मुग्लानीको देश प्रेम (कविता)


            पहल असीम
सम्भावनाका दिवालहरु भत्किदै गएपछि
विश्वासको चौघेरा नाघेर आत्मनिर्भर समय
च्यातिएको झोलामा एक जोर मैला लुगा बोकेर
फेरि पनि मलायाको लाहुरे बन्न हिँडेको हो ।
भुगोलको सिमाले दिएको देशको नाम
र देशको नामले दिएको नागरिकताको खोस्टोले
नभरिदोरहेछ छालाको चोयाले बनेको भकारी
खुइलिदै गएको बाको पैतलाको इन्द्रेणी
निभ्दै गएको आमाको आखाँको घाम
च्यातिदै गएको बहिनीको बैँशको फरिया
सियोले टाल्दै कैयौँ हिउँद काटेको छोरोको भोटो
हरेक तिजमा नयाँ सारी लगाएर स्वास्नीको माइत जाने सपना
जिवनको गोरेटेमा अभावका बिम्ब बनेर अड्किएपछि
परिवारले बनाएको मायाको छानो छोडेर
अभावको घाँटी सेर्नका लागी
तयार भएको हो विवश मुग्लानी बन्न ।
थाहा छ अरब पुगेको भोलीपल्टदेखि
यादहरुको साइरनले रातभर निदाउन दिने छैनन्
आँशुको मुहानलाई पसिनाको सागरमा मिसाएर
दिनभर कक्टेल पौडी खेलिरहनु पर्नेछ
बालुवामाथीको साठी डिग्री सेन्टिग्रेट तापक्रम
हिउँदको हुम्लाको हिउँझै लाग्नेछ
रातभर सुम्सुम्याइरहने उडुसहरु
भरखर घरमा छोडेर आएकी श्रीमतीझैँ लाग्नेछन्
मालिकको दासत्वलाई आमाको मिठो आशीर्वाद झैँ सुन्नुपर्नेछ ।
अहिले त्रीभुवन अन्तराष्ट्रिय विमास्थलमा
उल्लेखित कविताको पात्र बनेर म स्वयम् उभिएको छु
अहिले मलाई जिवनमा कहिले नअचटेको
स्वाभीमान् र राष्ट्रियताले अँचेटिरहेछ
झोलाको एउटा कुनामा राष्ट्रिय झण्डा
र अर्को कुनामा अलिकति देशको माटो राखेको छु ।
मेरो हातमा अढाई बर्ष समय सिमा भएको
अरबको जहर उत्पादित कम्पनिमा काम गर्नुपर्ने
हरियो राहदानी र अनुमति पत्र छ ।
थाहा छैन अढाई बर्ष भित्र
मेरो सपनाको सारङ्गी रेटेर
केही खुसी बोकेर घर फर्किन्छु कि
या त रातो काठको बाकसमा
श्रीमतीलाई रैया उपहार ल्याएर !!!
जय स्वाभिमान् ! जय राष्ट्रियता !!