको समाचार र फोटो त नागरिकमा छापियो । तर, बस्तीलाई सुरक्षित सार्न कतैबाट प्रभावकारी प्रयास भएको जानकारी आएन ।
दोस्रो हप्ताको काम सकेलगत्तै बिदा लिएर घर सुर्खेत गएँ । दाईहरुको भनाई अनुसार मैले भूकम्पपछिका शारीरिक र मानसिक तनावहरु उतै बिसाएर फर्कनु थियो । दुखिरहेको सारा देश बिर्सेर कसरी सक्थेँ ? गाउँमा खुल्ला दिशामुक्त क्षेत्र घोषणाको कार्यक्रम रहेछ, त्यही मञ्चलाई उपयोग गरेर गाउँले र आफन्तहरुबाट थोरै भए पनि राहत बटुल्न खोजेँ । ‘मेरो मटेला गाउँ पनि दुखिरहेको देशलाई मलम लाउन किन पछि पर्ने ?’ भनिदिएँ । मलाई कसले के बुझे ? वास्ता गरिएन । जुटेको ७ हजार हाराहारी र त्यसमा हजार थपेर कम्तिमा एक जनालाई टहरो हाल्ने टिन किन्न त सकियो । भूकम्पले उठिबास लागेका नुवाकोटका नवराज लामिछाने अपरिचत गाउँको अपरिचत म पात्रबाट पाएको पाता स्वीकार्दै खिस्स मुस्कुराउँदा मन हलुका भयो ।
A view from a Swoyambhu sturp Local people set up a tent and staying in a open ground at Swoyambhu Wednesday, April 29, 2015. Photo : Dinesh Gole/Nagarik/Republica
यता, राजधानी पालमय बनिसकेको थियो । गिद्दे नजर लाउनेहरु नाना बहानामा पालमूनि लुसुक्क घुसिरहेका थिए । तिनै पालमूनि म पनि छिर्न थालेँ, पीडितका सकस बुझ्न । पालहरुले बलात्कार, बेचबिखन, चोरीलगायत गम्भिर घटनाको सामना गर्नुपर्ने अवस्था थियो ।
भूकम्पपछिको चौथो अंक शिक्षामा टार्गेट भयो । विद्यार्थीहरु चिन्तित थिए, ‘अब कहाँ पढ्ने होला ?’ विपत्पछिको अवस्थालाई सामान्यीकरण गर्न र पठनपाठन सुचारु गराउन चौतर्फी आयाम बटुल्ने प्रयास थालियो । सरकारी अधिकारीहरु भन्दै थिए, विद्यार्थीलाई स्कुलसम्म पु¥याउनै मुस्किल छ । शिक्षाविद् केदारभक्त माथेमा, विद्यानाथ कोइराला, तिर्थ खनियाहरु विद्यार्थीलाई त्रासबाट मुक्ति दिने उपाय सिकाउँदै थिए । प्राडा विद्यानाथ कोइराला भन्दै हुनुहुन्थ्यो, ‘जागिरे मानसिकताका मास्टरहरु जति ढिला स्कुल खुल्यो, उति मस्ति हुने सोच्छन् । अवस्थालाई सामान्य बनाउन स्कुलको भूमिका कति हुन्छ ? थाहै छैन । यतिबेला स्कुल खोलेर किताब रटाउन थालिहाल्ने होइन । रमाइलो स्कुल चलाऔँ । त्यही रमाइलोसँग विषयवस्तु जोड्दै जाने हो ।’ अपांगता भएकाहरुको भूकम्प सकस बेग्लै थियो ।
राजधानीको केन्द्र बसन्तपुर क्षेत्रको अवस्था जति भयावह देखिन्थ्यो, त्यो भन्दा पीडादायी थियो, यहाँका बासिन्दाको भोगाई । भत्कने भत्किगए । भत्कन खोजेका तर नभत्केका घरले जीवन त्राहीत्राही थियो । पाल टाँग्ने खाली ठाउँ पाउनै मुस्किल । एउटा पालुमुनि नियालेँ, भाँचिएको हात घाँटीमा झुण्डाएकी एक आँखा मात्रै देख्ने सुकमाया श्रेष्ठलाई छोराले कपडा लगाइदिँदै थिए । सन्तानको यस्तो प्रेम सुकमायालाई जस्तो सबै आमाहरुलाई जीवनको यो उमेरसम्म प्राप्त नहुने यथार्तसँग म परिचित थिएँ ।
भत्केको काण्डमण्डप छेउमा गएर लप्सी, खुर्पा बेच्न थाल्छिन्, सुकमाया । टन्टलापुर घामले टाटिएको मलाई यि आमाले प्रेमसाथ दिएको लप्सी असाध्यै मिठो लाग्यो । ग्राहक नभएको मौका छोपेर उनले भूकम्प सम्झँदै मनको भारी शुक्रवारसामू बिसाइन् । आफ्नो भन्नु त्यही छोरोबाहेक कोही रहेन उनको । ध्वस्त काष्टमण्डपलाई देखाउँदै भन्दै थिइन्, ‘विचरा भगवान त दुःखमा छन् । मान्छेको के कुरा भयो र, बाबु !’
