केहीदिन अघि हालको प्रदेश नम्बर ७ का जिल्लाहरुको प्राकृतिक स्रोत साधन तथा जैविक विविधताको अध्ययन अवलोकन गर्ने महत्त्वपूर्ण कार्य सम्पन्न गरियो।करीब दुई हप्ताको भ्रमण निकै अर्थपूर्ण र रोचकपनि भयो।भ्रमण अवधिमा मुख्यतः खप्तड र रामारोषन पुगेर गरिएको स्थलगत अवलोकनले गर्दा मैले त सुदूर क्षेत्रलाई थप नियाल्ने मौका पाएको महसुस गरे।कर्णाली प्रदेशवासी हुनुको नाताले ताल, पाटन, वनस्पति, पशुपंछी र बनजंगल मेरा लागि खासै नौला कुरै थिएनन।यधपी खप्तड र रामारोषढले दिएको नौलो र अति रोमाञ्चक पल स्मरणीय छन।राज्यको नजरबाट धेरै पर रहेका र अपहेलित बनेका खप्तड र रामारोषण साँच्चिकै सुदूर क्षेत्रका जुनकीरी नै रहेछन भन्ने त्यहाँ पुग्दा बुझ्न सकिन्छ। नेपालको राष्ट्रिय गानका रचनाकार व्याकुल माहिला सहित त्यहाँ पुगेका खप्तड काव्ययात्राका सहभागीहरुले खप्तडको साहित्यिक वर्णन समेत गर्लान। म संक्षेपमा खप्तड चित्रसिंह गाउँले र रामारोषणको स्मरण लेख मात्र प्रकाशमा ल्याउन चाहन्छु। मैले सुने सम्म खप्तड पुग्न निकै कठिन छ भन्ने लागेको थियो।म अाफुलाइ नभएपनि अाफुसित रहेको टिम ३५ सय मिटर उचाइमा रहेको खप्तड पुगेर सहज फर्किन सक्छ भन्ने मैले अनुमान गरेको थिइन।तर सोचे भन्दा पृथक रुपमा सफल भयो खप्तड यात्रा। वेद र बाँस निकालाको लठ्ठीको सहारामा हाम्रो टिमका सबै साथिहरु कम्मर कसेर हिडें । खप्तड बझाङ, बाजुरा, डोटी र अछाम ४ जिल्लाको संगम भएतापनि त्यहाँ पुग्न सबैभन्दा सहज हुने बाटो हामी हिडेको बझाङ तमैल हुँदै झिंग्रानादेखिको ट्रेकिङ रुट रहेछ।बझाङमा रहेका हामीसँग परिचित साथिहरुले यात्रालाई सरल र सहज हुन मद्दत गरिदिएका थिए।खप्तड पुग्दा पाटन क्षेत्रमा जाडोले सताउन सक्छ भन्ने सोच भएकोमा त्यहाँ जाडोको अनुभुति हुनै पाएन भने लेकमा गर्मी हुने कुरै भएन। खप्तड त्रिवेणी जसलाई गंगा दसरा पनि भन्दा रहेछन। साँच्चिकै त्रिवेणी क्षेत्र एक पटक र एक क्षणको समयले मनोरञ्जन लिइ नसकिने ठाउँ छ। पाटनको संख्या २२ रहेछ ती मध्य हामीले केही पाटन मात्र घुम्न सक्यौं। सहस्र लिङ्ग रहेको स्थान र लेकदह भएको क्षेत्रमा बनेको टावरडाँडाबाट देखिने दृश्यले त्यो ठाउँ सजिलै छोड्न मन नलाग्ने रहेछ। स्थानीयहरुले झोती भनेका ख्पतड क्षेत्रका अलग अलग झाडी जंगलको संख्या ५२ रहेछ।हामीले केही जंगलभित्र पसेर भ्रमण गर्यौ। २२५ वर्गमीटर क्षेत्रमा फैलिएको खप्तड क्षेत्रको समग्र भ्रमण छोटो समयमा सम्भवको विषय बन्न सकेन। त्यहाँको लेकदह(ताल)पनि रमाइलो रहेछ। खप्तडबाबाको कुटी रहेको क्षेत्र झन रमणीय छ।भैंसी खर्क लाई छुट्टै स्थान व्यवस्था गरिनु ले पाटनको सुन्दरतामा लेदो दलिनै पाएको छैन। वासका लागि स्थानीयहरुका नीजि व्यवस्थापन त थिए नै धर्मशालाले पनि वसाइको सहज व्यवस्थामा टेवा दिएका थिए।खप्तडको हावापानीले शरीरमा रहेका रोगहरुको निदान नै गरेको जस्तै महसुस गरेको थियोे हाम्रो टोलीले।
