बलिराजाको विरासत


                                         प्रेम कैदी 

मेरो बाल्यकाल बितेको जुम्लाको सानोगाउँमा आज पनि ‘सन्तारी’ र ‘मानमी’ शब्द प्रिय रूपमा प्रचलित छन्। यहाँ मान्म भन्ने गाउँ पनि छ। त्यो सानो गाउँसँग मानमी अर्थात् सम्पूर्ण पृथ्वीको कसरी सम्बन्ध रह्यो होला र सन्तारी शब्दको अर्थ संसार वा विश्व नै भयो होला? प्रत्येक शब्द ब्रह्म हो भनेजस्तै यी दुई शब्दको चिरफार गर्दा यिनीहरूको अथाह अर्थ लाग्छ।
केही वर्षअघि राजस्थानको जयपुर विश्वविद्यालयमा मैले राष्ट्रकी कुलदेवी तारामाथि बोलेको थिएँ। खासगरी डोल्पाकी त्रिपुरासुन्दरी नै काँचीकामाकुटीका शंकराचार्यकी कुलदेवी तारा हुन् र तिनलाई जापानीले आमातेरासु (माता तारा) भनी आफ्नो कुलदेवीको रूपमा मानिरहेको मेरो तर्क रह्यो।
त्यसबीच एक फ्रेन्च युवतीले उनले आयरल्यान्डको एउटा टापुकै नाम तारा भएको बताएर कैलाश पर्वतसमेत रहेको फोटो देखाइन्।
उनी फ्रान्सको पश्चिमउत्तरको वृतानीको बासिन्दा भएको र त्यहाँ जम्मै सूर्यवंशी माताताराको उपासक भएको बताइन्। यसरी आयरल्यान्डदेखि जापानसम्म माता तारा नै कुलदेवीका रूपमा उपासना भएकोले संसारलाई सन्तार वा सन्तारी भनिएको हो।
मान्म शब्द पहिलो मनुवा अनि जेठा महाराज मनुकै राजधानीको रूपमा रहेको योगी नरहरिनाथसहितका विद्वानले लेखिसकेका छन्। मनुस्मृति जस्तो प्रथम संविधानका निर्माता मनु पृथ्वीका राजा भएकोले पृथ्वीलाई मानमी मानिएको हो। यो त मानव सृष्टिपछिको व्याख्या भयो। त्यसअघि पनि ब्रह्माण्डमा जीवन थियो।
हिमवत्खण्ड भन्ने पुराणले जलमा भगवान् विष्णु सुतेका, उनकै नाइटोबाट एक कमल फुलेको र त्यसैमा सृष्टिकर्ता ब्रह्माजीको जन्म भएको कथा छ।
त्यसैगरी भगवान् विष्णुकै कानेगुजीबाट मधु र कैटभ नामका राक्षस जन्मेको र भगवान्ले तिनलाई मारेपछि जलमाथि पृथ्वी बनेको उल्लेख छ। यी सबै तत्त्वका पछाडि रहेकी प्रकृति अर्थात् शक्तिमाताले आफूलाई एक पुरुष निर्माण गरिन्, जो देवादिदेव महादेव कहलाए।
यिनै महादेवले जुम्लाको रास्कोटस्थित सिउना गाविसमा अद्यपि अवशेष रहेको मौलाकोट दरबारबाट स्वर्ग, मत्र्य र पातालमाथि हजारौं वर्ष राज गरे। कालान्तरमा खसबहादुर भन्ने मान्छेले घोर तपस्या गरेर देवादिदेवलाई खुसी पारेपछि उनले खसबहादुरलाई आजबाट देवराज इन्द्र भयौ र मेरो राज्य पनि तिमीलाई भयो भनी वरदान दिएर आफू ताराचुकको वन भएको हाल शिवनाथको थान भएको उत्तरको डाँडातिर लागे।