आफ्नै लागि धराप बनेका घर देखाउँदै घरबेटीहरु भन्थे, ‘राजधानीमा घर छ, सडकमा बास छ ।’ लगतै राज्य व्यवस्था समितिको सभाकक्षामा उपत्यकाभरका सांसदहरु विज्ञसँग सल्लाह लिँदै गरेको जानकारी पाएँ । शहरी योजना विद्हरु माधवभक्त माथेमा, सुदर्शन तिवारी, हरिदर्शन श्रेष्ठलगायतले शहरको पुनर्निर्माणबारे जानेको बताए । माथेमाले आफूले सुर्खेत, वीरेन्द्रनगरको योजना बनाएको अनुभव समेत सुनाउँदै शहरको ऐतिहासिक पहिचान जोगिने गरी गर्न सकिने पुनर्निर्माणबारे दिएको लामो अभिव्यक्तिमा मेरो पनि चाख रह्यो ।
Destroyed Dharahara seen after five days of Earthquake at Sundhara in Kathmandu on Wednesday, April 29, 2015. Photo: Dipesh Shrestha/Nagarik/Republica
साउन अन्त्यतिर सम्पादक राजन दाईसँग काभ्रेको पहरी बस्ती गइयो । जहाँ ‘धुर्मुस–सुन्तली नमूना एकिकृत बस्ती’ले अन्तिम रुप पाउँदै थियो । बस्ती टाढैबाट आँखामा परिहाल्थ्यो । सिताराम कट्टेल, कुञ्जना घिमिरेलगायत हास्य कलाकार टिम जुटेर निर्माण यो बस्ती साँच्चै नमुना थियो । हरेक दृष्टिले सुव्यवस्थित यो बस्ती नियाल्दै खाएको सिन्की–भात पनि कति स्वादिलो हो ? विनास पछि नै विकास हुन्छ त्यसै भनेका होइन रहेछन् क्यारे । सदियौँदेखि हेपिँदैचेपिँदै आएका भूमिहिन पहरीहरुलाई भूकम्पले तहसनहस नै पारेको थियो । हास्य कलाकार टिमले यसरी हसाउँदैहसाउँदै बस्ती नै बनाइदेला भन्ने वीरमान, सानु र श्याम पहरीहरुले कहिले सोचे ?
शुक्रवारसँग कलाकार हरिवंश आचार्यले भनेको सम्झन्छु, ‘नेपालीको जातै अचम्मको ।’ अहिले लाग्दैछ, नेपाली जात ज्याद्रै हो । जति संकट पर्दा पनि नआत्तिने । सामना गर्न सक्ने । पूरानै लयमा फर्कन बेर नलाउने । कतिसम्म साहसी भनेनी, ट्याक्सी चालक लिलानाथ भण्डारीको नयाँबसपार्कमा रहेका दुईटा होटेल भूकम्पले माटोमै मिलाइदियो । श्रीमति, छोराछोरी, आफन्तसँगै होटलका ५० औँ जना पाहूना बिते । भूकम्पपछिको दोस्रो हप्ता भेटिएका उनी काम थालिसकेका थिए । ‘रोइकराइ गरेर मात्र नहुने रैछ’ भन्दै उनी अरु पीडितका लागि पनि साहस जुटाउने मेलो बनेका थिए । चार जना आफन्त र घरबास गुमाएका सेनानी उपेन्द्र पुडासैनीजस्ता कैयौँ सिपाहीहरु आफ्ना पीडा बिर्सेर अरुको सेवामा खटेको देख्दा शरीरमा काँडा उम्रन्थ्यो ।
अंगदानको स्टोरी गर्ने बेला मदनकृष्ण श्रेष्ठ भन्दै थिए, ‘जीवनभर अरुका लागि केही गर्न सकिएन भने पनि मरिसकेपछि जल्ने अंगलाई अरुको खुसीका लागि सुम्पिन पाउनु जस्तो महान अवसर कुन हुन सक्छ ?’ ‘म मरेपछि मेरा काम लाग्ने जति अंग सदुपयोग गर्नु’ भनेर विभिन्न अस्पतालहरुलाई इच्छापत्र दिइसकेका कलाकार मदनकृष्ण अंगदान अभियन्ता हुन् । यस्तै कर्मबाट प्रभावित भएर म आफैँ पनि अंगदानका लागि पारिवारिक निर्णय गराउन खोज्दैछु । अरुका लागि पनि बाँच्ने चेष्टा गर्न सिकायो, वर्ष ७२ ले । भूकम्पबाट हल्लिन सुरु गरेको ७२ साल भूकम्प नै सम्झेर सकियो । ७२ को संकटमोचन गर्दै थप उर्जाका साथ जीवनको नौलो मार्गमा कुद्न सकियोस् भन्ने कामना गर्छु । मेरी आमालाई पनि मनैदेखि लागोस्, ‘मृत्युसँग जितेको यो बोनस् जिन्दगी हाँसिखुसी अर्काको लागि समर्पित गर्न सके न जीवन सार्थक बन्ने रहेछ ।’
सभार : नेपाली आउटलुक डट कम