खप्तड भ्रमणपछि हामी त्यहाँबाट फर्किएर बझाङ सदरमुकाम पुग्यौं। बझाङका डाँडाकाँडा र सेती नदी तथा चैनपुर सदरमुकामको अवलोकन झन अविस्मरणीय बन्यो।जयपृथ्वी वहुमुखी क्याम्पस पुगेर मानवतावादी राजा जयपृथ्वीको शालिकस्थल सँगै तस्वीर लिदा र नजिकै सिंह (विशेषगरी बझाङी) राजाको दरबार हेर्दा साच्चै मानवतावादी बन्न उत्प्रेरित भयौं।बझाङी राजा जयपृथ्वीवहादुर सिंहकै कारण अाज नेपालको शैक्षिक क्षेत्र र लोकतान्त्रिक अान्दोलनले गति लिएको रहेछ भन्ने प्रष्ट बुझ्न पाइयो। त्यहाँदेखि उग्रतारा र शैलेश्वरी र ढकालबाबा को साथै अमरगडी किल्ला घम्न पाइयो।उग्रतारा र शैलृश्वरीको तथा ढकालबाबा प्रसिद्ध स्थान रहेछन नै भन्ने रेडियो पत्रपत्रिका र टेलिभिजनमा सुनिएका कुरा साँच्चै यथार्थ हुन भन्ने देखेपछि थाह भयो। दैवीशक्ति विशेषगरी उग्रतारा र शैलेश्वरीप्रति विश्वस्त भएर त्यहाँ करोडौंका संरचना बनेका छन र व्यवस्थित रुपमा संरक्षित भएको देख्न पाइयो। सुदूर क्षेत्रमा पर्यटक अागमन तथा अाम्दानीको स्रोतले बन्न यस्तै मठमन्दिर पनि महत्त्वपूर्ण माध्यम भएका छन। यसैगरी हामीले अमरगडी किल्लापनि अवलोकन गर्ने क्रममा साँच्चै हिजोको नेपालको इतिहास पढ्दा र त्यो किल्ला देख्दा नेपाली हुनुमा र नेपाल रहनुमा राष्ट्रिय विभुती अमरसिंह थापा जस्ता वीरहरुको योगदान अतुलनीय हो भन्ने पुनः सम्झना भयो। इतिहासको त्यो युद्ध कालखण्डको अमरगडी किल्लाको सुरुङ र फलामे ढोका ऐतिहासिक छन। अमरगडी झनै ऐतिहासिक गडीको रुपमा छ। अमरगडीलाइ संरक्षण मात्र हैन नगरपालिकालाई नै कायापलट गर्न सक्ने जनप्रतिनिधि त्यहाँ छन भन्ने विषय भ्रमणका क्रममा हामीलाई अमरगडीको महत्त्ववारे झल्काउने अमरगडी नगर उपप्रमुख संगीता भण्डारीको प्रस्तुतिले झल्को दिएको थियोे।साँच्चै जनप्रतिनिधिमा हुनुपर्ने व्यवहार र विज्ञेतामा कुनै कमी थिएन त्यहाँको उपमेयरमा।
यसरी सुदूर क्षेत्रको जैविक विविधता तथा प्राकृतिक स्रोत साधनका साथै धार्मिक एवं ऐतिहासिक क्षेत्रको अध्ययन अवलोकनकै सिलसिलामा दिपायल र सिलगडी पुग्दा संघीय संरचना निर्माणको समयमा गरिएको अान्दोलन स्मरण भयो। धन्न ७ वटा प्रदेश नबनेको भए हामीले प्रदेश स्तरीय कामको सिलसिलामा डोटी पुग्दाको स्थिति के हुने रहेछ भन्नेपनि स्मरण भयो।डोटी र दीपायल अब प्रदेश नम्वर ७ कै प्रदेश राजधानी बन्न सक्नेकि नसक्ने भन्ने प्रश्न उब्जिएको छ। त्यहाँदेखि हामी अछाम जिल्लाको प्रसिद्ध पर्यटकीय क्षेत्र रामारोषण पुग्यौं। रामारोषण पुगिरहदा अछामको जनजीवनले नै हामीलाई अानन्द दिइरहेको थियोे। प्रदेश सभाको लागि अछामका सांसद मीना साउद र प्रिय कलाकार भाइ रामवहादुर साउदले हामीलाई अछामवारे पुरै जानकारी दिदै थिए।