फुटपाथमा काफल फालिएको घटनापछि वीरेन्द्रनगर नगरपालिकाको क्षमायाचना, पीडित महिलालाई क्षतिपूर्ति


सुर्खेत, जेठ ७ । वीरेन्द्रनगर नगरपालिकाले सिटी बसपार्क क्षेत्र नजिकै फुटपाथ खाली गराउने क्रममा एक महिलाले बिक्रीका लागि राखेको काफल फालिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मंगलबार नगर प्रहरीले फुटपाथ व्यवस्थापनका क्रममा काफल बिक्री गरिरहेकी महिलाको सामान फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाको व्यापक आलोचना भएको थियो । उक्त घटनापछि नगरपालिकाले बुधबार विज्ञप्ति जारी गर्दै घटनामा संलग्न नगर प्रहरीमाथि विभागीय कारवाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।

नगरपालिकाले घटनाबाट पीडित बनेकी महिलाप्रति दुःख व्यक्त गर्दै मानवीय संवेदनशीलतालाई उच्च प्राथमिकता दिने प्रतिबद्धता पनि जनाएको छ । यसैक्रममा नगर प्रमुख मोहनमाया ढकालले पीडित महिलालाई भेटेर क्षतिपूर्ति रकम प्रदान गर्नुभएको छ ।

घटनापछि सामाजिक सञ्जालमा धेरैले नगरपालिकाको कदमको आलोचना गर्दै गरिब तथा श्रमजीवी वर्गमाथि अमानवीय व्यवहार भएको टिप्पणी गरेका थिए । स्थानीय नागरिक तथा अधिकारकर्मीहरूले सार्वजनिक स्थान व्यवस्थापनका क्रममा बल प्रयोग वा अपमानजनक व्यवहारभन्दा संवाद, वैकल्पिक व्यवस्थापन र मानवीय व्यवहारलाई प्राथमिकता दिनुपर्ने धारणा सामाजिक सञ्जालमा राखेका छन् । भने केहीले नगरप्रहरीलाई कारवाही भएको हेर्न पाइयोस् भन्ने कमेण्ट गरेका छन् ।