हिमवत्खण्डले महादेवपछि देवेन्द्र र विश्वब्रह्माण्डमा राज गर्ने देवता हुन् भन्ने व्याख्या प्रस्तुत गरेको र मानव उत्पत्तिपछि मनुले राज गरेको उल्लेख गरेको छ। जुम्लाको रास्कोटमा १२ कोट छन्।
यहाँ देवता र राक्षस दुवै राज गरेको पाइन्छ। प्रल्हादका बाबु हिरण्यकशिपुले ब्रह्माण्ड हाँकेको घमण्डले भगवान्को अपमान गरेपछि नरसिंह अवतार लिएर उसको अन्त्य गरेको कथा पाइन्छ।
आयरल्यान्डदेखि जापानसम्मका प्रारम्भिक इतिहासकाल हेर्दा त्यसले पनि हाम्रा शास्त्रहरूलाई भरिलो आधार प्रदान गरेको मान्नुपर्छ। प्राचीन स्याङसुङ सभ्यताले जन्माएको बोन्पोका जे जति ग्रन्थ छन्, ती हेर्दा त्यस धर्मको मण्डलाका प्रमुख नेपालकै शाहीराज भनिने राजाहरूका राजा ग्याल्बो पेहार मानिएका छन्।
भोटमा सामेको गुम्बा बनाउन पेहारको शक्तिले मात्र सम्भव भएको उल्लेख छ। त्यहाँका अनेक ग्रन्थमा शाहीराजलाई कसैले स्वयं ब्रह्माजी, कसैले इन्द्र र कसैकसैले तीनमुख भएका दत्तात्रय भनेका छन्।
अविवाहित मोती मल्लका भाञ्जा बलिराज गद्दीमा बसेपछि ल्हासाका सन्ततिबाट ठकुरीहरूले आफ्नो राज्य फिर्ता पाएको देखिन्छ। मावलीको राज्यमा नबसेर बलिराजले जुम्लाको तातोपानी पारि स्वर्णराममा दरबार बनाए।
बलिराजका सन्तति महाराज सुदर्शन शाहीले आफ्नो राजधानी स्वर्णग्रामबाट जुम्ला छिनासिममा सारेपछि दत्तात्रयका पादुका साथ चन्दनाथको मन्दिर बनाए। दत्तात्रय नै शाहीराज, बलिराज भएर जन्मेको सन्देश मिल्छ।
भोटमा बोन्पोमात्र होइन बौद्ध धर्मका ङिङमापा, ग्यालुक्पा आदि समुदायका मण्डलामा राजाका राजा महाराज ग्याल्बो पेहारलाई पूजा चढाउँछु भनी उपासना गर्नुपर्छ।
यस्तै आधा युरोप र चौथाइ अमेरिकामा फैलिएको अटोमन राज्य निलेर हिन्दुस्तान, चीन, जापान आदि पूरै एसिया लुट्ने तयारी समरकन्दमा चलेपछि जताततै आतंक फैलियो तर बलिराज शाहीले विश्वविजेता मानिएको रक्तपिपासु तैमुरलङलाई ठेगान लगाउन चीन, मंगोलिया, जापानलगायतका एसियाका देशको यात्राबाट लगभग सात मन सुन संकलन गरी फर्केर मानसरोवरमा खाँडो पखाले।
हिमालयभरि भैलो र देउसी खेल्न सबै जनसमुदायलाई लगाए अनि युद्धको तयारीमा जुम्लाको दानसाँघु भन्ने ठाउँमा योद्धाका परिवार तथा आमप्रजालाई जमिन र सम्पत्ति बाँडे। समग्र हिमालय जाग्यो।
हाल पाकिस्तानमा पर्ने महाराज उत्तिमराज शाहीको राज्यमात्र नलुटी मोहम्मद तुग्लग (?) भन्ने आक्रमणकारीसँग उनी झुक्न चाहेनन् र राजासहित दुई लाख हिन्दुहरू लड्दालड्दै सहिद भए।
