तिन गजल


                       राम अविरल बिष्ट

कहिले गरिब होला कहिले धनि होला
मान्छे न हो जीन्दगीमा जे पनि होला

सोच फेरि एकपटक गहिरो सँग सोच
के देश भन्दा सुन्दर त्यो चाँदनी होला

त्यो बगर फाँटमा परिणत हुनु अगाडी
कस्ले पो सोचेको थियो र उब्जनी होला

लजाउँदै आयौ तिमी गुलाफ दियौ गयौ
अनि एक छिन त सोचि रहे सपनि होला

बाटो काट्यौँ, बाटोले आँगन काट्यो
अनि देश काट्ने औँलाले रिबन काट्यो

लाग्छ बुहारीको चलखेल शुरु भयो
छोराले पहिलो पटक बचन काट्यो

खै कस्तो आन्दोलनको तयारी हुँदैछ
अभ्यास हो भन्दै उसले गर्दन काट्यो

जवानी सरकार सरकार भन्दै काट्नेछ
माटो खाएर भरखर बचपन काट्यो

बिर्सन्छु म आफ्नै हुलिया बिर्सन्छु
तिमीलाई देखे पछि दुनिया बिर्सन्छु

सहर पुगे पछि, सानी बहिनीले भनि
दाई बिस्तारै अब यो फरिया बिर्सन्छु

तिमीलाई गजलमा कोर्न थालेपछि
रदिफ बिर्सन्छु, काफिया बिर्सन्छु

साहुले बाको तमशुक देखाउदै भन्यो
म कहि आफ्नो रुपिया बिर्सन्छु

मेरो एउटा आदत धोकेबाज छ प्रिया
बोतल पाए पछि चिया बिर्सन्छु