एकजना भारतीय नागरिकले अछामको अाँपको संवाद अति मिठो मानेर अच्छा अाम भनेको र अच्छा अाम नै अन्ततः जिल्लाको नाम बनेको भन्ने कुरा पछि अाएर साँच्चिकै रहेछ भन्ने हामीले ठान्नुपर्ने भयो।कच्ची गाडी रोडको पहुँच पुगेको महत्त्वपूर्ण पर्यटकीय स्थल रामारोषणको व्याख्या संक्षेपमा सम्भव छैन। ढुंगाना बोट उमारेर वा सानातिना खोल्सालाइ सिमेन्टको लेपन लगाएर तलाउ बनाएर पर्यटकीय स्थलको रुपमा अाफ्नो जिल्ला र क्षेत्रको वर्णन गर्नेहरुका लागि रामारोषणले राम्रो पाठ सिकाउन सक्छ।
रामे र रोषण नाम गरेका दुई भाइको नामसँग जोडिएको रामारोषणको इतिहास र प्राकृतिक महत्त्वको त्यहाँ पुग्नै थाल्दा देखिने घना वनजंगलबाटै बुझ्न सकिन्छ। त्यसरी बुझ्दा रामारोषण जंगलको क्षेत्र मात्रै होकि भन्ने लाग्छ। त्यसपश्चात् रामेको ताल क्षेत्रहरु देखिन्छन् । त्यति उचाइमा रहेको जंगलभित्र तालनै ताल देखिन थालेपछि रामारोषणमा तालमात्र पो छनकी भन्ने पनि लाग्छ। यसैगरी पाटन क्षेत्र रहेको रोषणेको पाटन तर्फ प्रवेश गर्दा पाटनको व्याख्यापनि गरि नसक्नुछ।विमानस्थल निर्माण नै नगरी सहजै एकै पटक दर्जनौ विमान अवतरण हुन सक्लान भन्ने देखिन्छ त्यहाँको मिलेको पाटन देख्दा। एक्लै गएर भ्रमण गर्न भने वन्यजन्तु का साथै भुतप्रेतको संका मान्ने मान्छेलाई कठिननै छ त्यहाँको वातावरण। सामुहिक भ्रमणका लागि भने मान्छेका मनहरु थाम्न कठिन हुने स्थिति छ त्यहाँ। रामारोषन क्षेत्रमा गएको मान्छे थप एकदिन त्योपनि कठिन संघर्ष पश्चात् मात्र पुग्न सकिने रामारोषण क्षेत्रभित्रकै चाकेडाँडा भन्ने अर्को पर्यटकीय तथा धार्मिक स्थल छ।सिंगै पहाडको बाहिरी स्वरुप महिलाहरुको शारीरिक अंग योनीसँग जस्ताको तस्तै मेलखाने भएकालेे त्यो ठाउँको नामनै चाकडाँडा राखेको र नाम गर्न र देखाउन स्थानीयहरु कुनै असहज नमान्दा रहेछन। त्यहाँ जान पहाडमा बाटोपनि बनाइएको रहेछ। रामारोषन अछामभित्रै पर्ने भएपनि कालिकोट नरहरिनाथ गाउँपालिका बाट अत्यन्तै नजिक रहेछ। रामारोषन क्षेत्र पुग्दा पर्यटकहरु स्थानीयले त्यहीँ उतपर्यट गरेको लोकल रातो चावलको भात र वनको अल्लो एवं निकालडुसा तथा लेकको दहीको स्वादमा भोजनमा रमाउन पाउने रहेछन भनेर भनी राख्नै परेन।