उत्तिमराजले यो शहादतपूर्व आफ्नो एक विश्वासी सेनापतिका साथ गर्भवती रानी गौरीदेवीलाई जेठा छोरा अभयराजका साथ सिञ्जा पठाए। काराकोरमको डरलाग्दो हिमाल पार गरेर महारानी गौरीदेवीले कैलाश दर्शन गरेपछि माइती सिञ्जालाई सुरक्षित नमानी रारादहको उत्तर मुगु कर्णालीको भिरालो पाखोमा रहेको एउटा गोप्य ठाउँमा लुकेर बसिन्। त्यहीँ उनले कान्छो छोरो बलिराजलाई जन्म दिइन्। कल्याल बलिराजको जन्म भएपछि त्यो गाउँ अहिले कालैका नामले विख्यात छ।
अभयराज र बलिराजलाई हुर्काएर ठीक समयमा सिञ्जा दरबारमा खबर गर्ने बेला सिञ्जापति महाराज मोती मल्ल बझाङको बादेपिपलमा मारिएपछि सिञ्जाको राज्य भान्जा अभयराजको जिम्मा आयो तर उनले बाज मारेर बस्ने भनी पन्छिएकोले कान्छा बलिराजले सिञ्जाको गद्दी पाए।
अविवाहित मोती मल्लका भाञ्जा बलिराज गद्दीमा बसेपछि ल्हासाका सन्ततिबाट ठकुरीहरूले आफ्नो राज्य फिर्ता पाएको देखिन्छ।
मावलीको राज्यमा नबसेर बलिराजले जुम्लाको तातोपानी पारि स्वर्णराममा दरबार बनाए। बलिराजले तैमुरलङ जस्तो खुँखार शत्रुसँग पहिले आफू नलडेर आफ्नो छोरा युवराज वत्सराजलाई पठाए।
उनले सन् १४०५ मा विश्वविजेता तैमुरलङलाई हरिद्वारबाट देहरादुन जानेबाटोको मोहनदर्रामा भुजेलीले गिँडे। कसैले उनले हरिद्वारमा नै तैमुरलाई मारे भनी पनि लेखेका छन्।
राणा दरबारका मुन्सीहरूलाई अंग्रेज इतिहासकारहरूले सिकाएर कर्णालीको कीतिलाई खण्डित पार्न कसैले बाइसेचौबिसे भनी हियाउने त कसैले भुरेटाकुरे भन्ने घृणित शब्द प्रयोग गर्न पनि चुनेका छैनन्।
तर जुम्लाका अन्तिम महाराज शोभान शाही युद्ध हार्दै ल्हासा गएपछि चीनले उनको अनुरोधमा एक लाख सेना काठमाडौंको जितपुरसम्म पठाएको इतिहास छ। चीनकी राजकुमारी वेन चाङका वंशज महाराज लाङधर्माका पनातिहरूको राज्य हो सिञ्जा।
तिनका भाञ्जाखलक बलिराजका सन्तानलाई चीन दरबारले आफ्नो आत्मामा राखेको पाइन्छ र आज पनि हाम्रो भाञ्जाको राज्य भनि चिनियाँहरूले नेपाललाई माया गर्ने गरेको कुरा अमेरिकी पत्रकार एड्गर स्नोले पनि आफ्ना पुस्तकमा वर्णन गरेका छन्।
वत्सराजहरूको इतिहास यदि मुसलमान वृत्तान्तकारले लेखेका ग्रन्थ मलफुजात-इ-तिमुरी र जफरनामाका लेखकले संकलन नगरेको भए कसैलाई थाहै हुने थिएन।
भारतीय इतिहासकार हौडीवालाको अनुवादलाई इलियट अनि डोनेलको सम्पादनमा यसलाई उल्लेख गरिएको कुरा उत्तराखण्डका शिवप्रसाद डब्राल चारणले अगाडि ल्याए।
यसलाई नेपाली इतिहासकारले अझै मौना तसाधेको बेला आफ्नो विख्यात पुस्तक ‘खस जातिको इतिहास’ (पाना ५२९) मा भाषाशास्त्री बालकृष्ण पोखरेलले उल्लेख गरेर विश्व इतिहासलाई ठूलो गुन लगाएका छन्।
