कविता
मोतीराज बम
गुराँस फुल्यो होला
काफल पाक्यो होला
दालचीनीका हरिया पातहरु हल्लाउँदै
न्याउली बास्यो होला
खरी र खर्सुको टुप्पामा बसेर
गाउदै होला कोइली
हाम्रो पुर्बस्मृतिको गीत
नवयौवनाको मन्द मुस्कान्झै
फक्र्यो होला चुत्रो र गुइहेलो
हो म आउदैछु सुनथराली
तिमी नरोइ बस्नु ।
कुनै समय
रगतै रगत फुलेको तिम्रो आगन
हेर्दा कति सिरिङ्ग हुन्थ्यो आङ
लास पन्छाएर बाँस खोज्न हिड्दा
कति थर्थर हुन्थ्यो मुटु
अग्ला डाडाहरुमा बज्ने बासुरिको धून
बस्तिहरुको बीचमा बज्ने सनाई
कति कर्कस र अप्रिय लाग्थे
तर तिमिले बोकेको भारी बिसाउने
अझै भेटिएको छैन रे बिसौनी
भन्छन् फेरि पनि
फणा उठाउदैछन रे सर्पहरु
जगर फुलाउदैछन रे कालिनागहरु
डुक्रदैछन रे साडेहरु
हो म
अलिकति आगो लिएर आउदैछु
अलिकति बारुद लिएर आउदैछु
जे पनि हुनसक्छ क्रान्ति यात्रामा
अलिकति पिताम्बर लिएर आउदैछु
हो म आउदैछु सुनथराली
तिमी न डराइ बस्नु ।
कवि नेपाली लेखक संघका केन्द्रिय उपाध्यक्ष हुन् ।



Milan Shrestha । ११ फाल्गुन २०७४, शुक्रबार ०४:०७ बजे