रामारोषण र खप्तडवारे खुशीको विषय भनेको अब स्थानीयहरु अाफ्नो ठाउँमा रहेका पर्यटकीय स्थलको संरक्षणमा जुटेको र धेरैजसोमा पर्यटकमैत्री व्यवहार देख्न पाइयो। गर्मी याम भएका कारणपनि पहाडी भेकमा रहेका पर्यटकीय स्थल तथा अन्य वजार क्षेत्रमा मान्छेको घुँइचो बढेको हुन सक्छ।यधपी होटल तथा कटेजको संख्या अपुग भएपनि विस्तारै बढ्ने अजुमान लगाउन सकिने देख्न पाइन्थ्यो। नजिकैको तिर्थ हेला भन्ने नेपाली उखान खप्तड र रामारोषनका सन्दर्भमा लागू हुने स्थिति अवश्यपनि थिएन। राज्यले भने रामारोषण र खप्तडवारे भयङकर लापरवाही गरेको संवत् देख्न पाइन्थ्यो। रामारोषनको लागि राज्यले एउटा सामान्य गेट बनाएको रहेछ। तालहरु कति सुन्दर छन तर संरक्षणमा ध्यान गएको देख्न पाइएन। वस्नको लागि दुईवटा साधारण प्रकृतिका गेष्टहाउसले सुविधा सम्भव हुने विषयनै छैन। राम्रो सडक त हैन सडक नियमित र भरपर्दो होस र रामारोषणवारे व्यापक प्रचार गरेर पर्यटकहरु त्यहाँ सम्म पुगेर एकपटक अवलोकन गरेर मात्र फर्के भने रामारोषण विर्सन सक्दैनन भन्ने अछामवासीको सोच छ। अछाममा साँफेवगर, मंगलसैन र कमलवजार जस्ता वजार मंगलसैनमा रहेको दरवार र दैलेख क्षेत्र तर्फ कर्णाली नदी एवं मानव सभ्यता अविस्मरणीय छन।
खप्तड क्षेत्रमा पुग्नपनि चारै जिल्लाबाट घोडादेखि सवारको व्यवस्था, निर्माण हुन थालेको सेती नदीको पक्की पुलको सिघ्र निर्माण र सडकको पँहुच विस्तार अत्यन्तै अावश्यक छन। स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार मिलेर खप्तड क्षेत्र विकासमा विशेष योजना बनाउन जरुरी छ। खप्तडका सन्दर्भमा राष्ट्रिय निकुञ्ज मात्र भएर त्यहाँको विकास हुन सक्दैन। प्रदेश नम्बर ७ ले खप्तड, रामारोषण क्षेत्र, कर्णाली चिसापानी र घोडाघोडी लगाएतका पर्यटकीय स्थलको विकासका लागि विशेष वोर्ड गठन गरि अघि बढ्न पर्दछ। साथै प्रदेश सरकारले पर्यटकीय क्षेत्रको विकासका लागि बजेटमा प्राथमिकता दिनपनि सक्न पर्छ। स्थानीय तहहरुपनि अाफ्नो क्षेत्रभित्र रहेका पर्यटकीय स्थलहरुको संरक्षणमा आफैपनि तदारुक हुन जरुरी छ। करोडौं बजेट व्यवस्था गरेर भएपनि रामारोषणका ताल संरक्षण र त्यहाँ पुग्ने स्तरीय बाटो अनि खप्तड क्षेत्रका लागि प्रचारप्रसार र स्तरीय बाटोको पँहुच र खानपान तथा वासको व्यवस्थामा कमि नहुनु सुदूर क्षेत्र समृद्धिका अाधार बन्ने मैले देखेको छु।अहिले सम्म खप्तड र रामारोषणलाइ सिरानमा राखेर अान्तरीक तथा बाहिय पर्यटकका लागि भरिया बन्ने गरेका त्यहाँका स्थानीयहरुको जीवन स्तर परिवर्तनका माध्यमपनि खप्तड र रामारोनण नै बनाइन सक्नु पर्छ।अति धेरै प्रतिभा भएरपनि लुकेछिपेका मध्य र सुदूर क्षेत्रका श्रष्टा र सुन्दरीझैं खप्तड र रामारोषनका पनि लुकेर बस्ने दिन अब धेरै समय सम्म रहन दिनु हुँदैन। यसरी यी सुन्दर र पवित्र भूमिले अवसर पाएभने मात्र सुदूरवासी र यहाँका अन्य पर्यटकीय क्षेत्रले पनि काँचुली फेर्न पाउने छन।



Milan Shrestha । २३ जेष्ठ २०७५, बुधबार ०२:५५ बजे