नेपालबाट विश्वमाथि शासन गर्ने धेरै राजाहरू छन्। तर आधुनिक इतिहासमा बलिराजका सुपुत्र युवराज वत्सराज शाहीमात्र सप्रमाण देखिन्छन्। वत्सराजकै विजयले बलिराज शाही संसारका पाँच द्वीपका अधिपति (सुजरेन) कहलिएका छन्।
जुम्ला गोर्खामा अधीनस्थ भएपछि वि.स. १८४६ बाट गोर्खाली नरेशहरू पनि विश्वका अधिपति श्री ५ महाराजाधिराज भनिएका हुन्। राष्ट्रलाई विश्वकै मालिक बनाउने बत्सराजजस्ता धेरै महानायकहरूको इतिहासबारे यहाँ कोही बोल्दैनन्।
नेपालमा नयाँ संविधान बनाउने प्रक्रिया अन्तिम चरणमा छ। खासगरी नेपाल सुगौली सन्धिपछि औपनिवेशिक लुटको सिकार पारिएको छ। नेपालका राजाले सुगौली सन्धिमा हस्ताक्षर गर्न नमानेपछि अंग्रेजले उनीहरूलाई तत्काल खोपाको देवता बनाएर राखेका थिए।
छिमेकी हिन्दुस्तान र पाकिस्तानलगायत विश्वका दुई सय ६० देश आधुनिककालमा पनि संयुक्त अधिराज्यको अधीनमा थिए। यिनीहरूको सुजरेन अथवा अधिपति बेलायती महारानी थिइन्।
त्यसैले कमनवेल्थ देशहरू सबैको झन्डा युनियन ज्याकभन्दा तल हुन्छ जबकि नेपालको झन्डा युनियन ज्याक सरह नै रहने गर्थ्‍यो। संसारको पहिलो आधुनिक गणतन्त्र बेलायत बने पनि आफ्नो देशको अन्तर्राष्ट्रिय अधिपत्य खत्तम हुने देखेर तुरुन्तै राजतन्त्र पुनस्र्थापना गरे।
जनतालाई कार्यकारी अधिकार दिएको बेलायतमा अहिले पनि सुजरेन बनेर आफ्नो गरिमा कायम राखेको छ। तर नेपालमा महादेव, इन्द्र, मनुका साथै विश्वविजेता बलिराजहरूले कायम गरेको सुजरेन्टी अहिले खत्तम पार्ने चलखेल भइरहेको छ।
नक्सामा जति सानो भए पनि नेपालको अन्तर्राष्ट्रिय हैसियत धेरै ठूलो मानिएको थियो। तर अब संविधान बनाउने नाममा त्यसलाई ध्वंस पार्न खोजिँदैछ। यसरी राष्ट्रको अन्तर्राष्ट्रिय सुजरेन्टी कायम गरिएको मौलिक स्वरूपलाई वर्तमान राजनीतिक नेतृत्त्व र केही दलहरूले खण्डित गर्ने कोसिसमा छन्। यसलाई देशभक्त, स्वाधीनताप्रेमी नेपालीले कसरी सहन सक्लान्?
विश्व राजनीतिमा यदि राष्ट्रले प्राप्त गरेको अधीनता, सम्प्रभुता र सार्वभौम स्वाधीनताको सवाल औचित्यहीन भएर कुनै राज्यविहीन व्यवस्था आयो भने बाहेक त्यसअघि नेपालमा राजतन्त्रलाई कुनै हालतमा हटाउन मिल्दैन भन्ने सिद्धान्त बेलायत, नेदरल्यान्ड्सलगायतका विश्वव्यापी आधिपत्य भएका राष्ट्रहरूले सावित गरेका छन्।
विश्वभरका हिन्दु र सूर्यपूजक सबैले नेपाललाई जुन हैसियत प्रदान गरेका छन् त्यसका लागि नेपाल धर्मसापेक्ष हिन्दुराष्ट्र हुनैपर्छ र नेपालको राजगद्दीमा सूर्यवंशी हिन्दु राजा बसेकै हुनुपर्ने देखिन्छ।